Comments Add Comment
अन्तर्वार्ता :

‘एमाले फुटाउन हस्ताक्षर चाहिएला, त्यो हामी दिंदैनौं’

१२ साउन, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन दशबुँदे सहमति जुटे पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समानान्तर गतिविधि रोकिएको छैन । दोस्रो तहका नेताहरूको एकता प्रयास पनि जारी छ ।

ओली र नेपालबीच अनेक पटक भड्किएको परिस्थिति सम्हाल्दै आएका दोस्रो तहका नेताहरूलाई साथ दिन भन्दै दुवैतर्फका सांसदहरूले पनि अभियान शुरू गरेका छन् ।

यो अभियानमा ओलीतर्फका कृष्णप्रसाद दाहाल र नेता नेपालतर्फका यज्ञराज सुनुवारले अगुवाइ गरिरहेका छन् । दाहाल र सुनुवारले गरेको दाबी अनुसार, एकता दबाब दिने सांसदहरूको संख्या ४० नाघेको छ । यो संख्या अझै बढ्ने दाबी गर्ने दाहाल, एमाले विभाजन सांसदहरूको कारण रोकिने बताउँछन् । ‘एमाले संसदीय दल विभाजन गर्न कोही पनि आयो भने त्यो हुन दिंदैनौं’ उनी भन्छन्, ‘सांसद नै छोडेर कोही मान्छे राजनीतिबाट संन्यास लिन्छु, एमालेमा बस्दिनँ भनेर जान्छ भने त केही भन्नु छैन । तर, वैधानिकता प्राप्त गरेर म छुटि्टएर जान्छु भन्ने हो भने हामी सांसदहरूको पनि हस्ताक्षर चाहियो नि ! यो चाहिं हामी हुन दिंदैनौं ।’

प्रस्तुत छ, सांसद दाहालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

माधवकुमार नेपाल अथवा केपी ओलीको योगदानको कदर गर्नुपर्छ । तर, योगदानलाई कदर गर्ने नाममा नेकपा एमालेलाई क्षत-विक्षत बनाउने कुरा उहाँहरूमध्ये कसैले गर्नुभयो भने आलोचना गर्नुपर्छ

पार्टीलाई फुटबाट जोगाउन अभियान थाल्नुभएको छ तर व्यावहारिक रूपमा विभाजित भइसकेको नेकपा एमालेलाई जोड्न सक्नुहुन्छ ?

हामी जहाँ लागेका छौं, त्यहाँ विश्वासमा लागेका छौं । आज होइन, यो आन्दोलनमा त्यतिबेला लाग्यौं, जुन बेला अहिलेका नेताहरूले हामीलाई चिन्नु पनि हुन्नथ्यो । उहाँहरूलाई पनि चिन्दैनथ्यौं । केवल आन्दोलन चिन्थ्यौं । नेपाल राष्ट्र चिन्थ्यौं । नेपाली जनताको मुक्ति चिन्थ्यौं । त्यो उद्देश्यका साथ यो पार्टीमा लागेका हौं ।

र, नेकपा एमाले भनेको आन्दोलन मात्रै होइन । अब यो समाज भइसक्यो । यो यस्तो बृहत् समाज हो, जहाँबाट कोही पनि भाग्न सक्दैन । जो भाग्छ, उसको भविष्य छैन । यो आन्दोलनबाट केही नेताहरू जानुभयो तर भविष्य नदेखेर र्फकनुभयो ।

त्यसैले यो यस्तो बलियो एउटा समाज हो, जुन समाजबाट कोही पनि भाग्न सक्दैन, तर मन दुखाउन पाउँछ । केपी शर्मा ओली र माधवकुमार नेपाल पनि भाग्न सक्दैनन् ? उहाँहरूले त म जहाँ उभिन्छु, त्यहीं पार्टी बन्छ भन्ने झैं गरेर अभियान चलाइरहेको देखिन्छ ?

त्यो अभियान पनि ठीक होइन । त्यी शब्दहरू पनि ठीक होइन । हामी सबैको प्रयास हो । तर उहाँहरू अगुवा नै हो । उहाँहरूको कम योगदान, हाम्रो धेरै भन्ने यो मूर्खता पनि गर्नुहुँदैन । उहाँहरूको योगदान बढी छ, त्यसैले उहाँहरू त्यो ठाउँमा हुनुहुन्छ ।

शीर्ष नेताहरू एकअर्कामा निषेधको अभियानमा पुग्नुभएको छ । रोक्न सक्नुहोला त ?

माधवकुमार नेपाल अथवा केपी ओली विनाको बनाउँछु कसैले भन्छ भने त्यो धृष्टता हो । उहाँहरूको योगदानको कदर गर्नुपर्छ । तर, योगदानलाई कदर गर्ने नाममा नेकपा एमालेलाई क्षत-विक्षत बनाउने कुरा उहाँहरूमध्ये कसैले गर्नुभयो भने यसलाई करेक्सन पनि गर्नुपर्छ । आलोचना गर्नुपर्छ, ठीक ठाउँमा ल्याउनुपर्छ ।

यो आन्दोलन मेरो बपौती हो, मेरो पेवा हो, मैले मात्रै दुःख गरेको छु, मलाई जे गर्न पनि छुट छ भनेर कसैले पनि भन्न पाउनुहुन्न । सामूहिक प्रयत्नद्वारा यो ठाउँमा आएका हौं ।

केपी ओलीले पनि पाउनुहुन्न ?

कसैले पाउनुहुन्न । केपी ओलीले पनि कसरी पाउनुहुन्छ ? यो उहाँको निजी सम्पत्ति हो ? होइन । केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ । उहाँको नेतृत्वमा आज यो पार्टी छ । भोलि अर्कोको नेतृत्वमा जाला । नेतृत्व भनेको त आउने-जाने हुन्छ । एमाले त हामी सबैको सामूहिक सम्पत्ति हो । यो सम्पत्तिमा कसैलाई क्षत-विक्षत गर्ने अधिकार छैन । भावी सन्ततिलाई हामीले सग्लो मात्रै होइन, आजको भन्दा अझ उन्नतस्तरको पार्टी जिम्मा लगाउनुपर्छ । नेतृत्वमा रहेका माधव र केपी कमरेडको पनि यो दायित्व हो ।

फेरि अहिले विवाद सिद्धान्तको होइन । सिद्धान्त र विचारमा लडाइँ भएको भए त आज भन्दा राम्रो बन्थ्यो पार्टी । विगतमा देख्नुभएको होला, जब विचारमा लडाइँ भयो, पार्टी एक स्तरबाट अर्को उन्नत स्तरमा गएको छ । अहिले त मलाई स्थान अभाव भयो, मलाई शक्ति पुगेन भन्ने विवाद छ । यस्तो विचार रहित लडाइँमा कतै पनि जानु राम्रो होइन । कुनै नेतालाई आफ्नो बनाएर स्वार्थ लुट्नु छैन । नेपाली जनता, देश र लोकतन्त्रलाई केन्द्र भागमा राख्नुपर्छ ।

तर अहिले केन्द्र भागमा त केपी ओली र माधव नेपाल हुनुहुन्छ । यो बिग्रिएको कोर्स कसरी करेक्सन गर्न सक्नुहोला ?

स्वतः करेक्सन हुन्छ । युद्ध, लडाइँ र संघर्षको बेलामा लोकतन्त्र कमजोर हुन्छ । त्यो स्वाभाविक हो । शीत युद्धकालमा संसारका कम्युनिष्ट आन्दोलनहरूमा लोकतन्त्र कमजोर थियो, प्राधिकार बढी थियो । रूस, चीन, क्युवा, भियतनाम सबैतिर लोकतन्त्र कमजोर देखियो । किनकि त्यो युद्धको अवधि थियो । अहिले हामी युद्धको चरणमा छैनौं । हामी भर्खरै स्थापित लोकतन्त्र बलियो बनाउन गइरहेका छौं । लोकतन्त्र बलियो बनाउनतिर जाँदा प्राधिकार प्रमुख हो कि नेतृत्वको लोकतन्त्रीकरण प्रधान हो ?

जबकि यो सैद्धान्तिक कुरामा हाम्रो पार्टी प्रष्ट छ । पार्टीलाई लोकतन्त्रीकरण गर्ने । त्यो भनेको सामूहिक नेतृत्व प्रणाली हो । कसैलाई प्राधिकार बनाएर जाने कुरा अहिले तत्काल पार्टीको नीति र विधिले दिंदैन । नेतृत्वलाई लोकतन्त्रीकरण गर्ने दिशातिर जाँदा नै देशको लोकतन्त्र बलियो हुन्छ । राष्ट्र बलियो हुन्छ । अरू राजनीतिक दलहरूले पनि सिक्ने मौका पाउँछन् ।

तर लोकतन्त्रीकरण भने पनि नेता त हुन्छ । तर हामीसँग एउटा मौका छ । यतिका धेरै वरिष्ठ नेता हुनुहुन्छ । हिजो १५ वर्षसम्म कमरेड माधव नेपालले यो पार्टीलाई नेतृत्व गर्नुभयो । झलनाथ खनालले नेतृत्व गर्नुभयो । अहिले केपी ओली नेतृत्व गरिरहनुभएको छ । अब सामूहिक प्रणाली भनेको त कमरेड केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम पनि देख्न सकिन्छ Û त्यो चाहिं किन भइरहेको छैन । हामी कार्यकर्ताले समीक्षा गर्नुपर्छ ।

एकताको अभियान त थाल्नुभएको छ । यो कत्तिको पार लाग्ने कुरा हो ?

पार लाग्छ । दश जना नेता, जो स्थायी कमिटीमा हुनुहुन्छ, उहाँहरूको कार्यदलले दशबुँदे गर्‍यो । उहाँहरूबीच कुनै विवाद छैन । यो वा त्यो पक्ष रहेन, पक्षधरतारहित भयौं भन्नुभयो । दस्तावेजले पनि पक्षधरता बोल्दैन । यो एउटा सुन्दर पक्ष हो । अब दश जनाबाट यो संख्या बढेर जानेवाला छ । त्यो घट्दैन । पार्टीलाई एक बनाएर छोड्छौं भन्ने अठोट तलको नेतामा पनि देखा परेको छ । हामी जनप्रतिनिधिहरूले उहाँहरू (कार्यदलका सदस्य) लाई सहयोग गर्छौं । जनताले पनि राम्रो, असल र जनताप्रति प्रतिबद्ध एमाले देख्न चाहन्छन् ।

दशबुँदे सहमति गर्ने दश जनाको पछाडि सांसदहरू छन् भन्ने देखाउन चाहनुहुन्छ ?

माधव कमरेडको चाहना हो भने पनि हाम्रो कारणले दल विभाजन गरेर जान सक्नुहुन्न । केपी कमरेडले पनि सक्नुहुन्न । हाम्रा कारणले दल विभाजनले औपचारिक मान्यता प्राप्त गर्ने ठाउँमा पुर्‍याउन दिंदैनौं

दश जनाले दशबुँदे ल्याउनुभयो । तर किन सर्वस्वीकार्य भइरहेको छैन । एउटा नेताले मैले स्वीकारें भनेर केन्द्रीय कमिटीबाट पारित भयो । अर्को ठाउँबाट अझै पनि गज्याङगुजुङ कुरा आइरहेको छ । यो किन भइरहेको छ ? कार्यदलमा एकमत छ भने त्यसमा किन फरक मत ? यो पार्टीलाई विभाजनतिर लैजाने कुरा कसैबाट पनि आउनुहुँदैन ।

५ पुसदेखि सांसदहरूले पनि आ-आफ्नो गुट समात्नुभयो । त्यो पार्टी र संसदमा देखियो । फेरि पनि एमालेमा विवाद बढ्दै गएमा तपाईंहरू आ-आफ्नो बाटो लाग्ने त होला नि ?

एउटा परिस्थिति थियो, त्यो पार भइसक्यो । मलाई मन नपरे पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । एमालेभित्र पनि हामी विभाजित भयौं । पक्ष र विपक्षमा मतदान गर्‍यौं । तर संसद्को आयु सकिन्छ भन्ने चिन्ताबाट पनि मुक्त भइसक्यौं । शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि संविधानको धारा ७६ (६) को प्रक्रिया पूरा गर्‍यो । अब ७६ (७) मा जानु परेन । अब जाँदैन पनि ।

यो फेजबाट मुक्त भइसकेपछि एमालेसामु एकता प्रक्रियालाई सुदृढ गर्नु भन्दा अर्को मैले बाटो देखेको छैन । हामी सांसदहरू एकताको पक्षमा छौं, एकता विरोधी कोही हुनुहुन्न ।

बहुमत पुर्‍याउनुहुन्छ ?

बहुमतको कुरा मात्रै होइन, हेर्दै जानुहोला । अब छिटै दुई ध्रुवमा विभाजित हुने होइन, एमालेको एकल ध्रुव निर्माण बाहेक अर्को कुनै गतिविधि देख्नुहुन्न ।

फेरि पनि केपी ओली र माधव नेपालले मानेनन् भने ?

उहाँहरू दुई जनाले नमानेर हुन्छ र ? उहाँहरू आफैंले पठाएको पाँच/पाँच जना प्रतिनिधिले गरेको सहमति नमानेर हुन्छ ? उहाँहरूले मान्नुहुन्छ । एकताको पक्षमा अब स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरूमा पनि संख्या बढेर जान्छ । चाँडै केन्द्रीय कमिटीको बैठक बस्छ, सबै साथीहरू आउन थाल्नुहुन्छ ।

त्यसैले मान्ने र नमान्ने प्रश्नै हुँदैन । पार्टीभित्र त विवाद होला । वैचारिक बहस होला । महाधिवेशन केन्द्रित मुद्दाहरू आउलान् । तर हामीले वातावरण बिगार्ने, अर्कोलाई सराप्ने होइन । उत्तेजनातिर लिएर जाने गर्नुहुँदैन र गर्दैनौं ।

संसदीय दलमा एकताको पक्षमा सांसदहरूको बहुमत पुग्छ ?

मज्जाले पुग्छ । पुर्‍याउँछौं हामी । कसैलाई सिध्याउन, कसैलाई उठाउन र कसैलाई जिताउन प्रयोग गर्न लागेको भए पो ! दल विभाजन गर्न कोही पनि आयो भने त्यो हुन दिंदैनौं । माधव कमरेडको चाहना हो भने पनि हाम्रो कारणले दल विभाजन गरेर जान सक्नुहुन्न । केपी कमरेडले पनि सक्नुहुन्न । अरूले पनि सक्दैनन् । दल विभाजन गरेर हाम्रा कारणले औपचारिक मान्यता प्राप्त गर्ने ठाउँमा पुर्‍याउन दिंदैनौं । त्यो हामी गर्छौं, त्यो संख्या हामीसँग छ ।

अर्थात्, तपाईंहरूकै कारण एमाले विभाजन हुन सक्दैन ?

दिइँदैन । सांसद छोडेर कोही राजनीतिबाट संन्यास लिन्छु, एमालेमा बस्दिनँ भनेर जान्छ भने त केही भन्नु छैन । तर वैधानिकता प्राप्त गरेर म छुट्टएिर जान्छु भन्ने हो भने सांसदहरूको पनि हस्ताक्षर चाहिन्छ । यो चाहिं दिंदैनौं ।

यो पनि पढ्नुहोस ‘एमाले जोगाउन केपी–माधवसहित पहिलो पुस्ता विदा हुनुपर्ने अवस्था आउन सक्छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment