Comments Add Comment

नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिज सेप्टेम्बरमा गर्ने तयारी

फाइल तस्वीर : नेपाली राष्ट्रिय क्रिकेट टिम

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको छ ।

यसअघि मार्चमै ओमान आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थियो । त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यस वर्ष स्थगित भइसकेको छ ।

यस्तो अवस्था आईसीसीले आगामी सेप्टेम्बरमा नेपाल, ओमान र अमेरिकाबीचको सिरिज गराउने तयारी गरिरहेको हो । नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार सेप्टेम्बरमा सिरिज गर्ने लगभग पक्का भएको छ ।

यसका लागि आईसीसी र सम्बन्धित देशबीच छलफल भइसकेको छ । पछिल्लो छलफलमा सेप्टेम्बरमा सिरिज गर्नेबारे कुराकानी भएको स्रोतले जनाएको छ । ‘ओमानमा टी–२० विश्वकप हुने भएपछि लिग २ पनि हुन्छ । अहिलेसम्मको अवस्थामा सेप्टेम्बरमा लिग २ को ट्राई सिरिज गर्ने लगभग निश्चित छ ।’

आगामी सेप्टेम्बर–अक्टोबरमा यूएईमा इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना हुँदैछ । यस्तै अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा आईसीसी टी–२० विश्वकप आयोजना हुँदैछ ।

आईपीएल र टी–२० विश्वकप आयोजना हुने अवस्थामा आईसीसीले लिग २ सिरिजका खेलहरु आयोजना गर्ने तयारी गरेको हो ।

यसअघि क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टी–२० विश्वकप हुने अवस्थामा लिग २ पनि हुने बताउँदै आएका थिए । नेपाल, ओमान र अमेरिका सम्मिलित लिग २ ट्राई सिरिज सेप्टेम्बर दोस्रो साता हुने सम्भावना छ ।

सिरिज हुने पक्का भएमा श्रीलंकामा रहेका नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि फर्कनेछन् । यस्तै नेपाली टिमको प्रशिक्षण पनि चाँडै शुरु हुने सम्भावना छ । अगष्ट पहिलो साताभित्र नेपालको प्रशिक्षण शुरु हुने सम्भावना रहेको छ ।

यसअघि जुलाईमा नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज स्पेनमा हुने भनिए पनि कोरोनाकै कारण स्थगित भएको थियो । त्यो सिरिज स्थगित भएपछि नेपाली टोलीको प्रशिक्षण पनि तत्कालका लागि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment