Comments Add Comment

पब्जीले बिगार्दैछ कि सम्भावनाको नयाँ संसार देखाउँदैछ ?

उहिलै म सानै छँदा गाउँमा कसैकोमा टिभी थिएन तर हाम्रोमा थियो । गाउँभरिका केटाकेटी हाम्रोमा टिभी हेर्न आउँथे । टिभी हेर्न आउने केटाकेटीहरू टिभीमा जत्तिकै मूलढोकामा नजर राख्थे ।

कारण हुन्थ्यो, केहीबेरमा नै तिनका बा–आमा आफ्ना केटाकेटीहरूलाई खोज्दै हाम्रै घरमा आइपुग्ने सम्भावना ज्यादा हुन्थ्यो । बाआमा मूल दैलोबाट भित्र छिर्नेबित्तिकै केही जुक्ति लाएर केटाकेटीहरू फुत्किन्थे । बाआमाले समात्न सके केहीलाई पिटेरै घर लिएर जान्थे ।

गाउँमा चर्चा हुन्थ्यो, हाम्रो घरको टिभीले गाउँका केटाकेटी बिगार्‍यो ।

टिभीमा केटाकेटी बिगार्ने गरी आउने च्यानलहरूमा पहिलो थियो- नेपाल टेलिभिजन । नेपाल टेलिभिजन बिहान धार्मिक कार्यक्रम र समाचार देखाउन आउँथ्यो अनि बेलुका केहीबेर समाचार र पितिक्क मनोरञ्जनको कार्यक्रम देखाएर जान्थ्यो । मनोरञ्जनका कार्यक्रमहरूमा केही सिरियल हुन्थे र केही फिल्मी गीतका स्थायी मात्रै बजाउने कार्यक्रम । ट्वाक्कटुक्क जस्ता हँसाउने कार्यक्रम थपिएको त अलि पछि थियो होला ।

बाँकी समय भारतको दूरदर्शन थियो । जुन लगभग नेपाल टेलिभिजन जस्तै थियो तर हिन्दी बोल्थ्यो, हिन्दीमा समाचार भन्थ्यो, हिन्दी गीतहरू सुनाउँथ्यो र दिउँसो पनि आउँथ्यो । त्यसमा बेलाबेला इन्डियाका क्रिकेट खेलहरू लाइभ देखाउँथ्यो । हामी क्रिकेट नबुझ्ने केटाकेटीका लागि त्यो दिन निस्पट बन्थ्यो ।

ती टिभी च्यानलका अधिकांश कार्यक्रमका सूची यस्तै हुन्थे ।

राष्ट्रिय टेलिभिजनहरूले के नै बिगार्ने कुरा देखाउँथे होला र ? तर केटाकेटी बिगार्न ती समाचार र गीतहरू नै पर्याप्त छन् भन्ने मानिन्थ्यो ।

आज पब्जी, फेसबुक वा टिकटकले बिगार्‍यो भनेर प्रतिबन्ध गर्नुभन्दा यस्ता कुराको सदुपयोग गर्ने औपचारिक वा अनौपचारिक शिक्षाका कार्यक्रमहरू चलाऔं । साइबर साक्षरता बढाऔं ।

र त गाउँमा चर्चा हुन्थ्यो, हाम्रो घरको टिभीले गाउँभरका केटाकेटीहरू बिगार्‍यो । तर यो चर्चालाई टिभी भएको घरको मैले गलत सावित गरिदिएँ ।

हाम्रो घरको सबैभन्दा कान्छो थिएँ म । कुन दिन कति बजे कुन च्यानलमा के कार्यक्रम दिन्छ भन्ने मुखाग्र भन्दिन सक्थें । नेपाल र इन्डियाका सबैजसो कलाकार चिन्थें । निकै देशका नेता चिन्थें । धार्मिक सिरियलहरूका कतिपय संवाद नै याद थियो मलाई ।

नेपाली टिभीबाट प्रसारण हुने परालको आगो, अन्तिम न्यायहरू मात्रै होइन, अलिफ लैला, चन्द्राकान्ता जस्ता हिन्दी सिरियल पनि मेरा छोड्नै नहुने कार्यक्रममा पर्थे । शनिबार दिउँसो प्रसारण हुने हिन्दी फिल्म र महीनामा एक पल्ट आउने नेपाली फिल्म मैले शायदै छुटाएँ होला । विश्व घटना जस्ता समाचार र कृष्ण चरित्र, रामायण जस्ता धार्मिक सिरियल हेर्न त परिवारमा सबैलाई छुट हुन्थ्यो ।

मैले यी सबै हुँदाहुँदै पनि स्कूलमा सबैभन्दा खराब प्रदर्शन गरेको भनेको कक्षा ५ मा हो । कक्षा ५ मा म पाँचौं भएको थिएँ । हाजिर बोलाउँदा चार जनापछि बल्ल मेरो नाम आउँथ्यो, गणेश कार्की रोल नम्बर ५ ।

तर त्यही वर्ष जिल्लास्तरिय प्राथमिक कक्षा हाजिरीजवाफ प्रतियोगितामा म सम्मिलित समूहले नै द्वितीय पुरस्कार ल्याएको थियो । त्यसपछि म कक्षा उक्लिँदै गर्दा थप राम्रो नम्बर ल्याउँदै गएँ र पछि एसएलसी दिएर स्कूलबाट बिदाइको समोसा खाने बेलासम्म पनि निकै वर्ष ‘क्लास फर्स्ट’ भइरहें ।

मेरा नामका कविताहरू म ९ वर्षको हुँदादेखि नै रेडियोको बाल कार्यक्रममा वाचन हुन्थे । मलाई याद छ- वासुदेव मुनालले यो महीना प्रसारण भएका भाइबहिनीहरूका राम्रा ५ कविताहरू भनेर सुनाउँदा मेरो कविता पनि दोहोर्‍याएर पढेका थिए । हाजिरीजवाफका प्रतियोगितामा स्कूलबाट मेरो तहका विद्यार्थी छान्नुपर्दा मेरो नाम छुट्दैनथ्यो । धेरैजसो त्यस्ता प्रतियोगितामा मैले कुनै न कुनै पुरस्कार प्राप्त गरेकै हुन्थें ।
प्रमाणित भयो- टिभी हेर्दैमा सबै ‘नबिग्रिँदा’ रहेछन् ।

अनि गाउँमा चर्चा भयो, सबैको दिमाग गणेशको जस्तो कहाँ हुन्छ त ?

तर यो चर्चालाई म अनि मेरा साथीहरूले गलत सावित गरिदियौँ । मेरा निकै साथीहरू जो कक्षामा कहिल्यै प्रथम भएनन्, उनीहरूको जीवन पनि अहिले सुखमय चलिरहेको छ । समाजमा सम्मानित जीवन बाँचिरहेका छन् । सुखी र सम्मानित जीवन बाँच्न कक्षामा फर्स्ट नै हुनुपर्दैन रहेछ ।

यो लेख मैले लेखेको भएर मात्रै मेरो प्रसङ्ग आएको हो, नत्र इतिहासमा अनगिन्ती पटक कतिपयले सोचेजस्तो टिभी गलत आविष्कार होइन र टिभी हेर्नाले मान्छे बिग्रिँदैन भन्ने प्रमाणित भइसकेको छ ।

म जन्मिनुभन्दा निकै धेरै वर्ष पहिले जब टिभीको आविष्कार भयो तब यसलाई मूर्खहरूको बाकस भन्ने निस्किए । उनीहरूको भनाइ थियो- टिभीले मान्छेलाई मूर्ख बनाउँछ र केही काल पछि नै मान्छेले टिभी हेर्न बन्द गर्छन् ।

किनभने मान्छेसँग उही एउटा भाँडो हेरिराख्ने इच्छा, उत्साह र समय नै हुँदैन । तर त्यस्तो भविष्यवाणी गरेको झन्डै सय वर्षपछाडि पनि टिभी हेर्ने दर्शकको उत्साहमा कमि भएको छैन । बरु झन् धेरै सामग्रीहरू थपिएका छन् । यसको आर्थिक पक्ष सोच्नै नसकिने गरी ठूलो भएको छ ।

मान्छेहरूले थाहा पाए- टिभी हेर्नु र नहेर्नुले मात्रै बिग्रिने कुरालाई समेट्न नसक्ने रहेछ । तर त्यो त टिभीका लागि थियो । नयाँ आविष्कारका लागि मान्छेले फेरि नयाँ शंका र अनुभव गर्नै पर्छ । एकैपल्टमा चेत्ने प्राणी त मान्छे पनि होइन । यसैले टिभी हेर्दा बिग्रिन्छ भन्ने शंकाको ठाउँ नयाँ प्रविधि र साधनहरूले लिएका छन् । मान्छेसँगै शंका पनि आधुनिक भएकै छ ।

नयाँ प्रविधि र आविष्कारसँगको डर अनि ‘मिथ्या कुरा’

कतिपयलाई लाग्छ- स्मार्ट फोनले मानिसहरूलाई बोधो बनाउँदैछ । फेसबुक जस्ता सामाजिक साइटहरूले वास्तविक जीवनबाट टाढा लैजाँदैछ । र, मोबाइलका खेलहरूले मान्छे बिगार्दैछ । भर्खरै संसदमा एमालेकी सांसद आशाकुमारी बिकले पब्जी, फ्रि फायर लगायतका खेलहरू बन्द गर्नुपर्ने कुरा उठाइन् ।

उनका अनुसार यस्ता खेलहरूको लतमा फसेर बालबालिका तथा किशोरकिशोरीहरूमा मानसिक समस्या देखिएको र अभिभावकहरूमा चिन्ता थपेको छ । उनले थप भनेकी छिन् कि यस्तै भइरहे नेपालमा मानसिक रोगीहरूको सङ्ख्या ह्वात्तै बढ्नेछ ।

यसो त दुई वर्षअगाडि नेपालमा पब्जीले आत्महत्या बढाएको भन्दै प्रतिबन्ध लगाइएको थियो तर सर्वोच्चमा पब्जीमाथिको प्रतिबन्ध खुल्ला गर्न रिट परेपछि सो प्रतिबन्ध हटेको थियो ।

हुन त विश्व स्वास्थ्य संगठनले पनि खेलको कुलतलाई मानसिक समस्या भनेको छ । कतिपय मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार पब्जी लगायतका खेलहरूले मानसिक स्वास्थ्यमा असर गर्छन् तर त्यसको कुलत बनेर दुर्व्यसनको हद छुन थालेपछि मात्रै ।

यदि पब्जी लगायतका खेलहरूलाई कुलतका कारण दुर्व्यसनकै रुपमा खेल्ने हो भने यसले वास्तवमै मानसिक स्वास्थ्यमा फरक पार्ने हुनसक्छ भने धेरै समय स्क्रिनमा हेर्ने भएकाले आँखामा पनि समस्या पर्न सक्छ । त्यस्तै, एकै स्थानमा धेरै समय बसिरहने भएकाले हात तथा काँध दुख्ने जस्ता शारीरिक समस्याहरू निम्तिन सक्छ ।

तर, दिनमा एक दुई घण्टा पब्जी लगायतका खेलहरू खेल्नुका फाइदाहरूको सूची पनि निकै लामो छ । विज्ञहरूका अनुसार पब्जी लगायतका खेलहरूले दिमागलाई सक्रिय बनाउँछ जसले गर्दा नयाँ कुरा सिक्ने क्षमता बढ्छ भने चित्र तथा नक्साहरूको सिकाइ क्षमता बढाउँछ । समूहमा खेलिने यस्ता खेलहरूले सामूहिक भावनाको विकास गराउँछ । खेलमा जितका लागि तत्कालै निर्णय गर्नुपर्ने भएकाले निर्णय गर्ने आत्मविश्वासमा वृद्धि गर्छ ।

यसरी हेर्ने हो भने पब्जी लगायतका खेलका नकारात्मक पक्ष मात्रै पनि छैनन् रहेछ । यसका सकारात्मक कुराहरू पनि रहेछन् । यसैले सांसद बिकको धारणा टिभी हेर्दा बिग्रिन्छन् कै नयाँ संस्करण हुने आधारहरू धेरै छन् भन्न सकिन्छ ।

सांसद बिकको तर्कको आधार पनि फितलो छ, नेपालमा पब्जी लगायत खेलका कारण मानसिक स्वास्थ्यमा परेको असरको कुनै पनि अध्ययन भएको छैन । यो केवल कसैको व्यक्तिगत धारणा मात्रै हुन सक्छ । पानी पियो भने पानी नै गइरहेको पखालालाई झन् बढाउँछ भनेर पानी पिउनै रोक्ने पुरानो सोच जस्तो प्रत्युत्पादक पनि हुन सक्छ ।

इस्पोर्ट्समा पब्जी खेल र करिअर

प्रत्युत्पादक किन हुन सक्छ भने संसारमा खेलको नयाँ विधा आएको निकै धेरै भइसक्यो । यसलाई इस्पोर्टस् भन्ने गरिन्छ । एक भन्दा धेरै खेलाडीहरू भएर विद्युतीय साधनहरूमा खेलिने खेलको किसिम हो यो । पब्जी, फ्रि फायर, भालोरेन्ट, फिफा लगायतका धेरै खेलहरूको देशभित्र, अन्तरदेशीय र विश्व प्रतियोगिता हुने गर्दछ । त्यस्ता प्रतियोगितामा करोडौँको पुरस्कार राशि हुन्छ भने यस्ता प्रतियोगितामा सहभागी हुने खेलाडीहरूका लागि विभिन्न ब्रान्डहरूले खर्च गर्छन् ।

नेपालमा पनि यस्ता खेल खेल्नका लागि कम्पनी नै दर्ता हुन थालेका छन् । यस्तै एउटा नेपाली कम्पनीले एक वर्षको समयमा एक करोडभन्दा बढी रकम आम्दानी गरेको दाबी गरेको छ ।

खेल्दैमा बिग्रिहाल्छन् भनेर यसलाई प्रतिबन्ध लगाउने हो भने भविष्यका यस्ता सम्भावनाको एउटा क्षेत्रबाट हामीले एउटा पुस्तालाई नै पाखा लगाइदिन्छौँ ।

हो, पब्जी जस्ता खेल खेल्नेहरू सबैले त्यो उचाइ पाउन सक्दैनन् । तर अरु खेलहरूमा पनि त यही नियम लागू हुन्छ । ‘मान्छे सप्रिने’ मानिएका खेलहरू खेल्ने पनि त सबैले उचाइ छुँदैनन्, रोहित चन्द जस्तो फुटबल खेल्न इन्डोनेसिया वा सन्दीप लामिछाने जस्तो क्रिकेट खेल्न अनेक देश पुग्ने कति नेपाली छन् र ? तर पनि वर्षेनि करोडौँ बजेट छुट्याएर नेपालभरका बालबालिका र युवाहरूमा ती खेल खेलाइन्छ । भोलि अरु धेरै रोहित चन्द र सन्दीप लामिछाने बन्नेहरूको सम्भावना देखिन्छ ।

कोरोनाभाइरसले हामीले कहिल्यै कल्पना नगरेको परिस्थिति देखाइदियो । हामी बितेका दुई वर्षदेखि लगभग लुकिरहेकै अवस्थामा छौँ । यही बेला भएका धेरै ठुला ठुला प्रतियोगिताहरू दर्शक विना खेलिए । भर्खरै भएको युरोकप र कोपा अमेरिकाका कुनै खेलमा ६० हजार दर्शकको भीड देख्दा हामी झस्कियौँ तर पनि त्यसमा लगानीको कमि भएको छैन ।

त्यहीबेला भएको पब्जीको एउटा टुर्नामेन्टमा लाइभ हेर्नेहरू १० लाख भन्दा बढी हुँदा त्यसलाई कम आँक्छौँ भने यसको अर्थ एकै मात्र हुन्छ, हामी भविष्यको एउटा आर्थिक सम्भावनालाई नजरअन्दाज गर्दैछौँ । जसरी हामीले अहिले क्रिप्टोकरेन्सीलाई नजरअन्दाज गर्नुको परिणाम भोग्दैछौँ । जसरी रियालिटी शोहरू नआउन्जेलसम्म नाँच्ने गाउनेको सम्भावनालाई अस्वीकार गरियो ।

खेल वा कलामा मात्रै होइन, आजको युगमा सबै कुराको भविष्य अपूर्व रुपमा अनिश्चित छ । थोरै भन्दा थोरै भविष्यको आकलन पनि असम्भव प्राय: छ । समाजको यो वेग हेरेर स्विकार्नै पर्छ कि अबको युग अनिश्चित भविष्यको युग हो ।

अनिश्चित भविष्यको युगको एक झाँकी

समयले यसरी फड्को मार्न थालेको छ कि एकै दशकमा अहिले मानिरहेका कुराहरू बेकामे हुन पुग्छन् । प्रविधिको विकाससँगै पुरातन रोजगारीका माध्यम मात्रै होइन, सम्पूर्ण सीप नै पुरानो र काम नलाग्ने भइदिन्छ भने आम्दानी र पेशाका रुपमा नयाँ नयाँ कुरा आइरहेका छन् ।

एक दशक अगाडि हेलिकप्टरमा राम्रो क्यामेरा राखेर भिडियो खिच्ने सफल भिडियोग्राफरलाई हत्केलामा अट्ने ड्रोनले प्रतिस्थापन गरिदियो । अचेल त्यसरी प्रयोग हुने हेलिकप्टर र भिडियोग्राफरले पेशा नै फेर्नु परेको हुन सक्छ ।

राम्रै आम्दानीको सम्भावना देखेर गाउँशहरका चोक र गल्लीहरूमा राम्रो लगानीमा खुलेका पिसिओ र साइबर क्याफेहरू लगानी उठाउन नसकी बन्द भए । एफएमहरू पानी बाहिर भर्खर निस्किएको माछो जस्तो अवश्यंभावी मृत्यु पर्खेर छट्पटाउँदैछन् । त्यसका लागि समय र पैसा लगानी गरेर उदघोषण सिकेकाहरू कति युट्युबमा लागेका होलान् वा टिकटकमा लाइभ बसेर त्योभन्दा राम्रो आम्दानी गरेका होलान् ।

पठाओ र टुटलजस्ता राइडिङ एपहरूले ट्याक्सीको लगानी जोखिममा पार्दैछ । अनलाइनले छापा पत्रकारितालाई निकै पहिले पछाडि पारिसक्यो ।

कुन सीप वा कुन पेशा कुन समयमा काम नलाग्ने भइदिन्छ र त्यसको स्थानमा सोच्दै नसोचेको अर्को सीप र सम्भावनाको ढोका खुल्छ भन्ने अकल्पनीय भइदियो । भविष्यका लागि तयार हुनका लागि यही सीप वा यही पढाइ भन्ने रहेन । अनिश्चयको तयारी नै सबैभन्दा राम्रो तयारी हुने भयो ।

हाम्रै समाजमा हामीले देखिरहेकै असाध्यै धेरै सीप र सम्भावनाहरू एकदशकभित्र पुराना र बेकामे भएर लोप भए । यस्तोमा आजका पुस्तालाई आजको प्रविधिबाट रोकेर कुन भोलिका लागि तयार पार्न सकिएला ? आज भोग्न वा सिक्न नदिएर आजबाट एक्कासी भोलिमा फाल हान्न लगाउँदा उनीहरू आकाशबाट झरेको सुपरम्यान जस्तै खुट्टाका बलमा टक्क उभिएलान् कि बाख्राका लागि डालेघाँस झार्न रुख चढेका काइँला दाइजस्तो टाउको बजारेर भुइँमा घोप्टिएलान् ?

अनिश्चित परिवर्तनको समयका लागि हामीले सिंगो पुस्तालाई यो वा त्यो बहानामा तयार पार्न सकेनौँ भने त्यो पुस्ताको मात्रै भुइँमा टाउको बजारिंदैन, समस्त मुलुक बजारिने सम्भावना रहन्छ । यसका लागि के गर्ने त ? कसैसँग पनि प्रष्ट जवाफ छैन ।

यो लहर हो, सँगै हिंडौं

परिवर्तनको यो वेगलाई रोक्ने सामर्थ्य ठूला कम्पनी वा ठूला देशहरूसँग पनि छैन ।

भारतमा पब्जी प्रतिबन्धित छ तर खेलले उब्जाएको समस्या भन्दा पनि त्यो प्रतिबन्धलाई बढी राजनीतिक मानिन्छ । चीन र भारतबीच सीमामा तनाव भएपछि भारतले एकमुष्ट धेरै चिनियाँ एपहरू बन्द गर्‍यो । त्यो सूचीमा पब्जी पनि पर्‍यो । भारतमा पब्जी प्रतिबन्ध गरेपछि निकै तामझामका साथ त्यस्तै किसिमको खेल सार्वजनिक गर्नुले पनि यो कुराको पुष्टि गर्छ ।

संसारका असाध्यै धेरै देशहरू भन्दा धनी र शक्तिशाली गुगल, माइक्रोसफ्ट र फेसबुकले पनि यो वेगलाई रोक्न सक्दैनन् । उनीहरू भर्खरै शुरु भएका टिकटक, जुम र क्लबहाउसहरूबाट पछारिन्छन् र उनीहरूको सिको गर्दै लहरमा नै हेलिन्छन् । यसैले त टिकटक जस्तो युट्युबको सर्टस् आउँछ । माइक्रोसफ्टले जुम जस्तो टिम एप निकाल्छ । क्लबहाउसकै नक्कल गर्दै फेसबुकले अडियोरुम शुरु गर्छ ।

यस्तो अवस्थामा हामी यो परिवर्तनलाई न बेवास्ता गर्न सक्छौँ, न रोक्न सक्छौँ । बरु यही लहरमा मिसिएर, परिवर्तन स्विकार्दै सकेसम्म कम क्षति र जोखिममा अपार सम्भावनाको खोजी गर्न सक्छौँ ।
आज पब्जीले वा फेसबुकले वा टिकटकले बिगार्‍यो भनेर प्रतिबन्ध गर्नुभन्दा यस्ता कुराहरूको सदुपयोग गर्ने औपचारिक वा अनौपचारिक शिक्षाका कार्यक्रमहरू चलाऔँ । साइबर साक्षरता बढाऔँ । समय व्यवस्थापनका लागि परिवार झन् बढी सक्रिय बनौँ ।

बन्द वा प्रतिबन्धले यसको समाधान निस्किंदैन । भिपिएनहरूको प्रयोग गरेर पनि प्रतिबन्धका बावजुद ती खेल खेल्न सकिन्छ भने अर्कै नामबाट त्यस्तै वा अन्य खेल प्राप्त भइरहन सक्छन् । सम्पूर्ण खेललाई नै प्रतिबन्ध गर्न सम्भव हुने कुरा पनि भएन ।

हामीसँग सीमित विकल्प छन् । विकल्पहरूको संख्या बढाउने हो भने पनि यही लहरमा हेलिनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment