+
+

औषधिबाट गरिने गर्भपतन सुरक्षित हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते १२:२६

अनिच्छित गर्भ रहेपछि के गर्ने ? यसका केही विकल्प छन् । एक त, बच्चालाई जन्म दिने । दोस्रो गर्भपतन गराउने ।

गर्भपतनका लागि दुई वटा विधी प्रचलनमा छन् । पहिलो, म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए) गरिने गर्भपतन । अर्को, औषधिबाट ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । खासगरी जटिल अवस्थामा वा बाध्यकारी अवस्थामा गर्भ रहेमा गर्भपतन गर्न सकिने व्यवस्था छ । गोपनियता अपनाएर सुरक्षित ढंगले गर्भपतन गराउन सकिने व्यवस्था छ । दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा पनि उपलब्ध छन् ।

यद्यपि जथाभावी गर्भपतन गराउनु असुरक्षित हुन्छ । त्यसैले गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सुचिकृत हुनु पर्छ । गर्भपतन सेवाका लागि सुचिकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।

यस्ता सुचिकृत संस्थामा सुचिकृत अर्थात तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनका समस्याका कारण हाल सम्म एक महिलाको पनि मृत्यु भएको छैन भने एक प्रतिशत भन्दा पनि कममा मात्र केही समस्या आउने गरेको तथ्यांहरुले देखाएको छ ।

औषधिबाट गर्भपतन

त्यसो त विश्व बजारमा बर्षौ देखि गर्भपतनका औषधिहरु प्रयोग गरिदै आएको छ । नेपालमा भने धेरै पछि मात्र यो सेवा सुरु भएको हो । विभिन्न जिल्लामा सफल परीक्षणपछि औषधिबाट गरिने गर्भपतन सर्वसुलभ बनेको हो ।

नेपालमा अपनाएको पद्दती अनुसार एकथरीका औषधी मुखबाट शेवन गरेको २४ देखि४८ घण्टा सम्ममा अर्कोथरीका औषधी योनिमार्गमा वा जिब्रो मुनी राख्नु पर्छ । बिना कुनै प्राबिधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने भएकोले हाम्रो मुलुकमा यस्को प्रयोगकर्ता बढिरहेका छन् ।

अत्यन्त प्रभावकारी रहेको यी औषधिको प्रयोगले ९ हप्ता अर्थात ६३ दिन सम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सुचिकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधि करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ ।

साइड इफेक्ट

मेडिकल एर्बोसन (औषधिद्धारा गरिने गर्भपतन) ६३ दिन सम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यसका केही असरहरु छन् । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केहि रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परार्मशको आवश्यक्ता नपर्न सक्छ ।

तर, अत्याधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनिमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्धारा गरिएका मेडिकल एर्बोसनमा यस्ता गम्भिर असरहरु प्रायः देखिदैन ।

अनाधिकृत औषधिको जोखिम

औषधि पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधिहरु बिक्रि वितरण गर्न नपाउने सामान्य नियम छ । तर केहि औषधि पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतिय बजारबाट ल्याएका कमसल वा औषधिहरु बिक्री वितरण गर्ने गरेको पाईन्छ ।

गर्भपतनपछि भिडियो एक्स रे

औषधिबाट गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपुर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सहि मापन । मेडिकल एर्बोसनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स रे (अल्ट्रासाउण्ड) गर्नु पर्ने मान्यता रहेको छ । मेडिकल एर्बोसनका लागि अर्को महत्वपुर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन, परिक्षण गर्नु ।

समान्यतया औषधिको सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुदैमा पुर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै अवस्थामा अत्याधिक रक्तश्राव र जोखिमपुर्ण हुन सक्छ ।

कस्तो अवस्थामा जोखिम ?

यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितीलाई परिक्षण नगरी एम.ए. अर्थात मेडिकल एर्बोसन (औषधिद्धारा गरिने गर्भपतन) गर्नु खतरनाक पनि हुन सक्छ । यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार पु¥याउनु पर्छ ।

पहिलेको गर्भ तथा प्रसुति सम्बन्धि समस्याहरु, अन्य दिर्धरोगहरु, बिभिन्न स्वास्स्थ्य समस्याका लागि औषधिहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा औषधिको प्रयोग गर्नु हुदैन ।

कसले गर्भपतनको औषधि सेवन गर्न मिल्छ ?

गर्भ राख्न न चाहने १६ बर्ष पार गरेकी मानसिक सन्तुलन ठिक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्ता सम्मको गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । यो औषधिहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाईन्छ । निजी तर सुचिकृत संस्थामा यसको मुल्य तिर्नु पर्छ । यो औषधि पसलमा सोझै खाने औषधि होईन ।

१६ बर्ष पार नगरेको वा मानसिक अवस्था ठिक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट यो औषधि सेवन गर्नु गैरकानुनी मात्र होईन घातक पनि हुन सक्छ ।

के छ विकल्प ?

गर्भपतन (औषधि तथा एमभिए) सुरक्षित हुदाहुदै पनि यो अन्तिम बिकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुदैन, र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।

सबै दम्पतिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफुलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ बारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर साधन छनोट गर्नु राम्रो हो । परिवारको आकार पुरा भए पछि वा सन्तानको रहर पुगी सके पछि स्थायी बन्धयाकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनब्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यत्मक अवस्था नआउन सक्छ ।

प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?