Comments Add Comment

सुदूरपश्चिमको कृषि मन्त्रालयले ४० बिघामा धान खेती गर्ने

१५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भाडामा लिएको ४० बिघा जग्गामा धान रोप्न शुरु गरेको छ । राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा कञ्चनपुरको पुनर्वास नगरपालिका–५ आइबीआरडीमा वर्षौंदेखि बाँझो रहेको जग्गा भाडामा लिएर मन्त्रालयले धान रोपाइँ गरेको हो ।

मन्त्रालय मातहतको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले राष्ट्रिय आवास कम्पनीसँग गत मंसिरमा ७४ बिघा जग्गा भाडामा लिएको थियो । जसमध्ये ४० बिघामा रोपाइँ गर्ने प्रदेश सरकारको तयारी छ ।

कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख टीकाराम थापाले भाडामा लिएको जग्गामध्ये १४ बिघामा धान रोपिसकेको जानकारी दिए । ‘वर्षौंदेखि बाँझो रहेको जग्गाको उपभोग गरेर कृषि अनुसन्धान, प्रसार र शिक्षा अध्ययन केन्द्रका रुपमा विकास गर्ने सरकारको उद्देश्य छ,’ प्रमुख थापाले अनलाइनखबरसँग भने ।

यहाँ उत्पादन हुने धानलाई बीउका रुपमा बिक्री गर्ने योजना प्रदेश सरकारले बनाएको छ । केन्द्रले प्रतिबिघा मासिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी जग्गा लिजमा लिएको हो ।

७४ बिघा घाडामा लिए पनि अतिक्रमणका कारण सबै जग्गा प्राप्त नभएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले जनाएको छ । भाडामा लिएको जग्गामध्ये यसअघि ६ बिघामा गहुँ र ५ बिघामा घाँस खेती गरिएको थियो ।

कृषि मन्त्रीले भनिन् बीउमा आत्मनिर्भर हुन्छौं

मंगलबार परेको १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा पुनर्वास पुगेर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले लिजमा लिइएको जग्गामा धान रोपेकी छन् । उनले अब सुदूरपश्चिम प्रदेशलाई धानको बीउमा आत्मनिर्भर बनाउने उद्देश्यसहित सरकारले उक्त कार्यको थालनी गरेको उद्घोष गरेकी छन् ।

‘किसानहरुलाई कृषि उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यले आज हामीले बाँझो अवस्थामा छाडिएको जग्गा भाँडामा लिएर धान रोपेका छौं,’ मन्त्री चौधरीले भनिन्, ‘बाँझो जमिनको सदुपयोग गर्ने मात्र नभएर हाम्रो प्रदेशलाई धानको बीउमा आत्मनिर्भर बनाउँदै चामलको आयात प्रतिस्थापन गर्ने नीति अन्तर्गत पनि यो कामको थालनी गरेका छौं ।’

उनले अहिले भारत लगायतका मुलुकबाट वर्षेनी ठूलो परिमाणमा चामलको आयात गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै त्यसलाई रोक्न सुदूरपश्चिमबाट अन्य प्रदेशमा निर्यात गर्ने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

रोपाइँ महोत्सवको कार्यक्रममा सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापा, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, कृषि राज्यमन्त्री मानबहादुर सुनार, प्रदेशसभा सदस्य तारा लामा तामाङ, कुन्ती जोशीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment