Comments Add Comment

टोकियो ओलम्पिकमा दर्शक नहुने

२५ असार, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा दर्शक नराखिने भएको छ । यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिक दर्शक विना नै हुने भएको हो ।

कोरोना महामारीलाई ध्यानमा राख्दै ओलम्पिकमा दर्शकलाई प्रवेश नदिइने निर्णय गरिएको हो । बिहीबार जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो मेट्रोपोलिटानबीच बैठकले दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

‘टोकियोमा दर्शकलाई अनुमति नदिने विषयमा हामी सहमतिमा पुग्यौं,’ जापानका ओलम्पिक मन्त्री तामायो मारुकावाले भने । यसअघि नै आयोजकले विदेशी दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरिसकेको छ ।

जापान सरकारले टोकियोमा संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । जसका कारण ओलम्पिकमा दर्शकलाई प्रवेशको अनुमति नदिने भएको हो ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ को डेल्टा भेरियन्ट फेलिरहेकाले टोकियोलाई सुरक्षित राख्न आवश्यक रहेको बताएका छन् ।

टोकियो २०२० का अध्यक्ष सेइको हासिमोटोले दर्शकलाई प्रवेश अनुमति दिन नपाउँदा दुःख लागेको बताए । उनले ओलम्पिकका लागि टिकट लिइसकेकाहरुसँग माफी समेत मागेका छन् ।

ओलम्पिक शुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालीन ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । जहाँ ३३ खेलका ३३९ इभेन्ट हुनेछन् । प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउनेछन् ।

फुटबल र सफ्टबलका खेलहरु भने जुलाई २१ मै शुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment