Comments Add Comment

भानु जन्मस्थल विकासका कुरा

प्रत्येक वर्ष असार २९ मा भानुभक्तसँगै उनको जन्मस्थलको पनि चर्चा हुन्छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलको विकासबारे आशावादी योजनाभन्दा निराशावादी अवस्थाले बढी तादात्म्य देखाउँदै आएको कारण यस ठाउँको चर्चा हुने गरेको देखिन्छ ।

भानु जयन्तीका दिन हुने औपचारिक कार्यक्रममा सहभागी हुने इच्छाले कतिपय साहित्यानुरागी चुँदीरम्घा पुग्ने गर्छन् । त्यसपछि भने बाहिरबाट चुँदीरम्घा पुग्नेहरू वर्षभरि प्राय: हुँदैनन् । नजिकैको पृथ्वी राजमार्गबाट हुँइकिने धेरै पर्यटकले यस ठाउँको दिव्य सौन्दर्यबारे थाहै पाउँदैनन् ।

चुँदी फाँटको जगमा ठडिएको रम्घा डाँडो प्राकृतिक रुपमा निकै सुन्दर देखिन्छ । प्रतीकात्मक रुपमा कतिपयले यसलाई आदिकविकै अग्लो कदको प्रतीक मान्दछन् । यस भूमिको महत्व पनि पौराणिककालदेखि बखानले भरिएको पाइन्छ । काशीनाथ न्यौपानेले एक पुस्तकमा नेपाली साहित्यसँग मात्रै नभई सिंगो पूर्वीय वाङ्मयसँग चुँदीको सम्बन्ध रहेको भनी व्याख्या गरेका छन् ।

वेदव्यास जन्मभूमिका सन्दर्भहरू नामक पुस्तकमा उनले पौराणिककालमा पारकोट नजिकै रहेको निकै चहलपहल हुने चेदी राज्य कालान्तरमा चुँदीको रुपमा चिनिएको भनी उल्लेख गरेका छन् ।

व्यास र पराशर जस्ता पूर्वीय दर्शनका धरोहरको तपोभूमि पनि तनहूँ नै रहेको तथ्यले चुँदीरम्घाको विशिष्टतालाई सिंगो पूर्वीय दर्शनको केन्द्रको रुपमा समेत जोडिएको देखिन्छ ।

संस्कृतको दबदबाका कारण इतिहासमा नेपाली भाषा अपहेलित अवस्थामा थियो । त्यही बेला सरल नेपाली लोकभाषामा कविता लेखेका कारण भानुभक्तले प्रसिद्धि पाएका हुन् । आजभन्दा दुई शताब्दीअघि जन्मेका भानुले लेखेको भानुभक्तीय रामायण जनजिब्रोमा टपक्कै बस्यो । अनेक साहित्यिक रसले भरिएको रामायणले उनलाई आदिकविका रुपमा मात्रै स्थापित गरेन, नेपाली भाषा र साहित्यको सागर अझ फराकिलो बनाउने चिरस्मरणीय गुन पनि नेपालीलाई लगाए ।

भानुको व्यक्तित्व र कृतित्वलाई हेर्ने दृष्टिकोणमा आजसम्म थुप्रै विविधता रहेको पाइन्छ । उनको साहित्यिक योगदानले विविध भावनाहरूलाई समेत जोड्ने गरेको पाइन्छ । घाँस बेचेर कुवा खन्ने निम्नवर्गीय किसानको परोपकारी प्रवृत्तिले उनको कवित्वलाई प्रस्फुटित गराएको देखिन्छ ।

भानुभक्तीय रामायणको लोकप्रियतासँगै नेपाली भाषाले पनि सम्मानित स्थान ग्रहण गर्न थालेको इतिहास छ । नेपालभित्र मात्रै नभएर सीमा बाहिर समेत भाषाका माध्यमबाट नेपाली भावनालाई मुखरित गर्ने श्रेय समेत यिनलाई जान्छ । ‘भोलि भोलि भन्दा सब घर बितिगो, बक्सियोस् आज झोली’ जस्ता कविता लेखेर तत्कालीन शासक र भोलिवादी प्रवृत्ति विरुद्ध प्रहार गरेका उनका कविता लोकप्रिय छन् ।

भानुभक्तकृत रामायणले नेपाली भाषा र साहित्यलाई समृद्ध पारेको तथ्यलाई कुनै अध्येता, समालोचक, सर्जकलगायत कसैले भुल्न सक्दैन । नेपाली विविधतालाई भाषिक भावनासँगै जोड्ने र भाषा साहित्यलाई समृद्ध बनाउने दोहोरो श्रेय भानुभक्तले पाएकै कारण देशभित्र मात्रै होइन, बाहिर समेत उनीप्रति गर्व गर्नेहरूको संख्या ठूलो रहेको छ । त्यसकारण पनि नेपालीको भावनात्मक पुञ्जका रुपमा भानुसँगै भानु जन्मस्थलको चर्चा हुनु स्वाभाविक मान्नुपर्छ ।

विदेशी साहित्यकारहरूको जन्मथलो र साधनास्थल राम्रो गन्तव्यस्थलका रुपमा विकास गरिएको तथ्य हामीले सुन्दै र देख्दै पनि आएको छौं । शेक्सपियर, गेटे, दोभ्स्तोभ्की जस्ता विश्व साहित्यका अनेक पात्रहरूको जन्मस्थल घुमेर कतिपय प्रतिष्ठित साहित्यकारहरूले त्यहाँको बखान गरेका संस्मरणहरू हाम्रा लागि नौला छैनन् । सम्बन्धित राज्यको उचित ध्यान पुग्दा ती स्थानहरूले अन्तर्राष्ट्रिय गन्तव्यस्थलको पहिचान प्राप्त गरेका छन् । यसबाट त्यस्ता स्थानहरूको विकास मात्रै भएका छैनन्, ती देशहरूले आफ्ना भाषा, साहित्य र संस्कृतिको महत्वलाई पनि प्रचारप्रसार गरी अन्तर्राष्ट्रियकरण गरेको पाइन्छ ।

नेपाली भाषाप्रति अगाध श्रद्धा राख्ने थुप्रै व्यक्तित्वले भानु जन्मस्थललाई यस्तै एउटा विराट भाषिक र साहित्यिक तीर्थस्थलका रुपमा विकसित भएको देख्ने चाहना लामो समयदेखि व्यक्त गर्दै आएको पाइन्छ ।

तनहूँमा भाषा साहित्यका गतिविधि पछिल्लो समयसम्म नभएका होइनन् । भानु जन्मस्थलमा पनि विभिन्न राष्ट्रिय र स्थानीय साहित्यिक कार्यक्रमहरू गर्ने प्रयत्नहरू विगतदेखि हुँदै आएका छन् । तथापि असारमा चुँदी खोलाले बिगारेका र बगाएका पुल तथा वर्षायामको हिलाम्मे चुँदीले समाचारका रुपमा स्थान पाउँदा साहित्यका विद्यार्थीको जिज्ञासु आँखाले चुँदीरम्घालाई भौतिक रुपमा भानु जयन्तीकै बेला सुगम गन्तव्यका रुपमा पत्यार गर्न तयार भएको देखिंदैन ।

विगतमा बहुदलीयताको पुन: प्राप्तिपछि सरकारका तर्फबाट यहाँको विकास गर्ने उद्देश्यले भानु जन्मस्थल विकास समिति गठन भएको पाइन्छ । यससँगै गुरुयोजना बनाएर यहाँको विकास गर्ने चाहना पनि सरोकारवालाहरूले व्यक्त गरेको देखिन्छ । तर यही समितिलाई देखाएर जिम्मेवार व्यक्तिहरू भने यहाँको विकास गर्ने भूमिकाबाट पन्छिन थालेको आरोप समेत लाग्दै आएको छ । स्थापनापछि सो समितिले रम्घाभन्दा तल चुँदीबेसीमा कार्यालय निर्माण गर्‍यो । बेसीमा कार्यालय भएपछि कर्मचारीलाई समेत डाँडो उक्लिनुपरेन भन्ने चर्चा समेत हुँदै आएको देखिन्छ ।

भाषा, साहित्य र संस्कृतिका लागि खुला संग्रहालय हो भानु जन्मस्थल । भानुको योगदानलाई समेटेर सरकारले यस स्थानलाई प्रतिष्ठित साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्छ भन्ने आवाज उठेको लामो समय व्यतीत भइसकेको छ

समितिले आदिकवि भानुभक्त नामक चलचित्र छायांकनका क्रममा विगतमा रम्घाको शिखर कटेरीमा भानुभक्तको जन्मघर पनि निर्माण गर्यो । सरकारी लगानीमा निर्माण गरिएको यस चलचित्र व्यावसायिक रुपमा चल्न नसकेपछि नेपालको पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ जस्तै इतिहासको अभिलेखमा सीमित हुन पुग्यो । त्यसको केही वर्षमै जंगलमा भएको आगलागीको रापमा परेर रम्घाडाँडाको कवि घर पनि खरानी भयो ।

रम्घाको खण्डहर कवि घरलाई हेरेपछि सो घर आफूले निर्माण गरिदिने फुई उडाएर कतिपय व्यक्तिहरूले विगतमा चर्चा बटुल्ने प्रयास पनि गरे । भानुभक्तको नामबाट अहिले भानु नगरपालिका नामकरण भई भानु पहिचान र विकासका गतिविधि बढ्न थालेका छन् । केही समय पहिले स्थानीय निकाय मातहत रहने भनिएको भानु जन्मस्थल विकास समितिलाई केन्द्र सरकारले नै ध्यान दिनुपर्ने माग उठेपछि संघीय सरकारकै मातहतमा समिति रहने गरी सरकारले निर्णय पनि गरिसकेको छ ।

नेपाली भाषाका आदिकविको भूमिकाका रुपमा चुँदीरम्घामा थुप्रै शैक्षिक, सांस्कृतिक र भौतिक पूर्वाधारहरूको विकास जरुरी देखिन्छ, जसले यस ठाउँलाई विश्वका नेपाली भाषीहरूमाझ वाङ्मयको विशिष्ट केन्द्र बनाई धेरैलाई आकर्षण गर्न सकोस् । तर ऐतिहासिक ठाउँको संरक्षणका लागि राज्य र नागरिक दुवै तहबाट थप सार्थक प्रयासहरू हुनसकेको भने देखिंदैन ।

भाषा, साहित्य र संस्कृतिका लागि खुला संग्रहालय हो भानु जन्मस्थल । भानुको योगदानलाई समेटेर सरकारले यस स्थानलाई प्रतिष्ठित साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्नुपर्छ भन्ने आवाज उठेको लामो समय व्यतीत भइसकेको छ । यस वरिपरिका स्थानमा रहेका पर्यटनका न्यूनतम पूर्वाधार भित्र्याउनबाट समेत चुँदीरम्घा वञ्चित रहेको अवस्था देखिन्छ ।

यस नगरलाई भाषिक तथा साहित्यिक अध्ययन अनुसन्धानको रुपमा मात्र होइन, विश्वका तमाम नेपालीभाषी र शुभेच्छुकहरूको सपनाको गन्तव्यको रुपमा विकास गर्नुपर्ने हो । दुर्भाग्य पर्याप्त विकास पूर्वाधारको अभावमा नजिकैका दमौली, पोखरा, बन्दीपुर र गोरखा ओहोरदोहोर गर्ने न्यूनतम पर्यटकलाई पनि चुँदीतिर अवतरण गराउन सकिएको छैन । यस्ता ऐतिहासिक ठाउँलाई प्राज्ञिक र साहित्यिक पर्यटनको विकास केन्द्रको रुपमा उभ्याउनुपर्छ भन्ने स्रष्टाहरूले समेत अहिले त्यस्तो आवाज मन्द बनाइरहेको प्रतीत हुन्छ ।

रम्घाबाट निकै राम्रो देखिने उर्वर चुँदी फाँट विशाल छ । यहाँ वरिपरिका पर्वत शृंखला पनि कम्ता मोहक लाग्दैनन् । यस्ता दृश्यसहितका क्षितिजलाई कसैको आँखाले एकैचोटि हेर्न समेत नभ्याउने गरी ऐतिहासक चुँदीरम्घालाई प्राकृतिक विशिष्टताले राम्रोसँग लेप लगाएको पाइन्छ । यद्यपि यही रम्घामा मानिसहरू बस्न छाडेको लामो समय भइसक्यो । सक्नेहरूमध्ये कतिले चुँदीबेसी पनि छाडिसके ।

चुँदीरम्घालाई त्यहीं पुगेर चुम्बन गर्ने आकांक्षा राख्ने तमाम अनुरागी मनहरूलाई यस क्षेत्रको विकास गर्नुपर्छ भन्ने मनैदेखि लागे पनि सरोकारवालाहरूले यस तथ्यलाई गम्भीरतापूर्वक मनन गरेको देखिंदैन । यहाँको विकास गर्नुपर्छ भन्नेहरूको औपचारिक भनाइले मात्रै ऐतिहासिक ठाउँ विकास गर्ने जिम्मेवारी पूरा हुन सक्दैन ।

विगतमा औपचारिकता मात्रको मानसिकताले भानु जन्मस्थल पूर्वाधारविहीन भएको छर्लंग देखिएको अवस्थामा संघीय, प्रादेशिक र स्थानीय सरकारहरूले राष्ट्रिय विभूतिको यस तपोभूमिलाई उच्च महत्व दिई देशको गतिलो गन्तव्यस्थलका रुपमा विकास गर्न ढिलाइ गर्नुपर्ने कारण छैन ।

भिमाद-१ डुम्रिबेसी, तनहूँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment