+
+

बुटिक एयरपोर्टका नाममा त्रिभुवन विमानस्थलमा अपारदर्शी खर्च

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ ८ गते १०:०९

८ भदौ, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार काठमाडौंको त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलका रुपमा परिणत गर्ने भनी शुरु भएको कार्यक्रममा अपारदर्शी खर्च भएको पाइएको छ ।

कुल ७ करोड ३५ लाख रुपैयाँ बजेटसहितको कार्यविधि २०७५ साल फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट पास भएको थियो । यो बेला पर्यटन मन्त्रीको जिम्मेवारीमा स्वयं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

महालेखा परीक्षकको कार्यालयले बुटिक एयरपोर्टका लागि भएका खर्च अपारदर्शी भएको भन्दै छानबिनको आवश्यकता औंल्याएको छ । महालेखाले भनेको छ, ‘हालसम्म बुटिक एयरपोर्टसँग सम्बन्धित खर्चको एकीकृत विवरण तयार नगरेको र ती सामान भौतिक रुपमा समेत पहिचान गर्न सकिने अवस्था नरहेबाट बुटिक एयरपोर्टका लागि भएका खर्च पारदर्शी देखिएनन् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुटिक एयरपोर्टका नाममा बगैंचा निर्माणको काम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर सिलिकन पेन्टिङको काम भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको ब्यागेज लिने क्षेत्रमा कलात्मक मूर्ति राख्ने काम भएको छ । अन्तर्राष्ट्रिय आगमन तर्फ एप्रोन नजिकै बुद्धको धातुको ठूलो मूर्ति राखिएको छ ।

प्राधिकरणका अनुसार टर्मिनल भवनको पुनरुद्धारको काम जारी छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर पुनरुद्धारको कामलाई समेत यसै कार्यक्रममा राखेर कार्यान्वयन गरिएको हो । अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर क्यानोपी बनाउने काम जारी छ । यसलाई समेत प्राधिकरणले बुटिक विमानस्थल बनाउने कार्यक्रमकै हिस्सा मानेको छ ।

गोल्डेन गेट नजिकको भवन सम्झौता विपरीत निर्माण

त्रिभुवन विमानस्थलको गोल्डेन गेट नजिकै अहिले व्यापारिक भवन निर्माण भएर सन्चालनमा आएको छ । ५१ रोपनी जग्गामा व्यावसायिक भवन बनाउन सरकारले निजी व्यवसायीसँग सम्झौता गर्न २०६७ सालमा प्राधिकरणलाई अनुमति दिएको थियो ।

निर्माण व्यवसायीले सम्झौतामा उल्लेख नै नभएको भूमिगत पार्किङ निर्माण गरेको पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार भवनको उचाइ समेत सम्झौता विपरीत बढी बनाइएको छ । यसले हवाई सुरक्षामै असर पुग्ने भन्दै यस सम्बन्धमा कारबाही गर्न महालेखाले ध्यानाकर्षण गराएको छ ।

स्वीकृत डिजाइन अनुसार यो भवनको उचाइ ३७ फिट हुनुपर्ने थियो । तर, व्यवसायीले ५२ फिट उचाइको भवन बनाएर व्यापार शुरु गरिसकेको छ । निजी व्यवसायीले यो जग्गा उपयोग गरेवापत प्राधिकरणलाई वार्षिक ७८ लाख रुपैयाँ जग्गा भाडा दिने गरी सम्झौता भएको छ । सो अनुसार कम्पनीले ७ करोड १५ लाख रुपैयाँ प्राधिकरणलाई बुझाइसक्नुपर्नेमा त्यो रकम समेत प्राप्त नभएको पाइएको छ ।

अनावश्यक उपकरण किन्दै-थन्क्याउँदै

त्रिभुवन विमानस्थल कार्यालयमा आवश्यक नभएका उपकरण किन्दै-थन्क्याउँदै गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार विमानस्थल कार्यालयले २०७२ सालमा ५ करोड ९ लाख रुपैयाँ बराबरको कंक्रिट कटर खरीद गरेको थियो । यो उपकरण अहिलेसम्म पनि प्रयोगमा नआई थन्किएको पाइएको छ । यसबाट ठूलो रकम खेर जाने देखिएको छ ।

धावनमार्गको छेउँमा उम्रने घाँस काट्न १ करोड ४० लाख रुपैयाँ खर्च गरेर किनिएको ग्रास कटर मेसिन समेत उपयोगमा नल्याई थन्किएको छ ।

यस वर्ष त्रिभुवन विमानस्थल कार्यालयमा जडान भएको १ करोड ८९ लाखको ‘पेरिफेरी लाइटिङ’ धावनमार्गको नजिकै रहेको र यसले जहाज अवतरण गराउने बेला चालकलाई समस्या हुने गरेको गुनासो आएको छ । सोहीकारण यो लाइटको उपयोग अब हुने छैन । जडान भइसकेको लाइट हटाउँदा सोमा खर्च भएको करीव २ करोड रुपैयाँ समेत खेर गएको छ ।

पर्याप्त विश्लेषण नगरी हचुवाको भरमा उपकरण किन्ने सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउन समेत महालेखाले सुझाव दिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?