Comments Add Comment

महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ता

२३ असार, काठमाडौं । विगत करीब डेढ वर्षदेखि विश्वभर नै अधिकांश व्यवसाय कोभिड-१९को महामारीसँग जुधिरहेको छ । तर, यही महामारीका बीचमा नेपालमा इन्टरनेट व्यवसायमा भने उछाल नै आयो । २०७७ वैशाखदेखि २०७८ वैशाखसम्म एक वर्षका बीचमा मात्रै ५८ लाख इन्टरनेट ग्राहक थपिएका छन् ।

बजारमा केबल र फाइबर इन्टरनेट सेवा दिने ४० वटा कम्पनी छन् । ताररहित र तारसहितका फिक्स्ड लाइन सेवा दिने सबैजसो कम्पनीले लकडाउनको अवधिमा ग्राहक संख्या विस्तार गरेका छन् ।

एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५७ लाख ९८ हजारभन्दा बढी थपिएको छ । २०७७ वैशाखसम्म दुई करोड १५ लाख इन्टरनेट प्रयोगकर्ता रहेकोमा २०७८ वैशाखसम्म सो संख्या दुई करोड ७३ लाख पुगेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशका ९०.५६ प्रतिशत जनता इन्टरनटको पहुँचमा छन् । तर, कतिपय एकै व्यक्तिले दोहोरो रुपमा गरिरहेको इन्टरनेट प्रयोग गरिरहेकाले यो तथ्यांक केही कम हुन सक्छ । प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार इन्टरनेट फिक्स्ड ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या उच्च दरमा बढिरहेको देखिन्छ ।

हालसम्म जनसंख्याको अनुपातमा ६५.४७ प्रतिशत जनता मोबाइलमा इन्टरनेट चलाउँछन् । त्यसमा सबैभन्दा धेरै थ्रीजी सेवा प्रयोगकर्ता छन् । एक करोड १९ लाखले थ्रीजी सेवा लिएका छन् । थ्रीजीमा ९४ लाख ९४ हजारले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् भने एनसेलबाट २४ लाख ६२ हजार प्रयोगकर्ता दर्ता छन् ।

यसैगरी फोरजीका ७६ लाख ९७ हजार प्रयोगकर्ता छन् । त्यसमा झण्डै ४८ लाख ०५ हजार प्रयोगकर्ता एनसेलको मात्रै छन् । पहिलोपटक आफैंले सेवा शुरु गरेको नेपाल टेलिकमसँग जम्मा २६ लाख ८६ हजार मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमसँग पनि दुई लाख ६ हजार फोरजी प्रयोगकर्ता छन् । मोबाइल ब्रोडब्यान्डमा इ-भिडियो प्रयोग गर्नेहरु एक लाख ३६ हजार छन् ।

तारसहितको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्नेको संख्या देशमा करीब ७३ लाख ७५ हजार छन् । गत वर्षसम्म यस्तो प्रयोगकर्ताको संख्या ५१ लाख ८१ हजार थियो । दूरसञ्चार प्राधिकरणका अनुसार यस्तो एउटा इन्टरनेट कनेक्सनमा औसत ५ जना प्रयोगकर्ता हुन्छन् ।

फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या गतवर्षको भन्दा २१ लाख ९४ हजारभन्दा बढीले वृद्धि भएको छ । यस्तो सेवा लिनेको संख्या कुल जनसंख्याको २४.४० प्रतिशत छ । गत वर्षससम्म यो संख्या १७ प्रतिशत मात्रै थियो ।

फिक्स्ड ब्रोडब्यान्डमा हाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरु अग्रपंक्तिमा छन् । आईएसपीहरुले ६५ लाख ७४ हजार प्रयोगकर्ता बनाइसकेका छन् । नेपाल टेलिकमको एडीएसएल सेवा प्रयोग गर्नेको संख्या ८ लाख छन् ।

यसैगरी २ लाख ०८ हजार तहाररहित फिक्स्ड इन्टरनेट प्रयोगकर्ता छन् । त्यसमा पनि वाइफाइ (रेडियो)को प्रयोगकर्ताको संख्या १ लाख १८ हजार छ भने ९० हजारले वाइम्याक्स प्रयोग गर्छन् ।

किन बढे ठूलो संख्या ?

मोबाइलमा इन्टरनेट जोड्नेको संख्या पनि उच्च दरमा बढिरहेको छ । यो अवधिमा थ्रीजी इन्टरनेट छाडेर फोरजीमा जानेको संख्या ठूलो देखिन्छ । कमजोर गुणस्तरका सेवाप्रदायक र प्रविधिलाई माहामारीका बेला थुप्रै ग्राहकले छाडे । नेपाल टेलिकमको एडीएसएल छाडेर फाइबर इन्टरनेटमा धेरै ग्राहक तानिनुले यो पुष्टि गर्छ ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले ‘आइस्पान’ लकडाउनपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा उछाल आएको बताउँछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो वर्ष मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रविधि रोज्नेको संख्या बढी छ ।

महामारीकालमा भने मोबाइल प्रयोगकर्ता बराबरकै वृद्धिदरमा फाइबर इन्टरनेटले ग्राहक तानेको छ । आइस्पानका पूर्वअध्यक्ष विनय बोहोरा यसलाई महामारीकै देन भन्छन् ।

महामारीमा ‘वर्क फ्रम होम’ फस्टाउँदा इन्टरनेट ग्राहक थपिएको उनी बताउँछन् । ‘अफिसको काम घरबाटै गर्नुपरेपछि इन्टरनेट जोड्नै पर्‍यो’ उनी भन्छन्, ‘मोबाइल डाटाले काम चलाएकाहरुलाई फिक्स्ड लाइन इन्टरनेट जरुरत पर्‍यो ।’

बोहोराका अनुसार त्यति मात्रै कारणले एफटीटीएच इन्टरनेटका ग्राहक बढेको भने होइन । मोबाइलको डेटाभन्दा फिक्स्डलाइन कैयौं गुणा सस्तो हुने भएकाले पनि यसमा ग्राहक थपिएको उनको मत छ ।

महामारीमा घरबाटै काम गर्नेहरुले डेटाभन्दा छिटो र गुणस्तरीय भएकाले पनि फाइबर अप्टिक इन्टरनेट जोडेको उनी बताउँछन् ।

‘बालबालिकाको अनलाइन कक्षा घरबाटै चल्न थाले, अफिस जानेहरु घरमै बस्नुपर्दा समय कटाउन युट्युब, टिकटक, फेसबुक जस्ता साइटमा भिडियो सामग्री हेर्नुपर्ने अवस्था भयो’ उनले भने, ‘इन्टरनेट नजोडी घरमा बस्न नै मुस्किल भइदियो ।’

घरबेटी वा छरछिमेकको इन्टरनेटबाट काम चलाएकाहरुले पनि यो अवधिमा इन्टरनेट सेवा जोडेको बोहोरा बताउँछन् ।

सरकारले ग्रामीण दूरसञ्चार कोषको रकमबाट १८ परियोजनामार्फत गाउँ-गाउँमा इन्टरनेट सेवा पुर्‍याइरहेको छ । मध्यपहाडी लोकमार्गमा पनि अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको लगायतका कारण कारणले पनि सब्स्क्राइबर संख्या बढेको प्राधिकरणको दाबी छ ।

पछिल्लो वर्ष गाउँका स्वास्थ्य चौकी, विद्यालय लगायतमा सरकारले नै इन्टरनेट सेवा पुर्‍याएको छ । नेपाल टेलिकम र एनसेलको फोरजी प्रतिस्पर्धा गाउँसम्म पुग्दा इन्टरनेट सेवा विस्तार र प्रयोग बढेको हो । स्वभाविक रुपमा विस्तार भइरहेको इन्टरनेट सेवाले ग्राहक बटुलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक बिषयमा कलम चलाउने घिमिरे अनलाइनखबर बिजनेसमा कार्यरत छन् ।

ट्रेन्डिङ

Advertisment