+
+

२१ वर्षपछि अमेरिकाबाट फर्केर गाउँमै खेतीपाती

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ १२ गते १७:५५

१२ भदौ, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको पूर्वउपाध्यक्ष श्री पराजुली अब कास्कीको रुपा गाउँपालिकातिर भेटिन्छन् ।

२१ वर्ष लामो अमेरिका बसाइ टुंग्याएर नेपाल आएका उनले जन्मभूमि रुपा गाउँपालिकामा कृषि व्यवसाय सुरु गरेका छन् । उनको राष्ट्रिय नमूना कृषि फार्ममा विभिन्न फलफूल खेती गरिएको छ ।

कामको सिलसिलामा सन् २००० मा अमेरिका पुगेका उनले त्यहाँ कानून व्यवसायीको रुपमा लामो काम गरे । स–परिवार अमेरिकामा बसोबास गर्दै आएका उनी अब स्थायी रुपमा नै नेपाल फर्किएर कृषि व्यवसायमा लागेका हुन् ।

‘पहिले म बिदामा नेपाल आउथेँ, अब म बिदामा अमेरिका जान्छु तर जे गर्छु यही बसेर कृषि कर्ममा रमाउँछु’ उनले भने । गत वर्ष कोरोना महामारी सुरु हुनुअघि नेपाल आएका पराजुलीले कृषि फार्म सञ्चालनको बन्दोबस्त मिलाएर अमेरिका फर्किए ।

तर कोरोनाको प्रकोप फैलियो । त्यसपछि उनी तत्काल नेपाल आएर काम सुरु गर्न सकेनन् । कोरोना महामारी घटेपछि केही महिनाअघि नेपाल आएका पराजुलीले फार्ममा ताइवानी जातको मेवा, गोल्डेन लेमन, एभोकाडो, ड्रागन फ्रुटलगायतका फलफुलको बिरुवा समेत रोपिसकेका छन् ।

उनले तरकारीमात्रै होइन गाई तथा माछा समेत पाल्ने योजना बनाएका छन् । फार्ममा अहिले एउटा कार्यालय भवन, आवास भवन र तालिमहरु आयोजना गर्नका लागि सेमिनार हल समेत बनाउने काम सुरु भएको छ ।

‘हाम्रो योजना भनेको सघन कृषि फार्म सञ्चालन गर्ने हो, तर कृषि गर्न चाहन्छौँ भन्नेहरुका लागि सहयोग गर्न पनि तयार छौं’ उनले भने, ‘यसका लागि हामी दक्ष प्रशिक्षक ल्याएर तालिम पनि दिनेछौं ।’

पराजुलीले ब्लू बेरीको समेत उत्पादन गर्ने तयारी रहेको सुनाए । यसका लागि अध्ययन भइरहेको उनको भनाइ छ । नेपालमै केही गर्नुपर्छ भन्ने भावनाले आफूले कृषि फार्म सञ्चालन गर्न लागेको उनको भनाई ।

‘यहाँबाट धेरै कमाऔं भन्ने मेरो सोच होइन, तर कृषिमा राम्रो गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहन्छु,’ उनले भने, ‘म एउटाले चाहेर देश बन्छ भन्ने होइन, कमसेकम गाउँका किसानलाई सहज होस् भन्ने सोचाइ छ ।’

कृषिलाई आधुनिकीकरण गर्न र व्यवसायिक बनाउन सरकारले धेरै योजना र कार्यक्रम ल्याएको छ । पछिल्ला वर्षमा बैंकहरुले पनि कृषिमा लगानी गर्नुपर्ने नियमहरु बनेका छन् । तर कृषि व्यवसाय अहिले पनि सहज छैन ।

समयमा बिक्री नहुँदा किसानको उत्पादन बारीमै कुहिने गरेको छ । पराजुली यो समस्या समाधानका लागि ठूलो भण्डारस्थल र बजारीकरणमा पनि काम गर्न आवश्यक रहेको बताउँछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?