+
+

‘पुरातात्त्विक अध्ययन काठमाडौंमा केन्द्रित भयो’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते २०:२१

आधिकारिक इतिहासको खोजीमा पुरातत्त्वको महत्त्वपूर्ण योगदान छ । कुनै पनि क्षेत्रको इतिहास, सभ्यता र संस्कृतिको खोजीमा पुरातात्त्विको अध्ययनको विकल्प छैन । यही आवश्यकताले नेपालमा पनि २००९ सालमा पुरातत्त्व विभाग स्थापना भयो । त्यसपछि २०१३ सालमा प्राचीन स्मारक संरक्षण ऐन बन्यो । आवश्यकता अनुसार अरू पनि ऐन निर्माण गरेर पुरातत्त्व विभागलाई सबल बनाउँदै लगियो ।

तर झण्डै सात दशकको कालखण्डमा नेपालको पुरातात्विक अवस्था किन उठ्न सकेन ? पुरातत्त्व क्षेत्र पहिलेभन्दा किन खस्किंदै गएको छ ? लगायत सवालमा त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग प्रमुख प्रा. डा. मदनकुमार रिमालसँग अनलाइनखबर का लागि कमलदेव भट्टराईसुदर्शन अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

सामान्य अर्थमा पुरातत्त्व के हो र यसको के महत्त्व छ ?

सामान्यतः मान्छेको विगत अध्ययन गर्ने विधा हो, पुरातत्त्व । मानव पुर्खाले गरेको जीवनयापन, ढुंगे युगमा मान्छेको गतिविधि, सभ्यताको शुरुआत, लेखनकलाको विकास लगायत विषयको खोजी गर्ने काम पुरातत्त्व विधाले गर्छ ।

नेपालमा पुरातात्त्विवक खोजी कहिलेदेखि भयो ?

राणा शासनकालमा भारत लगायत विभिन्न मुलुकका विद्वान नेपाल आए । कर्कप्याटि्रक, हृयामिल्टन जस्ता विदेशीले नेपालको संस्कृति र इतिहासको अध्ययन गरेर पुस्तक प्रकाशन गरे । ती पुस्तकले पनि नेपाली इतिहास अध्ययनमा ठूलो योगदान गर्‍यो ।

विस्तारै भारतीय विद्वानहरूले नेपालमा लिच्छविकाल र मध्यकालका अभिलेख उतार्ने काम गरे । प्रजातन्त्र प्राप्तिपछिका चार दशकमा धेरै विद्वानले नेपाली पुरातत्त्वको विकासमा योगदान गरे । यसमा धनबज्र बज्राचार्य, नयराज पन्त, ज्ञानमणि नेपाल, जनकलाल शर्मा, सत्यमोहन जोशी, साफल्य अमात्य लगायतको योगदान ठूलो छ ।

२०१६ सालमा त्रिभुवन विश्वविद्यालयमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग स्थापना भयो । यसमा कोलम्बो प्लानबाट आएका गोकुलचन्द्र शास्त्रीको ठूलो योगदान छ । यसरी पुरातत्व विभागको नेतृत्व एवं केन्द्रीय विभागको सहयोगमा धेरै अध्ययनहरू भए ।

पुरातत्त्वले इतिहासको खोजी गर्ने प्रक्रिया के हो ?

पुरातत्त्व आफैंमा अनुसन्धान केन्दि्रत विषय हो । अनुसन्धानको पनि आ-आफ्नो क्षेत्र हुन्छ । पुरातात्त्विक खोजीको क्रममा सबभन्दा पहिले किंवदन्ती वा साहित्यिक स्रोतमा उल्लेख भएको ठाउँमा वैज्ञानिक विधिबाट अन्वेषण गरिन्छ ।

अन्वेषणको क्रममा त्यो ऐतिहासिक महत्त्वको क्षेत्र हो भन्ने यकिन भएपछि थप प्रमाणको लागि उत्खनन् गरिन्छ । पुरातत्त्व विभागले उत्खननबाट प्राप्त सामग्रीको संरक्षण, सम्वर्द्धन र व्याख्या गर्छ ।

पुरातत्त्व विभाग स्थापना भएको सात दशक र विभागले काम गरेको ६ दशक भयो । अन्य मुलुकको तुलनामा हाम्रो पुरातत्त्वको अवस्था कस्तो छ ?

अपशोचका साथ भन्नुपर्छ, यति लामो इतिहास हुँदा पनि हामीले यो क्षेत्रमा सोचे जस्तो प्रगति गर्न सकेनौं । यसमा यो र ऊ भन्दा पनि सबै पक्षको कमजोरी छ ।

पहिलो त हामी अनुसन्धानमै कमजोर छौं । अनुसन्धानमा धेरै पैसा खर्च हुन्छ, प्रतिफल ढिला आउँछ । हाम्रो सरकारले पुरातात्त्विक अध्ययनको लागि भरसक पैसा खर्च गर्दैन । खर्च नभएपछि दक्ष जनशक्ति उत्पादन गर्न सकिएन । सरकारले यो क्षेत्रलाई त्यति महत्त्व नदिंदा लामो इतिहास बोके पनि आशातीत प्रगति हुनसकेको छैन ।

पुरातत्त्व क्षेत्रमा सामान्य कामको लागि पनि विदेशीको मुख ताक्ने चलन छ । हाम्रो अवस्था त्यति कमजोर हो ?

हामी त्यति कमजोर पनि छैनौं जति बाहिरबाट देखिन्छ । पुरातत्त्व विभागले अध्ययनको क्रममा धेरैसँग समन्वय गर्नुपर्छ । पुरातात्त्विक सामग्रीको समय निर्धारणका लागि भूगर्भशास्त्र, मानवशास्त्र, जीवशास्त्र जस्ता विषयसँग समन्वय गर्नुपर्छ । जियोफिजिक्स सर्भे लगायतको अन्वेषणमा विदेशीसँग समन्वय गर्ने गरेका छौं ।

जियोफिजिक्स अन्वेषण गर्न जनशक्ति नभएको होइन, तर नेपालमा जियोफिजिक्स सर्भे खानी खन्ने लगायत काममा मात्रै प्रयोग गरिंदै आएको छ । पुरातत्त्वले खानी विभागसँग समन्वय गरेर नेपाली जनशक्तिबाटै जियोफिजिक्स सर्भे गराउन सक्छ, तर उहाँहरूले विदेशीसँग मिलेर कपिलवस्तु, पण्डितपुर लगायत क्षेत्रमा सर्भे गराउनुभएको छ ।

विदेशीसँग गुहार माग्ने नमाग्ने त पुरातत्त्व विभागकै कुरा हो । मैले भन्न सक्ने यति हो कि त्रिविसँग पुरातात्त्विक अन्वेषण मात्र होइन, उत्खनन नै गर्नुपरे पनि जनशक्ति छ ।

उत्खनन्, अन्वेषणमा विदेशीलाई सहभागी गराउँदाको लाभ/हानि के हो ?

काम नजान्दासम्म जान्नेसँग सिक्नु स्वाभाविक हो । विदेशीले गर्छ भनेर आफूले त्यसको अभ्यास नै नगर्नु चाहिं गलत हो ।

एकपटक पुरातत्त्व सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा गएका नेपाली प्रतिनिधिहरूलाई नेपालकै दाङमा भेटिएको सामग्रीबारे प्रस्तुतीकरण दिएर पठाएछन् । त्यो त हामीले पत्ता लगाएर उनीहरूलाई प्रस्तुति दिनुपर्ने होइन र ? सरकारले यो क्षेत्रलाई उपेक्षा नगर्ने हो भने त्यसो गर्न सकिन्छ ।

विदेशीले पनि सित्तैंमा नेपाल आएर काम गरिदिंदैनन् । उनीहरूलाई पनि पैसा त दिनैपर्छ । कति अध्ययन विदेशीकै लगानीमा भएको छ । जस्तो- कपिलवस्तुमा जापानले लगानी गरेको हो । त्यहाँ एकजना व्यवसायीले पनि सहयोग गरेका थिए । यसरी हामीलाई कतिपय विदेशीले आर्थिक सहयोग पनि गरेका छन् ।

कतिपय अवस्थामा विशेषज्ञ सेवाको लागि विदेशी बोलाउनुपर्ने हुन सक्छ । त्यसो भन्दैमा आफू केही पनि नगरेर विदेशीको मुख ताक्नु हुन्न भन्ने मेरो मान्यता हो ।

नेपाल सरकारले धेरै क्षेत्रमा लगानी गरेको छ । अन्वेषण, उत्खननको शीर्षकमा पनि त्यस्तै लगानी गरे पुरातत्त्वमा नेपालले विदेशीको मुख ताक्ने अवस्था रहँदैन ।

पुरातात्त्विक प्रयोगशालालाई अहिले बन्द गरेर राखिएको छ । परीक्षण गर्नुपर्ने सामग्री चाहिं विदेश पठाइन्छ । यस्तो अवस्था किन ?

सबैखाले सम्पदाको संरक्षण, सम्वर्द्धन गर्न भनेर पाटनमा त्यो ल्याब खुलेको हो । त्यसबाट राम्रो काम पनि भइरहेको थियो । तर त्यसलाई ‘फलो’ गर्ने अर्काे पुस्ता भएन । लगानी र दक्ष जनशक्ति नहुँदा त्यसले समस्या भोग्नुपरेको हो ।

मिति निर्धारण लगायत प्रयोजनको लागि विदेश लगिएका पुरातात्त्विक सामग्री र ज्ञान उतै लुप्त हुने सम्भावना कति हुन्छ ?

विदेश पठाइएका पुरातात्त्विक सामग्री उतै लुप्त हुन्छन् भन्ने मलाई लाग्दैन । ज्ञानको सवालमा भने जति बाँड्यो नेपालको लागि त्यति नै फाइदा हुन्छ । जहाँसम्म मिति निर्धारण गर्ने सामग्रीको कुरा छ, त्यो पुरातत्त्व विभागका अधिकारीहरूको समन्वयमा लगेर फर्काइन्छ । विदेशमै हराउने कुरा हुँदैन ।

२०७२ को महाभूकम्पले धेरै मन्दिर भत्किँदा मूर्ति चोरीको घटना धेरै भए भनिन्छ नि ?

यसबारे अध्ययन भएको मलाई थाहा छैन । त्यसभन्दा अघि हराएका मूर्तिहरू पहिचान गरेर स्वर्गीय लैनसिंह बाङ्देलले पुस्तक नै निकाल्नुभएको थियो । उहाँको ‘स्टोलन इमेजेज् अफ् नेपाल’ र केही विदेशीले खिचेका तस्वीरको आधारमा धेरै मूर्ति फर्काइएका छन् । फर्काउन बाँकी मूर्ति पनि विदेशमा अहिले सुरक्षित छन् ।

पञ्चायतकालमा धेरै मूर्ति चोरी भएर विभिन्न मुलुकका संग्रहालय पुगे । यो सवालमा ग्रीक, इजिप्ट जस्ता पुरानो सभ्यता भएका मुलुक झन् पीडित छन् ।

पुरातत्त्व क्षेत्रलाई अघि बढाउन नेपाल सरकारले गर्नुपर्ने महत्त्वपूर्ण काम के-के हुन् ?

सबभन्दा राम्रो उपाय, संघीयतामा गएको नेपालमा स्थानीय तहसम्म पुरातत्त्व विभागको शाखा विस्तार गर्न सके पुरातात्त्विक विकासमा ठूलो योगदान पुग्छ । अहिले गाउँगाउँमा रहेको पुरातात्त्विक सामग्री ज्ञानको अभावमा नष्ट हुँदैछन् । केन्द्रमा रहेको पुरातत्त्व विभागले सबैतिर हेर्न भ्याएको छैन ।

उता स्थानीय तहहरूले सम्पदा संरक्षणमा बजेट राखेर पनि के गर्ने भन्ने नै थाहा नभएर पर्खाल लगाएर बजेट सक्नुपर्ने अवस्था छ । स्थानीय तहमा संयन्त्र विकास गरियो भने गाउँगाउँसम्म संरक्षणको चेतना पुर्‍याउन सहयोग मिल्छ । भारतमा ‘भिलेज टु भिलेज सर्भे’ गरेर गाउँगाउँमा पुरातात्त्विवक वस्तुको संरक्षण गरेको उदाहरणबाट हामीले धेरै सिक्न सक्छौं ।

नेपालको पुरातात्त्विवक अध्ययन-अन्वेषण काठमाडौं, लुम्बिनी र कपिलवस्तुमा मात्र केन्द्रित छ । अझ धेरै त काठमाडौंमा नै केन्द्रित छ भन्न सकिन्छ । अब पूरै नेपाललाई यसले कार्यक्षेत्र बनाउनुपर्छ ।

अहिले नेपालको पुरातात्त्विक अध्ययनको समग्र अवस्था कस्तो छ ?

हामी काठमाडौंबाट बाहिर निस्कन सकेकै छैनौं । नेपाल भनेकै काठमाडौं मानेर अध्ययन भइरहेको छ । अनुसन्धान गर्ने मान्छेले पनि सुविधा खोज्दो रहेछ । त्यसैले, पहिले पनि काठमाडौं उपत्यका भित्रै धेरै अध्ययन भए ।

केही विद्वान दोलखा र नुवाकोटसम्म पुगे, तर काठमाडौंको जसरी अध्ययन हुन सकेन । अध्ययन त काठमाडौंको जस्तै सबैतिर हुनुपर्छ ।

एकाध अध्ययन नभएका हैनन् । जनकलाल शर्मा, देवीप्रसाद लम्साल लगायतले २०१६ सालमा मिथिला क्षेत्रमा केही अध्ययन गर्नुभयो । त्यसपछि एकैपटक २०४२ सालमा मैले शोधको लागि मिथिला क्षेत्रको अध्ययन गरें ।

मिथिलाको खेतमा ९औंदेखि १३औं शताब्दीका मूर्तिहरू पाइएका छन् । त्यसमा थप अध्ययन हुन सकिरहेको छैन । हामीले काठमाडौं बाहिर त केही खोजेकै छैनौं भन्दा हुन्छ ।

अब नेपालको इतिहास भनेर काठमाडौंको इतिहासमा मात्रै सीमित भएर सुख पाइन्न । अब भोजपुर जानुपर्छ, दार्चुला जानुपर्छ । हिमालदेखि तराईसम्म सबै भूभागको अध्ययन गरेर सबैलाई नेपालको इतिहासभित्र समेट्नुपर्छ । लामो इतिहास बोकेको मुन्धुमको होस् या अन्य क्षेत्रको मूर्त-अमूर्त सम्पदाको खोजीमा, हामी निकै पछाडि परिसकेका छौं ।

काठमाडौंमा यति धेरै केन्द्रित हुँदा पनि अध्ययनमा यति कमजोर भयौं कि अहिलेसम्म कैलाशकूट, भद्राधिवास, मानगृह भेटिएनन् । खोज्न भनेर सरकारले बनाएको समिति त्यसै निष्क्रिय भयो ।

सरकार र पुरातत्त्व विभागलाई के सुझाव दिनुहुन्छ ?

सबैभन्दा पहिलो कुरा त पुरातत्त्व विभाग आफ्नो मुख्य धर्म अध्ययन-अनुसन्धानबाट पछि हट्नु भएन । सरकारले यसमा सहयोग गर्नुपर्छ । एउटा ‘रिसर्च विङ’ खोल्ने काम अहिलेसम्म हुनसकेको छैन ।

विदेशतिर बाह्रै महीना कतै अन्वेषण त कतै उत्खनन भइरहेको हुन्छ । हामी भने एउटा सिजनमा बढीमा तीन महीना उत्खनन गरेर बाँकी समय सानातिना काममा अल्झिन्छौं । हामी त्यसमा पनि सक्रिय भएनौं ।

अरू क्षेत्रले कति प्रगति गरिसक्यो, पुरातत्त्व क्षेत्र भने समय अनुसार चल्न सकेन । जसका कारण यसलाई बेवास्ता गर्नेहरू बढे । अब यसको महत्त्व विद्यालय तहबाटै बुझाउन थाल्नुपर्छ । पुरातत्त्वको काम के हो ? भनेर सोध्ने हो भने धेरैले खन्ने र मन्दिर संरक्षण गर्ने हो भन्छन् । यो हामीले बुझाउन नसकेको परिणाम हो ।

अर्काे, समन्वय नै नगर्ने कमजोरी सुधार्नुपर्छ । पुरातत्त्व विभागले पास गर्‍यो, सरकारले धरहरा बनायो, तर त्यही पुरातत्त्व पढाउने हाम्रो विभागलाई केही जानकारी दिइएन । के अध्ययन भयो, कस्तो सामग्री प्रयोग गरियो ? जस्ता विषयमा ‘एकेडेमिक इन्ष्िटच्युसन’लाई जानकारी हुनुपर्ने हो नि ? तर भएन । यो समस्या सुधार गर्नुपर्नेछ ।

हामीसँग मूर्त र अमूर्त दुई किसिमका सम्पदा छन् । पश्चिम नेपालका हरेक गाउँमा एउटा न एउटा समुदायले मान्ने चाडपर्वले आफ्नै इतिहास बोकेको छ । त्यो खोजी गर्नुपर्ने भएको छ ।

पुरातत्त्व विभागले उत्खनन गरेका धेरै ठाउँको रिपोर्ट सार्वजनिक हुनसकेको छैन । त्यसलाई पूर्णता दिनुपर्नेछ । यस्ता कमजोरी सुधारेर अघि बढ्न सके नेपाली पुरातत्त्व क्षेत्रले फड्को मार्छ भन्ने विश्वास छ ।

तस्वीर/भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?