+
+

एमाले : मदन भण्डारीले जोडे, अरुले जोगाउन सकेनन्

सइन्द्र राई सइन्द्र राई
२०७८ भदौ ७ गते २२:३८

७ भदौ, काठमाडौं । चमत्कार भन्नलायक कुनै परिघटना नभए प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले)को विभाजनले ९ भदौमा वैधानिकता पाउनेछ ।

एमालेबाट अलग भएर बनेको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोगले सनाखतका निम्ति बुधबार बोलाएको छ । र, २० प्रतिशत केन्द्रीय सदस्य पुगे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले विभाजन गर्दै २ भदौमा नयाँ दल दर्ता गरेको पार्टीले वैधानिकता पाउनेछ ।

यो विभाजन रोक्न लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर हाल नयाँ पार्टी गठनमा सहभागी नभएका सात पदाधिकारीसहित स्थायी कमिटीका नौ सदस्य प्रयासरत छन् ।

नयाँ दल दर्ता गराउन नेता माधव नेपाललाई साथ नदिएका उपमहासचिव घनश्याम भुसालसहित तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल), तीन सचिव (गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई) र स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त एमाले जोगाउन दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

पाँचवर्षे जनादेश पाएर पनि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानले नदिएको अधिकार प्रयोगमार्फत संसद भंग गर्नतिर लागे । त्यही कदमका कारण सत्ताबाट ओलीको बहिर्गमनसँगै एमाले विभाजित हुन लागेको छ ।

२७ असारको १० बुँदे कार्यान्वयन, माधव नेपाल सहित १४ जनालाई गरिएको कारबाही र नयाँ दल दर्ता प्रक्रिया रोक्दा एमाले एकता जोगिने नेताहरूको तर्क छ ।

तर नेता नेपाल नयाँ पार्टी बनाउने प्रक्रियामा रोकिएका छैनन् । सोमबार भएको भेटमा अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न सैद्धान्तिक रुपमा सहमत भएका छन् । तर माधव नेपाल विनाको एकता संस्थापन पक्षको चाहना हो । उनले यही भदौ अन्तिम साता विधान महाधिवेशन र मंसिरमा दशौं महाधिवेशन गर्ने कार्यतालिका सहितको गतिविधि रोकेका छैनन् ।

माधव नेपाल पनि गत ४–५ चैतको राष्ट्रिय कार्यकर्ता भेलाबाट बनेको प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन र प्रवासको समानान्तर कमिटीलाई नयाँ पार्टीको रुप दिनेतिर लागेका छन् । नेपालनिकट नेता जगन्नाथ खतिवडा बाध्यतावश आइपरेको ‘एमाले पुनर्गठन’ प्रक्रियाबाट पछाडि हट्न सकिने स्थिति अब नरहेको बताउँछन् ।

ओली निकट नेताहरुले भने १० बुँदे कार्यान्वयन भइसकेकाले विभाजनको औचित्य नरहेको बताउने गरेका छन् । ‘दशबुँदे कार्यान्वयन भइसकेपछि राजनीतिक एजेण्डा त बाँकी देखिएन,’ एमाले प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘उहाँ (माधव नेपाल)लाई प्रशासनिक पद चाहिएको रहेछ ।’

दुई पक्षका गतिविधि र त्यसको बचाउमा आइरहेका भनाइहरुले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमपछि राजनीतिक रुपमा विभाजित एमाले ९ भदौमा वैधानिक रुपमा अलग हुने देखाउँछ । त्यसदिनदेखि अध्यक्ष ओलीले संसदमा दुईतिहाइ नजिकको जनमत पाएर पनि प्रधानमन्त्रीबाट पदच्यूत भएको र उनको नेतृत्वमा एमाले एकताबद्ध रहन नसकेको दोष खेप्नुपर्नेछ । ‘त्यसैले एकता जोगाउनकै लागि पार्टी निर्णय उल्लङ्घन गर्नेहरुलाई पटकपटक माफी दिइएको थियो,’ ओली निकट एक नेता भन्छन् ।

यो पटकको विभाजन भने यसअघि जस्तो दुई टुक्रामा मात्र सीमित रहने देखिन्न । उपाध्यक्ष वामदेव गौतमले गत १४ माघबाट आफ्नै नेतृत्वमा ‘राष्ट्रिय एकता अभियान’ नामक संरचना चलाइरहेका छन् । माधव नेपाललाई साथ दिँदै आए पनि बीचमा ‘पार्टी एकता जोगाउन’ तटस्थ बसेका नेताहरूले ९ भदौपछि कस्तो निर्णय लिन्छन् भन्ने प्रष्ट छैन । अर्थात् ७५३ मध्ये २९४ स्थानीय तह, सातमध्ये ६ प्रदेश र संघीय संसद (२७५ सदस्यीय प्रतिनिधिसभामा १२१ र ५९ सदस्यीय राष्ट्रियसभामा ३४ सिट रहेको) को पहिलो दल एमाले पार्टी जीवनको सबभन्दा ठूलो संकटमा देखिएको छ ।

ओलीले पछ्याएको बाटो

२०५४ सालमा भएको पार्टी विभाजनका कारण संसदको पहिलो दल हुन २० वर्ष कुर्नुपरेको एमालेमा अबको फुटले असर नपार्ने अध्यक्ष ओलीले बताउने गरेका छन् ।

पछिल्लो पटक ३ भदौमा भक्तपुरमा आयोजित सभामा उनले एमाले विभाजन नभएर केही नेता बाहिरिएको र आगामी चुनावमा पनि एमालेले बहुमत ल्याउने बताए । विगतमा भने विभाजनपछि कुनै पनि चुनावमा पहिलो दल समेत बन्न नसकेको तथ्य छ । बरू, माधवकुमार नेपाल र झलनाथ खनाल जस्तै ओलीले नेतृत्व गर्दा पनि एमाले विभाजित हुन पुगेको छ । विभाजनको असर कति ठूलो हुन्छ भन्ने चाहिं आउने चुनावको परिणामले देखाउनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली

तर एकताबाट शक्ति आर्जन गर्ने मदन भण्डारीको पथमा नभएर खनाल, नेपाल, वामदेव गौतम, सीपी मैनाली, अशोक राईहरुकै बाटोमा ओली पनि हिंडेका छन् । गौतम, मैनालीहरुले २०५४ मा एमाले विभाजन गर्दा पार्टी नेतृत्वमा माधव नेपाल थिए । त्यो विभाजन तत्कालीन पार्टी महासचिवका रपमा नेपालले रोक्न सकेनन् । जसको परिणाम संसद र राष्ट्रिय राजनीतिमा देखियो ।

२०५१ मा ८८ सिटसहित पहिलो दल बनेर नौ महिना सरकार चलाएको एमाले २०५६ मा ७१ सिटमा खुम्चिँदै दोस्रो दल बन्यो । मत परिणामले पनि विभाजनको असर पुष्टि हुन्छ । २०५१ मा २३ लाख ५२ हजार मत (लोकप्रिय मत) ल्याएको एमालेले २०५६ मा २७ लाख २८ हजार मत पायो । नेपाली कांग्रेसले ३२ लाख १४ हजार मत सहित १११ सिट जित्यो ।

एमालेबाट विभाजित भएर बनेको मालेले ५ लाख ६७ हजार लोकप्रिय मत पायो, तर एक सिट पनि जित्न सकेन । एमालेलाई हराउन चाहिं राम्रो भूमिका खेल्यो । एमाले र मालेले ल्याएको मत जोड्दा भने कांग्रेसको भन्दा धेरै हुन्छ ।

त्यो विभाजनको असर २०६४ को निर्वाचनमा पनि देखियो । २०५८ मा वामदेव गौतम नेतृत्वको माले एमालेमा एकीकृत भयो । तर सीपी मैनालीले मालेको नेतृत्व गरेर अलग पार्टी कायमै राखे । २०६४ को चुनावमा माओवादी अत्याधिक मतसहित पहिलो शक्ति बन्दा एमाले तेस्रो दलमा खुम्चिनु परेको थियो ।

त्यसबेला कांग्रेसले २३ लाख ४८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख २९ हजार पायो । मैनालीले नेतृत्व गरेको मालेले दुई लाख ४३ हजार मत पाएको थियो ।

चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर माधव नेपालले महासचिवबाट राजीनामा दिएपछि झलनाथ खनाल एमाले नेतृत्वमा आए । खनालले नेतृत्व गरिरहँदा फेरि एमाले विभाजन भयो । २०५४ जस्तो ठूलो विभाजन नभए पनि २०६९ मा अशोक राईसहित जनजाति नेताहरुले एमाले परित्याग गरेको असर निर्वाचनमा देखियो नै ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसलाई पछ्याउने दोस्रो शक्ति बन्यो, एमाले । कांग्रेसले २४ लाख १८ हजार लोकप्रिय मत पाउँदा एमालेले २२ लाख ३९ हजार मात्र पायो । जबकि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले एक लाख २१ हजार र सीपी मैनाली नेतृत्वको मालेले एक लाख ३० हजार मत ल्यायो ।

प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

२०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि एमालेले विभाजन बेहोरेको थिएन, बरू माओवादीसँग गठबन्धन गर्‍यो । गठबन्धनको लाभ दुवै दलले पाए । यो चुनावमा लोकप्रिय मततर्फ कांग्रेसभन्दा एमालेले ४५ हजार मात्रै बढी पाएको थियो । एमालेले ३१ लाख ७३ हजार र कांग्रेसले ३१ लाख २८ हजार मत पायो । तर माओवादीसँगको गठबन्धनका कारण प्रतिनिधिसभामा एमालेले १२१ सिट जित्यो भने कांग्रेस ६३ सिटमा खुम्चियो । १३ लाख लोकप्रिय मत पाएको माओवादीले ५३ सिट जितेर कांग्रेसकै हाराहारी हैसियत बनायो ।

पाँचौं महाधिवेशन (१४–२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदनको बुँदा आठमा ‘वामपन्थी एकता र पार्टी एकीकरण’बारे व्याख्या छ । भण्डारीपछि एमालेको नेतृत्वमा आएकाहरुले यो व्याख्यामा उति ध्यान दिएनन् । परिणामस्वरुप बुधबार अर्थात् ९ भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले ।

‘पार्टी विभाजन भनेपछि जनताले जित्दैन भन्ने अनुमान गर्छन्, तर एकता भन्नासाथ उत्साहित हुन्छन् । फुटेर कहिल्यै पार्टी र आन्दोलन अगाडि बढेको छैन,’ एमाले केन्द्रीय सदस्य निरज आचार्य भन्छन्, ‘२०४८ यताका हरेक निर्वाचनको मतपरिणामबाट त्यो पुष्टि हुन्छ ।’

मदनको त्यो नेतृत्व

सामथ्र्य र सुविधाका हिसाबले २०७४ सालको मत परिणाम एमाले पार्टी जीवनकै स्वर्णिम थियो । तीनै तहमा पहिलो शक्ति मात्रै होइन, माओवादीसँग एकता गरेकाले संविधान कार्यान्वयन गर्दै मुलुक निर्माणकै नेतृत्व गर्ने अवसर विशेषगरी अध्यक्ष ओलीले पाएका थिए । उनले त्यो अवसरको उपयोग भने गरेनन् ।

बरू पाँचवर्षे जनादेश पाएर पनि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानले नदिएको अधिकार प्रयोगमार्फत संसद भंग गर्नतिर लागे । त्यही कदमका कारण सत्ताबाट ओलीको बहिर्गमनसँगै एमाले विभाजित हुन लागेको छ ।

यो विभाजनले मदन भण्डारी बाहेक अन्य नेताको नेतृत्वमा पार्टी एकता नजोगिएको तथ्य पनि स्थापित हुनेछ । चौथो महाधिवेशन (९–१४ भदौ २०४६) बाट तत्कालीन मालेका महासचिव निर्वाचित भण्डारीले भने पार्टीको सांगठानिक, राजनीतिक र सैद्धान्तिक मार्गचित्र कोरेका थिए । महासचिव बनेपछि उनले पञ्चायती निरंकुशताको अन्त्य गर्न वाम मोर्चा निर्माण र कांग्रेससँग कार्यगत एकताको नीति लिएका थिए ।

नभन्दै वाम–प्रजातान्त्रिक शक्तिको संयुक्त आन्दोलनबाट बहुदलीय व्यवस्था पुनर्स्थापना भयो । त्यसलगत्तै माले र मार्क्सवादीबीच एकता भएर नेकपा (एमाले) बन्यो । ‘मालेका युवाहरुको जोश र मार्क्सवादीका नेताहरुको अनुभवले पार्टीमा उर्जा ल्याएको थियो,’ पुराना नेता बेदुराम भुसाल सम्झन्छन् ।

एकीकृत पार्टीले २०४८ को निर्वाचनमा शानदार नतिजा ल्यायो । २०१५ को निर्वाचनमा १०९ सिटमध्ये ७४ सिट जितेको कांग्रेसले २०४८ मा २०५ मध्ये ११० सिट जित्यो । २०१५ को चुनावमा नेपाल कम्युनिष्ट पार्टीले जम्मा चार सिट जितेको थियो । २०४८ को निर्वाचनमा ६९ सिट जितेको एमाले सशक्त प्रतिपक्ष बन्यो ।

लोकप्रियतर्फ २०४८ मा कांग्रेसले २७ लाख ४२ हजार मत ल्याउँदा एमालेले २० लाख ४० हजार ल्यायो । जबकि २०१५ मा कांग्रेसले ६ लाख ६६ हजार मत पाउँदा कम्युनिष्टले एक लाख २९ हजार मात्र पाएको थियो ।

पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज)को कार्यक्रम ल्याएर पार्टीलाई सैद्धान्तिक रुपमा प्रष्टता दिएका भण्डारीले संगठनलाई थप मजबुत बनाउन वाम एकतालाई जोड दिएका थिए । तर २०५० जेठमा महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा मृत्यु भयो । उनको निधनपछि २०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो दल बन्यो । केही वर्ष अगाडि जुटेको एमाले त्यो चुनावमा एकताबद्ध थियो ।

२०४८ र २०५१ को निर्वाचनमा एमालेले शानदार नतिजा ल्याउनुको पछाडि प्रष्ट सैद्वान्तिक कार्यदिशा र एकताबद्ध संगठनले काम गर्‍यो । पाँचौं महाधिवेशन (१४–२० माघ २०४९) मा प्रस्तुत राजनीतिक प्रतिवेदन (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद) मार्फत भण्डारीले राजनीतिक र सांगठानिक सफलताका निम्ति वामपन्थी एकता र एकीकरणमा जोड दिएका थिए । उक्त प्रतिवेदनको बुँदा आठमा ‘वामपन्थी एकता र पार्टी एकीकरण’बारे व्याख्या छ ।

भण्डारीपछि एमालेको नेतृत्वमा आएकाहरुले यो व्याख्यामा उति ध्यान दिएनन् । परिणामस्वरुप बुधबार अर्थात् ९ भदौमा आफ्नो पार्टी जीवनमा सबभन्दा बढी अंगभंग हुनेछ नेकपा एमाले ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?