Comments Add Comment

सुजिताको दुखान्त : सेप्टिक ट्यांकीभित्र लुकाइएको थियो शव

२७ असार, जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरका देवर रुपेशले गत जेठ २८ गते सुजिताका बाबु कामेश्वर पाण्डेलाई फोन गर्दै भने, ‘तपाईंको छोरीले झगडा गरिरहेको छ । छिटो आइदिनुपर्‍यो ।’

यसरी फोन गरेको केही बेरमै पुनः रुपेशले कामेश्वरलाई फोन गरेर झगडा शान्त भइसकेको र अब नआए हुने बताए । रुपेशले फोन गर्नुअघि सुजिताले बाबुलाई फोन गरेर कस्तो घरमा विहे गरिदिएको भनी गुनासो गरेकी थिइन् ।

महोत्तरीकै पिपरा गाउँपालिका–६ रतौलीका कामेश्वर छोरीको देवरले आउनुपर्दैन भनेपछि भ्रमरपुरा गएनन् । तर, साँझ छोरी सुजिताको मोवाइलमा फोन गर्दा स्वीच अफ भनिरह्यो ।

त्यसपछि कामेश्वरले देवर रुपेशकै मोवाइलमा फोन गरे । पहिले फोन नउठाएका रुपेशले आधा घण्टापछि कलब्याक गर्दै सुजिता घरबाट भागेको भनी खबर दिए ।

‘सेप्टिक टयांकीमा शव हालेर त्यसमाथि बालुवा र सिमेन्ट मिसाएर ढलान गरिएको रहेछ’ डीएसपी प्रकाश विष्टले भने, ‘ढलान गरिएको माथि चिरान मिलमा रहेका काठ थुपारेर राखेको पाइयो ।’

कामेश्वर भोलिपल्ट बिहानै भ्रमरपुरास्थित छोरीको घर पुगे । ‘रुपेशले नै फोन गरेर झगडा शान्त भइसकेको भन्ने र उसैले छोरी भागेको बताएपछि मनमा डर पैदा भयो’ कामेश्वरले भने, ‘त्यसैले भोलिपल्ट बिहानै भ्रमरपुरा पुगेँ ।’

सुजिताको कोठामा ताला लागेको थियो, ताला खोलेर हेर्दा सुजिताको लुगा र गहना असरल्ल थिए । कामेश्वरलाई रुपेशसहित सुजिताका घरमा मानिसले ‘तिम्री छोरी कुन केटासँग भागी’ भनी आरोपित गरे ।

उनै सुजिता हराएको एक महिनापछि शौचालयको सेप्टिक ट्यांकीमा गाडिएको अवस्थामा शव फेला परेको छ । सडेको अवस्थामा फेला परेको शव सुजिताकै भएको भनी उनका आमाबुवाले सनाखत गरिसकेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।

उनको शव हात बाँधिएको अवस्थामा भेटिएको छ । प्रहरीका अनुसार सुजिता हराएकै दिन २० जेठको राति उनको हत्या भएको हो । घरदेखि करिब एक किलोमिटरको दूरीमा रहेको आफ्नै काठ चिरान मिलको शौचालयको सेप्टिक ट्यांकीमा शव लुकाइएको थियो । जुटको बोरामा हालेर शव सेप्टिक ट्यांकीमा फालिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता विष्ट बताउँछन् ।

४ फिट गहिरो सेप्टिक ट्यांकीको खाडलमा शव राखिएको पाइएको विष्टले बताए । ‘सेफ्टी टयांकमा शव हालेर त्यसमाथि बालुवा र सिमेन्ट मिसाएर ढलान गरिएको रहेछ’ उनले भने, ‘ढलान गरिएको माथि चिरान मिलमा रहेका काठ थुपारेर राखेको पाइयो ।’

सुजिता ठाकुर

अहिले शव फेला परेको ठाउँ नजिकै यसअघि १३ असारमा पनि उत्खनन् गरिएको थियो । जहाँ कपाल, तन्नासहितका सामान फेला परेको थियो । यो खनिएको ठाउँ नजिकै शव गाडिएको भएपनि प्रहरीले समेत यसको भेउ पाउन सकेको थिएन ।

उक्त खाडलबाट केश र तन्ना बरामद भएपछि प्रहरी विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो । २६ असारमा शव त्यसै क्षेत्रमा भएको सूचना पाएको प्रहरीको भनाइ छ ।

यही सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली २६ असारको रातिदेखि नै काम गर्दा शव फेला परेको प्रहरी प्रवक्ता विष्टले बताए । ‘अब हामी पोष्टमार्टम र अन्य अनुसन्धानको प्रक्रियामा जान्छौं’ उनले भने ।

पहिले पनि हत्या प्रयास

१० बर्षअघि भ्रमरपुराका पितराम ठाकुरका जेठो छोरा मुकेशसँग विवाह गरेकी २६ वर्षकी सुजिताको नौ वर्षकी छोरी र पाँच वर्षका छोरा छन् । उनको यसअघि पनि हत्या प्रयास भएको माइती पक्षको भनाइ छ ।

दाजु शिवमले १५ महिनाअघि पनि देवर रुपेशले सुजिताको हत्या प्रयास गरेका थिए । ‘तकियाले घाँटी थिचेर मार्ने लाग्दा बहिनीले रुपेशको हातमा टोकेर आफ्नो कोठामा गई भित्रबाट चुकुल लगाएर बाँचेकी थिइन्’ शिवमले भने, ‘पटक–पटक रुपेशले नै कुटपिट गर्ने गरेका थिए ।’ त्यतिबेला प्रहरीकै रोहवरमा मिलापत्र गरिएको उनले बताए ।

सुजिताको हत्या गर्नुको कारण भने खुलेको छैन । शव फेला परेपछि अब यस विषयमा अनुसन्धान हुने प्रहरीको भनाइ छ । सुजिताका दाजु शिवमका अनुसार ज्वाइँ मुकेशसँग भने सुजिताको सम्बन्ध राम्रो थियो । देवर रुपेशले भने दाइजोको विषयमा भाउजुसँग झगडा गरिरहन्थे । ‘केही माग्दा तिम्रो बुवा–आमाले दाइजो नै दिएन । किन दिनु भनेर उनीहरुले भनिरहे’ शिवम भन्छन्, ‘हो, हामीले दाइजो दिएनौं । तर, बहिनीको हत्या नै गर्छन् भन्ने लागेको थिएन ।’

माइती पक्षका अनुसार दाजु सोझो भएको र भाउजुको हत्या गर्दा सम्पत्ति आफूले उपभोग गर्न पाउने सोच रुपेशमा रहेको हुन सक्ने आशंका गरेका छन् ।

शुरुमा प्रहरीले सहयोग गरेन : माइती पक्ष

सुजिता हराएकै दिन माइती पक्षले हत्या भएको अनुमान लगाइसकेका थिए । उनीहरुले यसबारेमा प्रहरीलाई पनि भनेका थिए । तर प्रहरीले पनि शुरुमा हत्या भएको स्वीकार गर्न मानेन ।

‘प्रहरीले तिम्रो छोरी भागेको हो भनिरह्यो’ सुजिताका बाबु कामेश्वरले भने, ‘छोरीको हत्या नै भइसकेको दावी गरेको फोन रेकर्ड सुनाउँदा पनि प्रहरीले चासो लिएन ।’

छोरी अरु नै केटासँग भागेको भनी प्रहरीले मन दुखाएको कामेश्वरले बताए । जति भन्दा पनि जिल्ला प्रहरी कार्यालयले जाहेरी लिन नमानेको उनले बताए । ‘प्रहरीलाई जति भनेपनि भ्रममा पार्ने काम नगर भनिरह्यो’ कामेश्वरले भने ।

विदेशमा रहेका सुजिताका अर्का दाजु जितेन्द्रले रुपेशसँग फोनमा कुरा गर्दै सुजाताको अन्तिम संस्कार जसरी पनि गर्नुपर्छ, त्यसैले शवलाई गाडिएको ठाउँबाट निकाल्न आग्रह गर्दा रुपेशले शवलाई निकाल्ने हो भने झन् बवाल हुने भन्दै पन्छिएको अडियो प्रहरीलाई दिएको कामेश्वरले बताए ।

सुजिताका दाजु शिवमले हत्या आरोपमा जाहेरी दिँदा लिन नमानेको बरु खोजी गरिदिन निवेदन दिन भनेको बताए । ‘त्यो निवेदन पनि दियौं । तर, प्रहरीले काम अगाडि बढाएन’ उनले भने ।

सामाजिक अभियन्ता सरोज राय र गुञ्जा राय शुरुमा प्रहरी पनि घटना दबाउने प्रयासमा रहेको बताउँछन् । ‘सुजिताको शव फेला परेको छ’ अभियन्ता गुञ्जा भन्छिन्, ‘अब दोषीमाथि कारवाही होस् ।’

पाँच जना पक्राउ, सासुससुरा फरार

१३ असारमा उत्खनन् गरिएको ठाउँमा केश फेला परेपछि प्रहरीले सुजिताका पति मुकेश र देबर रुपेशलाई पक्राउ गरेको थियो । त्यसपछि अरु तीन जनालाई पक्राउ गरेको छ । तर उनीहरुको परिचय खुलाइएको छैन ।

सुजिताको ससुरा पतिराम, सासु रामसखीदेवी र देउरानी रोमा फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
श्रवण देव

ट्रेन्डिङ

Advertisment