Comments Add Comment

सिर्सियाको बाढीले वीरगञ्जका बस्ती डुबानमा

२० असार, वीरगञ्ज । सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् ।

शनिबार दिउँसो रानीघाट क्षेत्रमा कम्मरसम्म डुब्ने पानी जमेको थियो । घर–घरमा पानी पसेको छ । अन्न, लत्ताकपडा पानीमा डुब्दा स्थानीयको बिजोक भइरहेको छ । डुबान प्रभावित स्थानीय आफन्त र छिमेकको घरमा गएर बसेका छन् । कृषि औजार अनुसन्धान कार्यालय रानीघाटको पछाडिबाट ३१ घरधुरीका ८४ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले शनिबार साँझ उद्दार गरेको छ । ४७ जना पुरुष, २२ जना महिला र १५ जना बालबालिकालाई उद्धार गरिएको हो ।

उनीहरुलाई उद्दार गरेर आफन्त र छिमेकीको घरमा राखिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गौतमले जानकारी दिए । शनिबार राति वर्षा नभएका कारण बिहान भने पानी क्रमशः सुक्दै गएको छ । पानी सुकेपछि स्थानीय घर फर्कने र वर्षा भएपछि डुबान हुने हुँदा फेरि उद्धार गर्नुपर्ने अवस्था बनिरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

पछिल्ला दिनमा सिर्सिया नदी ‘ओभर फ्लो’ भएर बस्तीमा पसिरहेको छ । नदी क्षेत्र अतिक्रमण गरिएको, नदीको बेस माथि उठेको र अव्यवस्थित सहरीकरणका कारण डुबानको समस्या आएको विज्ञहरुको भनाइ छ । सिर्सियाको बाढी ओभर फ्लो भई निस्केको पानीले वीरगञ्ज–पोखरिया सडक खण्डमा पर्ने एउटा कल्भर्ट समेत भत्काएको छ । जसले गर्दा वीरगञ्ज–पोखरीया सडकखण्डमा साँझ आवागमनमा समस्या भएको छ ।

चुरे क्षेत्रमा बढी पानी परेका कारण सिर्सियामा ठूलो बाढी आएको अनुमान गरिएको छ । नगर प्रमुख विजय कुमार सरावगी नदीको ओभर फ्लो रोक्न तत्काल केही गर्न नसक्ने अवस्था रहेको बताउँछन् । ‘पहिला नदी चौडा थियो, हाल साबिक गरेर नदीको क्षेत्र अतिक्रमण गरिएको छ, नदीको बेस पनि माथि उठेको छ । सफाइ नगरेको वर्षौं भइसकेको छ’ उनले भने, ‘तत्काल ओभर फ्लो रोक्न केही गर्न सक्ने अवस्था छैन । प्रभावितलाई उद्दार गरेर खाने र बस्ने व्यवस्था मिलाउने मात्रै हो ।’

वीरगञ्ज महानगर क्षेत्रबाट २ सय घर बाढी प्रभावितलाई उद्धार गरिसकेको बताउँदै उनले पानी कम भएपछि फर्केर घर जाँदा समस्या भइरहेको बताए । ‘घर डुबेपछि स्थानीयलाई उद्धार गरेर सुरक्षित स्थानमा ल्याउँछौं, घरको चिन्ता लाग्ने रहेछ, पानी कम भएपछि पुनः फर्केर जान्छन्,’ उनले भने, ‘वर्षा भएपछि फेरि घर डुब्छ, अनि उद्धार गर्नुपर्ने हुन्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment