+
+

रोगको डरलाग्दो निहुँ बन्दैछ ऐश-आरामको जीवन

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ भदौ १० गते १३:४४

प्रविधिको धेरै र अव्यवस्थित प्रयोगले मान्छेको शारीरिक स्वास्थ्यमा भने नकारात्मक असर देखिन थालेको छ । कार्यालयमा बस्ने तरिका, मोटरसाइकल र कारमा यात्रा गर्ने तरिका र नियमित शारीरिक अभ्यास नहुँदा मान्छेमा दीर्घ रोग लाग्ने जोखिम पनि बढिरहेको छ ।

यही विषयमा खराब जीवनशैलीले पछिल्लो समय निम्त्याएको असरका बारेमा हामीले अकुपन्चरिस्ट सुदर्शन बस्नेतलाई केही प्रश्न गरेका छौं ।

अहिले जीवनशैलीसँग सम्बन्धित रोगहरु के–के देखिएका छन् ?

पछिल्लो समयको अव्यवस्थित जीवनशैलीका कारण विभिन्न खाले दीर्घ रोगको धेरैको साझा समस्या भइसकेको छ । खराब जीवनशैलीले मुटु, किड्नी र मधुमेहको समस्या निम्तिन्छ भन्ने आम मान्छेको बुझाइ हो ।

तर पछिल्लो समय खराब जीवनशैलीका कारण यी रोगसँगै हाडजोर्नी र नशासँग सम्बन्धित समस्या पनि देखिन थालेका छन् । कम्मर र गर्धनको समस्या उस्तै अवस्थामा पुगिसकेको छ । तर यसलाई धेरैले गम्भीर रुपले लिएका छैनन् । यसको कारण हो यसले प्रत्यक्ष नभएर अप्रत्यक्ष बढी प्रभाव पारिरहेको हुन्छ । तर खराब जीवनशैलीका कारण हाडजोर्नीमा देखिने समस्याको जोखिम पनि उस्तै डरलाग्दो अवस्थामा छ ।

कुन उमेर समूह र भेगका मान्छे खराब जीवनशैलीका कारण पीडित छन् ?

उमेर समूह अनुसार बढीजसो २५ वर्षदेखि ४५ वर्षका मोटरसाइकल चलाउने र धेरै कुर्सीमा बस्ने मान्छेहरुमा हाडजोर्नी र नशासम्बन्धी समस्या बढी हुने गर्छ । यो सामान्यतया धेरै मान्छेलाई कम्मर र हार्डजोर्नीको समस्या धेरै देखिने उमेर पनि हो ।

तर अहिले अपवाद के आएको छ भने १५ देखि २५ सम्म उमेर समूहमा पनि यो समस्या धेरै देखिन थालेको छ । धेरै मोबाइल चलाउनेहरुको गर्धनमा समेत समस्या देखिन थालेको छ ।

भेगको कुरा गर्दा ग्रामीण भेगमा साधारणतया मान्छेहरु नियमित काममा पनि सक्रिय रहने हुँदा उनीहरुमा यस्ता समस्या कम हुन्छ ।

शहरी भेगमा शारीरिक अभ्यास हुँदैन । त्यसैले उनीहरुमा यस्तो समस्या धेरै छ । अनुपातमा हेर्दा शहरी भेगका ७० प्रतिशत र ग्रामीण भेगका ३० प्रतिशत मान्छेमा यस्तो समस्या सिर्जना हुन्छ ।

खानपान हिँडाइ, बसाइ, कपडा आदिको उचित प्रयोग नगर्दा के कस्ता समस्याहरु देख्ने गरेको पाइन्छ ?

यस विषयमा पनि आम मान्छेले बुझ्ने कुरा भनेको खानपानले धेरैजसो पेट, मधुमेह र मुटुमा समस्या पुर्याउँछ भन्ने हो । तर खानपानमा ध्यान दिन नसक्दा भिटामिन डी र क्याल्सियम आदिको कम प्रयोगले कम्मर, घुँडा, गर्धन र जोर्नीहरु समेत दुख्ने गरेको पाइन्छ ।

समग्रमा हेर्दा हिजोआज ६० प्रतिशत नेपालीमा भिटामिन डीको मात्रा कमी भएको समस्या देखिन थालेको छ । भिटामिन डीको मुख्य समस्या भनेको कम्मर, घुँडा गर्धन, जोर्नी दुख्नु हो । कोभिड भएर निको भएकाहरुमा पनि अहिले भिटामिन डीको मात्रा अत्यधिक कम भएको पाइएको छ ।

यसले बिस्तारै मान्छेमा स्वास्थ्य समस्या निम्त्याउँदै जान्छ । धेरै जंक फुड आदि खाने र अरु खानपानमा ध्यान नदिँदाको परिणाम हो ।

रहन सहनको कुरा गर्दा अग्ला जुत्ताहरु लगाउने, धेरै टाइट लगाउने र पछाडि पर्स बोक्ने गर्दा पनि बसाइमा समस्या भएर कम्मरमा समस्या सिर्जना हुन सक्छ ।

हिजोआज बच्चाहरु स्क्रिनमा धेरै समय बिताउन थालेका छन् । यसले उनीहरुको शारीरिक अवस्थालाई कस्तो असर गर्छ ?

सामाजिक सञ्जालको लतका कारण हिजोआज मान्छेहरु धेरै समय मोबाइल हेरेर नै बिताउँने गर्छन् । यसले एकातिर साइकोलोजिकल रुपमा प्रभाव पारेर बच्चाहरु सामाजिक हुन नसक्ने, एकोहोरो हुने जस्ता समस्याहरु निम्तिन्छ ।

अर्काेतर्फ मोबाइलमा इन्टरनेटबाट खेल खेल्दा आउटडोर खेल शून्य हुन्छ । जसले गर्दा अभ्यास नभएर अन्य शारीरिक समस्या पनि निम्तिन सक्छ ।

शहरमा मोटरसाइकल र गाडी चढिरहनेहरुमा कस्तो समस्या हुन्छ ?

मोटरसाइकल चढ्नेहरुमा कम्मर दुख्ने समस्या बढी देखिन्छ । कम्मरमा पेटी र चेस्ट गार्ड नलगाउँदा यसले अन्य शारीरिक समस्या पनि निम्तिन सक्छ । गाडीको प्रयोग गर्नेहरुमा पनि कम्मर दुख्ने समस्या हुन सक्छ ।

यसको समाधान के ? अस्पताल नै जाने कि जीवनशैली परिवर्तनबाट पनि यसलाई समाधान गर्न सकिन्छ ?

धेरै त रोग निम्तिनभन्दा अघि नै यसको रोकथामको उपाय अपनायो भने अस्पताल जानु नै पर्दैन । एकपटक समस्या भएपछि भने अस्पताल पनि जानुपर्ने हुन्छ ।

यो समस्या नै निम्तिन नदिन मोटरसाइकल चलाउनु अघि कम्मरलाई केहीबेर एक्सरसाइज गर्ने, वार्म अप गरेर आफ्नो शरीरको सबै अंगलाई चलायमान बनाएर मात्रै मोटरसाइकल चढ्ने, कतिपय मोटरसाइकल कम्मरमैत्री पनि छैन त्यस्तो मोटरसाइकल छानेर चढ्ने, मोटरसाइकल चलाउँदा खाल्डो छलेर चलाउने र नियमित कम्मरमा पेटी बाँध्न भुल्नु हुन्न ।

यसका साथै नियमित शारीरिक अभ्यास गरेर पनि यसबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?