+
+
ओल्ड इज गोल्ड :

नेपाली चलचित्रको स्वर्णिम कोसेली : कुसुमे रुमाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १९:३१

‘मायाको बारीमा पिरतीको फूल

संगाली राखेको कुसुमे रुमाल’

निर्देशक तुलसी घिमिरे त्यसबेला निर्देशक नै भएका थिएनन्, जतिबेला उनी मुम्बईमा सिनेमा सम्पादनको काम सिकिरहेका थिए । प्रसंगवस् एकदिन उनका गुरुले सोधे, ‘तिम्रो देशमा, तिम्रो भाषामा अहिलेसम्म कतिवटा चलचित्र बनेको छ ?

‘त्यस्तै सात, आठ वटा’ तुलसीले अनुमानित जवाफ दिए ।

गुरुले चुनौती दिए, ‘त्यसो हो भने अब तिमीले आफ्नो भाषाको १० वटा सिनेमा बनाएर देखाउनु ।’

उनलाई निर्देशनको अनुभव नै थिएन । न पैसा थियो । यद्यपि गुरुको वचन पुरा गर्न उनले सिनेमा वनाउने प्रण गरे । यसको श्रीगणेश गरे, चलचित्र बाँसुरीबाट । तर, यो चलचित्र उनले नेपालमा प्रदर्शन गर्न पाएनन् । त्यसमा एउटा गीत राखिएको थियो, ‘हिमाल जलेर ज्वाला भएछ’ । यही गीतको कारण चलचित्र प्रदर्शन गर्न नदिइएको उनी बताउने गर्छन् ।

तुलसी घिमिरेले दोस्रो चलचित्र बनाए, कुसुमे रुमाल । एक हिसाबले भन्ने हो भने यो एक अभ्यासकै चरण थियो । त्यसअघि सत्य हरिशचन्द्रसहित १९ वटा चलचित्र निर्माण-प्रदर्शन भइसकेको थियो ।

यो क्रमांक अनुसार २० औं चलचित्र थियो, कुसुमे रुमाल ।

नेपाली चलचित्रको इतिहासलाई गर्विलो बनाउनमा ‘कुसुमे रुमाल’ खास योगदान रह्यो । यो चलचित्र बनाउन निर्देशक घिमिरेलाई ‘फलामको च्युरा चपाउनु’ सरह भएको थियो । कारण, पहिलो चलचित्रको असफलता र बजेट अभाव । यद्यपि उनले पाँच–दश हजारका दरले सरसापट गरे र चलचित्र निर्माण गरे ।

प्रदर्शन अघि तुसलीको भेट उद्वव पौडेलसँग भयो । उनै पौडेलले सुझाए, ‘नेपाली प्रोडक्सनमा बनाइयो भने सरकारले ५० प्रतिशत दिन्छ ।’ सोही अनुसार चलचित्रलाई सयपत्री फिल्मस्को प्रस्तुतिमा सार्वजनिक गरियो ।

भनिन्छ, यही चलचित्रले पहिलो पटक प्रदर्शनको रजत जयन्ती मनाएको थियो । पूवाद्र्धको यो समयलाई ‘रजत युग’ पनि भनिन्छ । त्यसपछि लाहुरे, चिनो आदिले पनि रजत जयन्ती मनाएको थियो ।

‘कुसुमे रुमाल’ फगत सिनेमा मात्र थिएन, नेपाली चलचित्रको एक स्वर्णिम कोसेली पनि थियो । यही चलचित्रले तुलसी घिमिरेलाई पूर्णकालिन निर्देशकको जिम्मा लगाइदियो, भूवन केसीलाई नायक बनाइदियो, रनजीत गजमेरको जीवनको धुन खोजिदियो, उदित नारायण झालाई कला–मोह जगाइदियो ।

यो चलचित्रले नेपाली समाजलाई दिएको अर्को केसेली भनेको मधुर संगीत हो । ‘कुसुमे रुमाल’, ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी’ जस्ता अजम्बरी गीतले शहर–बजारदेखि मेलापातसम्म संगीतमय बनाइदियो । रनजीत गजमेरको शब्द, संगीतमा तयार गीतहरु नेपाली समाजले गुनगुनाइरह्यो । यो क्रम अझै अटुट छ ।

त्यसबखत यसका गीतहरु उदित नारायण झा, दीपा झा, श्रवण घिमिरे, भारती घिमिरेले गाएका थिए ।

त्रिकोणात्मक प्रेमकथा

‘कुसुमे रुमाल’ एक उत्कृष्ट श्रेणीको चलचित्र हो । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा भूवन केसी, उदित नारायण झा, तृप्ति नाडकर, नीर शाह, प्रदीप पाख्रिन, विश्वमनी आदिले अभिनय गरेका छन् ।

रमाइलो कुरा, यसमा दार्जिलिङका हमजाएगाले पनि अभिनय गरेका छन् । हमजाएगा नामले प्रख्यात यि पात्र खासमा चालक थिए । उनी निकै रसिक र ख्यालठट्टा गरिरहने भएकाले त्यसबेला प्रख्यात भए । चलचित्रमा भलै उनको छोटो भूमिका भएपनि यसले उनको सग्लो रुपलाई युगौको लागि संग्रहित गरिदिएको छ ।

यो चलचित्र निकै मनोरञ्जनात्मक छ । नायक-नायिकाबीचको आकर्षण र त्यसले ल्याउन उतार–चढावसँगै यसको कथा लम्बिएको छ । हाँसोठट्टा, प्रेम–रोमाञ्च, रोदन सबैको समिश्रण छ यसमा । चलचित्रमा दार्जिलिङको परिवेश र लवज छ । दुई घण्टा लामो चलचित्रले दर्शकमा अनेक भाव–आवेग पैदा गरिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?