+
+

डोटीमा बरामद भएको चोरीको एक किलो सुन कहाँ गयो ?

प्रहरी भन्छ- बरामद सुन उजुरीकर्ताका प्रतिनिधिलाई बुझाइयो

रामहरि ओझा रामहरि ओझा
२०७८ भदौ १ गते १५:१४

१ भदौ, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले दिपायल–सिलगढी नगरपालिका–४ कुलपातेमा एक महिलाबाट १७ लाख ४७ हजार रुपैयाँ बरामद गर्‍यो । केआई सिंह गाउँपालिका–६ की ५८ वर्षीया काली भुलले लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त रकम बरामद गरेको प्रहरी बताउँछ ।

महिलासँग थप सोधपुछ गर्दा एक किलो एक सय ग्राम सुन घरमा लुकाएर राखेको खुल्न आयो । प्रहरीले रकम र सुन दुवै नियमानुसार मुचुल्का गरी कब्जामा लियो ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त सुन र नगद रुपैयाँको विषयमा चर्चा परिचर्चा भइरहेको छ । बरामद गरेको सुन र नगद प्रहरी आफैंले खाएको, पीडितले नपाएका गुनासा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका छन् । प्रहरीले उक्त रकम र सुन सम्बन्धित व्यक्तिलाई बुझाएको दाबी गर्दै आएको छ, तर कुन व्यक्तिलाई बुझाएको हो, नाम खुलाउन सकेको छैन ।

के हो घटना ?

आफ्नो घरमा राखिएको सुन र नगद गरी ८२ लाख भारतीय रुपैयाँ बराबरको चोरी भएको भन्दै भारतको मुम्बईका रवीन्द्र मुरलीधर इमान्दारले २०७७ असोज १८ (२०२० अक्टोबर ४) महाराष्ट्रको खण्डेश्वर थानमा किटानी जाहेरी दिए । उजुरीपछि इन्टरपोलमार्फत नेपाल प्रहरीलाई खोजतलासका लागि खबर प्राप्त भयो । सोही खबर डोटीका तत्कालीन प्रहरी प्रमुख जनकराज पाण्डेलाई आयो ।

प्रहरीले उक्त घटनाको विषयमा अनुसन्धान गरिरह्यो । २०७७ साल माघ १४ गते कालीले शरीरमा लुकाएर कैलालीको धनगढीतर्फ लैजाँदै गरेको उक्त रकम सुराकीका आधारमा प्रहरीले बरामद गर्‍यो । रकम बरामदपछि प्रहरीले कालीलाई सोधपुछ गर्दा उनले केआई सिंह गाउँपालिका–६ स्थित आफ्नै घरमा बेडमुनि सुन लुकाएर राखेको स्वीकार गरिन् । प्रहरीले घटनास्थल पुगेर एक सय ग्रामका ७ थान र दुई सय ग्रामका दुई थान गरी एक हजार एक सय ग्राम सुन बरामद गर्‍यो । बरामद गरेको सुन र नगद रुपैयाँ स्थानीय तहका जनप्रतिनिधि समेतको रोहवरमा सरजमिन मुचुल्का तयार गरी जिल्ला प्रहरी कार्यालय ल्याइयो ।

प्रहरीका अनुसार नियन्त्रमा लिइएको धातु सुन हो कि होइन भन्ने जाँच्नका लागि २०७७ फागुन २० गते सुनचाँदी व्यवसायी संघ, डोटीलाई परीक्षण गरिदिन पत्राचार गर्‍यो । सोही दिन सुनचाँदी व्यवसायी संघले उक्त धातु सुन भएको प्रमाणित गरी जिल्ला प्रहरी कार्यालय डोटीलाई पत्राचार गर्‍यो ।

जिल्ला प्रहरी कार्यालय डोटीले नोटका नम्बरहरु सहित मुचुल्का तयार गरी २०७७ फागुन २३ गते सुन र नगद प्रहरी प्रधान कार्यालयमा पठाएको देखिन्छ । उक्त रकम र सुन बुझाउन नायब उपरीक्षक इन्द्रबहादुर मल्ललाई फागुन २४ मा काजमा खटाएको पत्र प्रहरीसँग छ ।

प्रहरी नायब उपरीक्षक मल्लले सोही दिन प्रहरी नायब निरीक्षक रामबहादुर खत्री, प्रहरी सहायक निरीक्षक सागर लामिछाने र प्रहरी जवान अनुपकुमार मगरलाई साक्षी राखी प्रहरी प्रधान कार्यालयका लेखापाल प्रहरी नायब निरीक्षक रामचन्द्र बस्नेतलाई सुन र नगद हस्तान्तरण गरी भरपाई लिएको देखिएको छ । २६ गते मल्ल फिर्ता भएको देखिएको छ ।

बरामद भएको नगद र सुन प्रहरी प्रधान कार्यालयले भारतीय राजदूतावास मार्फत आएको उजुरीकर्ताको अधिकृत प्रतिनिधिलाई २०७७ चैत्र ८ गते बुझाएको प्रहरीको दाबी छ ।

विभिन्न सञ्चारमाध्यममा पीडितले नगद र सुन नपाएको भन्ने समाचार प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय डोटीले साउन ८ गते प्रहरी प्रधान कार्यालयलाई लिखित पत्राचार गरी थप सूचना माग गरेको देखिन्छ । प्रहरी प्रधान कार्यालयले पुनः भारतीय दूतावासमार्फत आएको उजुरीकर्ताको अधिकृत प्रतिनिधिलाई सामग्री बुझाइसकेको पत्र पठाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्ल बताउँछन् । तर प्रहरी प्रधान कार्यालयले नगद र सुन बुझ्ने व्यक्ति को हो भन्ने नखुलाएको मल्लले जानकारी दिए ।

‘हामीले बरामद गरेको सामान प्रधान कार्यालयमा बुझाएका छौं, हामीसँग त्यसको प्रमाण छ,’ मल्ल भन्छन्, ‘प्रधान कार्यालयले उक्त रकम सम्बन्धित व्यक्तिका आधिकारिक प्रतिनिधिलाई बुझाइसकेको जानकारी हामीलाई दिएको छ ।’ उनले कुन व्यक्तिले बुझ्यो भन्ने कुराको आफूलाई जानकारी नभएको बताए । सबै तथ्य सार्वजनिक हुँदाहुँदै पनि प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भइरहेको उनको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?