+
+

चुहिने छानामुनि क्षमताभन्दा दोब्बर कैदी

रामहरि ओझा रामहरि ओझा
२०७८ साउन १२ गते १८:१५

१२ साउन, डोटी । ‘राणा शासनको समयमा बनेको यो कारागार जीर्ण भइसकेको छ, चुहिएर हामी सुत्न पाउँदैनौं । पटक पटक हामीले सम्बन्धित निकायमा आग्रह ग¥यौं, तर कोही सन्दैन ।’

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी जब निरीक्षणका लागि डोटी जिल्ला कारागार पुगिन्, कैदीहरुले भने ‘छानो चुहिन्छ, राति सुत्न पाउँदैनौं, चुहिने छानो मर्मत गराइदिनुप¥यो ।’

कारागारका नाइके दीपेन्द्र जेठारा भन्छन् ‘हामीले सिलिङमा प्लाष्टिक लगाएका छौं, राति ठाउँठाउँमा भाँडा राखेर सुत्नुपर्छ ।’ उनले धेरै पानी परेको बेला चुहिएर भाँडा भरिएपछि राति पटक पटक फाल्नुपरेको सुनाए ।

कारागार शाखा प्रमुख लालबहादुर बोगटीले कारागारको भवन पुरानो जीर्ण भइसकेकोले नयाँ निर्माण गर्नुपर्ने माग राखे । उनले यस्तो भवनमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेका बताए ।

‘यस कारागारको क्षमता जम्मा २५ जनाको मात्र हो, यहाँ ५९ जना छन्’ बोगटीले भने ‘एउटै कोठामा १०/१२ जनालाई राख्नुपरेको छ ।’ उनले कारागारमा खानेपानीको पनि समस्या भएको बताए । उनी भन्छन् ‘ड्रममा पानी बोकेर कैदीबन्दीहरुलाई पानी पुर्‍याउन भाडामा गाडी लिनुपरेको छ ।’

कारागार प्रमुख बोगटीले कारागारको जमिन पनि थोरै भएकोले कारागारसंगै जोडिएको तर उपयोगहीन खाद्य संस्थानको जमिन र भवन कारागारले भोगचलन गर्न पाउने गरि हस्तान्तरणको लागि पहल गरिदिन हुन मन्त्रीलाई आग्रह गरे ।

मन्त्री भन्छिन्–कारागारको अवस्था देखेर सुत्न सकिनँ

कारागारको अवस्था देखेर आफूलाई पनि निकै चिन्ता लागेको मन्त्री जोशीले बताइन् । ‘कैलाली कारागारको निरीक्षणपछि म तिन/चार दिनसम्म सुत्न सकिनँ’ जोशीले भनिन् ‘आज डोटीको कारागार अनुगमन गर्दा पनि अवस्था उस्तै देखियो ।’

पुराना भौतिक संरचना भएका कारागारहरुमा रहेका कैदीहरुको ज्यान भौतिक संरचनाकै कारण असुरक्षित रहेको उनले बताइन् । मन्त्री जोशीले थपिन् ‘तत्कालै नयाँ संरचना बनाउछु त म भन्न सक्दिनँ तर चुहिने छानाको तत्काल मर्मतका लागि म पहल गर्छु ।’

कारागार शाखाको व्यवस्थापन पक्ष राम्रो रहेको भन्दै कारागार शाखा प्रमुख, सुरक्षा इकाई र कैदीबन्दीहरुलाई मन्त्री जोशीले धन्यवाद दिइन् । उनले कैदीबन्दीहरुलाई अनुशासित भएर बन्दी जीवन बिताउन समेत आग्रह गरिन् ।

प्रमाणसहित आए तत्काल कारवाही हुन्छ : मन्त्री जोशी

प्रदेश सरकारले योजना छनौट गर्दा कहीँकतै अनियमितता भएको भए तत्काल कारवाही हुने मन्त्री जोशीले बताइन् । ‘मैले पनि व्यापक रुपमा हल्ला सुनेको छु, तर प्रमाण कसैले पनि ल्याएका छैनन्’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री जोशीले सञ्चारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै भनिन् ‘यदि कसैले प्रमाण ल्याउँछ भन्ने तपाईंहरु सबैले थाहा पाउने गरी कारवाही हुन्छ ।’

अछामका तीन जनाले आफूहरुले कमिसन दिएको रसिद रहेको दावी गरेको उल्लेख गर्दै मन्त्री जोशीले भनिन्, ‘मैले उहाँहरुलाई प्रमाण उपलव्ध गराइदिन आग्रह गरेकी छु ।’ उनले यस्तो प्रमाण कतै डोटीमा पनि भए उपलब्ध गराइदिन आग्रह गरिन् । उनले स्रोत गोप्य राखिने समेत जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?