Comments Add Comment

पिछडिएको संस्कारको पछिपछि नेपाली राजनीति

नेपालको राजनीतिमा संलग्न पात्रहरू कुण्ठाग्रस्त मानसिकतामा देखिन्छन् । यसको अभिव्यक्ति एकले अर्कोलाई गद्दार, धोकेबाज जस्ता तीता शब्दहरू प्रयोग गर्नु नै हो । पछिल्लो समय खासगरी एमालेमा यही र यस्तै अभिव्यक्तिको व्यापक अभ्यास भइरहेको छ । अन्य पार्टीको तुलनामा नेकपा एमाले संस्थागत लोकतन्त्रीकरणमा अगाडि रहेको चर्चा हुने गर्थ्यो तर, पछिल्ला अभ्यासले पार्टीले आफ्नो छवि धुमिल बनाइरहेको छ ।

हाम्रोमा एक व्यक्ति राजनीतिमा लागेपछि नमरुञ्जेलसम्म राजनीति गर्ने परम्परा नै बनिसकेको छ । यो प्रवृत्तिले यस्तै अभ्यासहरू निम्त्याउने रहेछ । एकपटक पार्टी सभापति÷अध्यक्ष भइसकेपछि पनि फेरि म नै हुनुपर्छ, म बाहेकबाट देश र पार्टी नै चल्न सक्दैन भन्ने मानसिकताबाट हाम्रो राजनीतिक संस्कार विकास हुँदै आएको देखिन्छ ।

अहमता

नेकपामा विग्रह आउनुको एउटा सशक्त कारण लोभलालच, कुण्ठा र अहमता नै हो । नेकपा रहँदा केपी ओलीको चाहना मेरो कारणले चुनाव जितेको हो, मैले मेरो तरिकाले काम गर्न पाउनुपर्छ, कसैको दबाब कसैको भनाइ सुन्ने आवश्यकता नै छैन भन्ने अहमता देखियो ।

ओलीले दिनको १८ घण्टा काम त गरे होलान् तर साधारण जनताले त्यो कुरा देख्दैन । आम जनताले देख्ने भनेको जनताको दैनिकीमा हामीले भोट दिएर पठाएको नेताले गरेको कामले कत्तिको सकारात्मक परिवर्तन ल्याएको छ भन्ने रहेछ ।

ओली प्रधानमन्त्री हुँदा आम जनताको कुरा खासै नसुन्ने प्रवृत्ति देखियो । भ्रष्टहरू आफ्नो गुटको छ भने खोलै ओढाएर संरक्षण गर्ने उनको स्वभाव देखियो । देशमा खुलेआम भ्रष्टाचार भइराखेको छ । तर उनी भन्छन्– भ्रष्टाचार हुन दिंदैनौं । धूलो र धूवाँले काठमाडौंमा कुनैबेला मास्क नलगाई हिंड्न नसक्ने अवस्था थियो जबकि त्यतिबेला केपी ओली भन्दै थिए काठमाडौंमा मास्क नलगाई हिंड्ने अवस्था बनाइसक्यौं ।

यथार्थ र भनाइमा तालमेल नखाएपछि जनताले विश्वास कसरी गर्न सक्छन् ? केपी ओलीले माधव नेपाललाई अलि बढी हेपेकै थिए चाहे त्यसको कारण जे सुकै होस् । पार्टीको वरिष्ठ नेतालाई एउटा स्पेस दिएर अगाडि बढ्नुपर्थ्यो । पार्टी एकीकरणपश्चात् माओवादी जनयुद्धलाई सम्मान गरेर जानुपथ्र्याे । यसबारे ओलीमा धेरै उतारचढाव देखिए ।

लालसा

प्रचण्ड अर्थात् पुष्पकमल दाहाल माओवादी पार्टीको पर्याय जस्ता छन् । उनी माओवादी आन्दोलनको शुरुआतदेखिकै प्रमुख नेतृत्व हुन् । एमाले र माओवादी केन्द्र एकीकरणपश्चात् उनी दोस्रो अध्यक्ष भए जुन कार्यकारी अधिकारसहित थिएन । शक्ति सबै केपी ओलीमा केन्द्रित थियो । यसबाट प्रचण्डलाई एकप्रकारको छटपटी हुने नै भयो । केपी ओलीको ‘पब्लिक सेन्टिमेन्ट’ गुमाउने गराउन प्रचण्डले आफूनिकट सञ्चारमाध्यमको खुब प्रयोग गरेको कुरा स्वयम् माओवादीभित्र चर्चा हुने गर्दछ । आफू कहिल्यै दोस्रो हुन नखोज्ने स्वभावका प्रचण्ड पार्टी एकीकरणपश्चात् दोस्रो भएर बस्नु कम्ती पीडाको विषय होला त ? त्यही पीडा नै नेकपा विभाजनको एउटा कारक बन्यो ।

केपी ओलीको लोकप्रियता कायमै रहेको भए प्रचण्डको केही लाग्दैनथ्यो । सत्ता सम्हालेपछि केपीको शक्ति र छवि क्षयीकरणले प्रचण्डलाई अनुकूलता थपियो । न आधा कार्यकाल प्रधानमन्त्री पाउने, न पार्टीभित्र कार्यकारी अधिकार पाउने अवस्थाको अन्त्य प्रचण्डले चाहन्थे । यहाँ सबै शक्ति केन्द्रित गर्ने ओलीको र केही अधिकार लिने प्रचण्डको लालसाले नेकपालाई विभाजनसम्म पुर्‍यायो ।

कुण्ठा

नेपाली राजनीतिमा एकपटक उच्चपदमा पुगेपछि राजनीति छाड्नै चाहँदैनन् । उल्टो नेताहरू जे–जसरी हुन्छ शक्तिमा टाँसिइरहन खोज्छन् । यो प्रवृत्तिविरुद्ध लड्न खोज्ने विरुद्ध उनीहरू एकप्रकारको आक्रोश र कुण्ठा पालिरहन्छन् । यही चरित्रकै परिणाम हो नेकपा विभाजन । माधव नेपाल एकपटक सत्ता र शक्तिको स्वाद मज्जाले चाखेकै व्यक्ति हुन् ।

कुनैबेला आफूले निर्देशन दिने मान्छेले आफूलाई निर्देशन दिंदा अलिकति माधवलाई आफ्नो स्वाभिमान गिरेको जस्तो अनुभूति भएको हुनुपर्छ । यसले उनमा कुण्ठा पलाएको पक्कै हो । त्यही कुण्ठा पनि नेकपा विभाजनको धेरै कारकमध्ये एक बन्यो ।

नेकपा विभाजनलाई यी तीन नेताको तीन विशेषताले भूमिका खेल्यो । ती हुन्– अहमता, लालस र कुण्ठा । यसको अन्त्यको लागि एउटा राजनीतिक संस्कार विकास हुनु जरूरी छ । मृत्युको मुखमा नपुगुन्जेलसम्म शक्तिको लालसाबाट मुक्त नहुने समस्याको अन्त्य हुनै पर्छ ।

यसको विकल्पमा सुसंस्कृत राजनीतिको विकास गर्न सबैले भूमिका खेल्नुपर्छ । तत्कालीन नेकपामा मात्र होइन, जुनसुकै राजनीतिक पार्टीमा यो रोग भएको यथार्थ हो । नेपाली कांग्रेसमा सभापति नमरुन्जेल रहने प्रचलन कायमै छ । चाहे त्यो राष्ट्रिय जनमोर्चा होस्, चाहे नेमकिपा । एउटा नेता नमरुन्जेल अर्काेले पालो नपाउने यो कस्तो राजनीतिक संस्कार हो ? अर्को नेताले नेतृत्व पाउनको लागि मुख्य नेताको मृत्युको कामना नै गर्नुपर्ने हो त ?

संस्कार परिवर्तन जरूरी

हाम्रो समाजको संस्कार परिवर्तन पनि सभ्य राजनीतिको लागि महत्वपूर्ण छ । चिनेको नेतृत्वसँग सोर्सफोर्स लगाउन हामी नेपाली माहिर छौं । त्यसैले पनि नेतालाई फेरि राजनीतिमा धकेल्न बाध्य पार्छ जस्तो लाग्छ । नेताले आराम गर्छु भने पनि आराम नपाउने संस्कार छ हामीकहाँ । यसले नयाँ–नयाँ नेतृत्व आउने अवस्थाको अन्त्य हुन्छ । हामी ५० वर्ष नाघेका पनि युवा नेतृत्व भनेर रमाइरहेका हुन्छौं ।

हामीले राजनीति छाड्नेलाई पनि सम्मान पाउने राजनीतिक संस्कार विकास गर्नुपर्छ । पद छाडेपछि केही शक्ति नहुने अवस्थामा ऊ निरीह सावित हुन्छ । सम्मान र शक्तिको खोजीमा निरन्तर नेतृत्वमा रहिरहनुपर्ने बाध्यताको पनि अन्त्य हुनुपर्छ । जबसम्म पहुँच र प्रभावका आधारमा देश चलिरहन्छ, हाम्रो देश कहिल्यै बदलिंदैन । यो पक्का हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment