Comments Add Comment

थारु समुदाय अखारी पर्व मनाउँदै

९ साउन, काठमाडौं । तराईका आदिवासी थारु समुदायले शनिबार अखारी पर्व मनाएका छन् ।  असारको पहिलो दिन अर्थात १ गते थारु समुदायले प्रकृतिको पूजा गरी ‘अखारी पर्व’ मनाउदै आए पनि यसवर्ष मलमासका कारण यो पर्व साउनमा पर्न गएको हो ।

आजको दिन थारु समुदायले आफ्नो घरको देउता घरमा केराको पातमा खीर र दूध चढाउने गर्छन् । त्यस्तै राजाजी मन्दिर (थान) मा साँझ दियो बत्ति बालेर थारु गाउँमा पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।

वर्षायाम सुरु भएसँगै प्राकृतिक जोखिम र विपदबाट अप्रिय घटनाहरु नघटोस् भनी असारको पहिलो दिन गाँउका सबैजनाले मिली दिउँसो आआफ्नो घरमा र साँझमा ग्राम थान (मन्दिरमा) गइ सामूहिक रुपमा दियो बत्ती बाल्ने परम्परागत संस्कार रहेको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।

उनी भन्छन्, ‘थारुहरु प्रकृतिपूजक भएकाले प्रत्‍येक ऋतु र याम अनुसार उनीहरुले प्रकृति पूजा आराधना परापूर्वकालदेखि नै गर्दै आएका छन् । असार वर्षायामको सुरुवात भएकाले यो दिन थारु समुदायले सुस्वास्थ्य, दीर्घायू र बीऊ रोप्ने शुरुवातका लागि गाउँ गाउँमा प्रकृतिको पूजा गरिन्छ ।’

अखारी पुजा नगरी खेतबारीमा समेत ‘गव लिने’ अर्थात धान रोप्ने चलन नरहेको पनि संस्कृतिविद चौधरीले बताए । ‘असार लागेसँगै अब वर्षाऋतु शुरु भयो । वर्षासँगै विषालु किरा-फट्याङ्ग्राको बिगबिगी हुन्छ।  यसबाट बच्नका लागि पूजा आराधना गरिन्छ । त्यतिमात्रै नभइ महामारी रोग, खेतीपातीमा कुनै प्राकृतिक प्रकोप नहोस् भनी पूजा गर्ने चलन रहेको छ’ उनले भने ।

यस्तै आजकै दिन थारु समुदायमा ग्वाही अर्थात गाईगोठमा रहेको मुख्य खम्बा दुबोसहितको माटो राख्ने चलन रहेको छ । यसले गाईवस्तुमा कुनै किसिमको रोग व्‍याधी, महामारी नआओस्, सबै गाउँ-घर समाजको कल्याण होस भन्ने मान्यता रहेको छ ।

अखारी पुजा गर्दा विशेषगरी खीर, लड्डु, आँप, कटहर जस्ता फलफूल चढाएर पूजा आराधना गर्ने गरिन्छ । पूजा आरधनासँगै दिनभरि काम गरेर थाकेपछि थकान मेटाउन बेलुका ग्रामथानमा सबैजना भेला भइ थारु जातिको मौलिक एवं धार्मिक गीत वाद्यवादनको तालमा बाजा बजाएर गाउने चलन छ ।

यसपछि अन्त्यमा सबैजना सामूहिक रुपमा अखारी पूजाको प्रसाद ग्रहण गर्ने चलन रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment