
२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट ९ दिनअघि बेपत्ता बनेकी सुजिता भण्डारी मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै स्थानीय अबरुद्ध गरेको सडक अझैसम्म खुल्न सकेको छैन ।
राजमार्गमा अवरोध हुँदा दर्जनौं सवारीसाधान र यात्रु अलपत्र परेका छन् । पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव लैजान नदिने अडान राखेका छन् ।
आइतबार बसेको सर्वपक्षीय बैठकमा पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्ने भएकाले त्यसका लागि सहयोग गर्ने सहमति भएको थियो ।
तर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, राप्ती नगरपालिकाका मेयर प्रभा बराल, उपमेयर इमानसिंह लामा, एसपी ओम अधिकारी र पीडित परिवारका आफन्तबीच भएको सहमति प्रदर्शनकारीले मानेनन् ।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले राजनीतिक दल, पीडित परिवार, सामाजिक अगुवा, प्रहरी, चिकित्सकसहितको टोली पोष्टमार्टम लगायतका सबै प्रकृयामा सहभागी हुने र तत्कालका लागि शव परीक्षण गर्न दिन स्थानीयलाई आह्वान गरेका थिए ।
के भएको थियो ?
राप्ती नगरपालिका–३ की भण्डारी ९ दिन अघि घरबाट निस्किएकी थिइन् । अघिल्लो दिन साँझ उनले दिदीलाई साथीको घरमा जाने भनेकी थिइन् ।
खाना खाने वेलासम्म घर नफर्किएपछि उनले बहिनीलाई फोन गरिन् । तर सम्पर्क हुन सकेन । दिउँसो सवा १२ बजेतिर बहिनीको मोवाइलबाट आफूलाई मिसकल आएको देखेपछि कविताले फोन गरिन् । सविताले रुँदै आफूलाई दुई महिला र एक पुरुषले अपहरण गरेर गाडीमा राखेको बताइन् ।
पछि मोबाइल फेरि ‘स्वीच अफ’ भयो । त्यसपछि कविताले बुबा आमा, छिमेक र प्रहरीलाई घटनाबारे जानकारी गराइन् । तर प्रहरीले अपहरणलाई पुष्टि गर्ने आधार भेटेको थिएन । फिरौतीका लागि फोन पनि आएको थिएन ।
आतइबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको भिरालो भाग उनको शव भेटिएको थियो । नजिकै धानमा हाल्ने पतेराको विषादी प्रहरीले बरामद गरेको छ ।
निम्न वर्गीय परिवार
भण्डारीको परिवार निम्न मध्यम वर्गीय हो । सुजिता हराएको दिन पनि उनका बुबाआमा बिहानै खेतमा गएका थिए ।
बिबीएस चौथो बर्षको परीक्षा दिएर बसेकी सुजिता गाउँतिर अरुसँग खासै धेरै नबोल्ने स्वभावकी रहेको स्थानीय निर्देशन त्रिपाठी बताउँछन् ।
‘हाम्रो खेत र उनको घर एकैठाउँमा छ, खासै धेरै नबोल्ने उनी सोझी थिइन्’ त्रिपाठीले भने, ‘उनी कसरी यस्तो घटनामा परिन् भन्ने केही भेउ पाउन सकेको छैन ।’
सुजिताकी दिदी कविताले पनि सधैँ एकैठाउँमा हुँदा समेत बहिनीको कुनै केटासँग सम्बन्ध रहेको जानकारी नभएको बताइन् ।
भण्डारी परिवारमा चार छोरी र एक छोरा छन् । जेठी र महिली दिदीको विवाह भैसकेको छ ।
प्रतिक्रिया 4