Comments Add Comment

इटलीविरुद्ध चोट बोकेरै खेलेका थिए केभिन डे ब्रुएना

१९ असार, काठमाडौं । गोल्डेन जेनेरेसनको रुपमा रहेको बेल्जियम फेरि एक पटक ठूलो प्रतियोगिताबाट बाहिरियो । इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रुएना, थिबाउ कोर्तवाजस्ता स्टार खेलाडी रहेको विश्व नम्बर एक टोली बेल्जियम युरोकप २०२० को क्वार्टरफाइनलबाट अघि बढ्न सकेन ।

शुक्रबार राति भएको खेलमा बेल्जियमलाई २-१ ले पराजित गर्दै इटलीले सेमिफाइनलमा स्थान पक्का गर्‍यो । इटली विरुद्धको खेलअघि बेल्जियमका दुई मुख्य खेलाडी कप्तान एडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएना खेल्ने वा नखेल्ने अन्योल थियो । किनकी अन्तिम १६ मा पोर्चुगलविरुद्धको खेलमा दुवै खेलाडी घाइते भएका थिए ।

तर क्वार्टरफाइनलजस्तो महत्वपूर्ण खेल रहेकाले बेल्जियमले केभिन डे ब्रुएनालाई पहिलो रोजाईमै खेलायो । विपक्षीलाई प्रभाव पार्न पनि पूर्ण फिट नहुँदा ब्रुएनाले खेले । डे ब्रुएनाले पूरा समय मैदानमा बिताए । हाजार्डको ठाउँमा युवा फरवार्ड जेरेमी डोकुले खेलेका थिए ।

इटलीसंगको हारमा पूरा समय खेलेपनि डे ब्रुएना पूर्ण फिट थिएनन् । उनले खेलपछि आफू लिगामेन्ट च्यातिएकै अवस्थामा खेलेको खुलाएका छन् । ब्रुएनालाई अहिले एकातर्फ हारको पीडा छ भने अर्कोतर्फ चोटको पीडा छ ।

‘मेरो लागि व्यक्तिगत रुपमा यो ४-५ साता अनौठो रह्यो । तर म मेडिकल टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । डे ब्रुएनाले’ युइएफए डटकमसंग भनेका छन्, ‘यो मिराकल नै भयो कि मैले आज खेलेँ किनकी मेरो एंकलमा निश्चित रुपमा ड्यामेज भएको छ । लिगामेन्ट च्यातिएको छ । तर मैले आज देशको लागि खेल्नुपर्ने उत्तरदायित्व अनुभव गरेँ । तर दुर्भाग्य मैले राम्रो गर्न सकिनँ ।’

डे ब्रुएनाले आफूहरुले सक्दो मिहिनेत र प्रयास गरेको बताए । ‘मलाई लागछ हामीले खेल्न जित्न सबै प्रयास गर्‍यौँ’ डे ब्रुएनाले बीबीसी स्पोर्टसंग भने, ‘उनीहरुले राम्रो गोल गरे । तर पहिलो गोल हाम्रै मिस्टेकमा भएको थियो जस्तो लाग्छ । उनीहरुसंग धेरै बल पोसेसन थियो । बल हामीसंग आएन जुन लज्जाको विषय थियो ।’

इटलीलाई जीत दिलाउन निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरेका थिए । बेल्जियमका लागि लुकाकुले पेनाल्टीमा गोल पर्काएपनि हार टार्न पर्याप्त रहेन ।

साविक विजेता पोर्चुगल विरुद्धको खेलमै चोटका कारण पूरा समय खेल्न नसकि मैदान छाडेका डे ब्रुएनाको अवस्था बेल्जियमसंग खेलेपछि झन् खराब बनेको छ । अब युरो सकिएपछि उनी आफ्नो क्लब म्यानचेष्टर सिटीमा फर्कने छन् ।

युरोमा फर्किनुअघि सिटीकै लागि खेल्दा पनि उनी घाइते भएका थिए । मे २९ मा प्रिमियर लिग प्रतिद्वन्दी चेलसीविरुद्धको फाइनलमा डे ब्रुएनाले घाइते हुँदै मैदान छाडेका थिए । उक्त खेल चेल्सीले १-० ले जित्दै च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

त्यही चोटले गर्दा डे ब्रुएनाले युरोकपको समूह चरणको पहिलो खेलमा रुसविरुद्ध खेल्न सकेनन् ।

दोस्रो खेलमा डेनमार्कविरुद्ध एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा मैदान प्रवेश गरेका उनले खेलकै स्वरुप नै बदलेका थिए । जहाँ बेल्जियमले पुनरागमन गर्दै खेल २-१ ले जित्यो त्यसमा डे ब्रुएनाले एक गोल गरे । फिनल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ९० मिनेट मैदानमा बिताएका थिए ।

समूह चरणमा तीन खेल जित्दै समूह विजेता बनेको बेल्जियमले अन्तिम १६ मा थोर्गन हाजार्डको एक मात्र गोलमा साविक विजेता पोर्चुगललाई हराएको थियो । तर क्वार्टरफाइनलमा इटलीलाई भने हराउन सकेन ।

फिफा वरीयतामा नम्बर एक टिम रहेको बेल्जियमको अहिलेको टिमलाई गोल्डेन जेनेरेसन भनिएपनि डे ब्रुएना लगायत खेलाडीले टिमलाई फाइनलसम्म पुर्‍याउन असफल रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment