 
																						२१ साउन, धनगढी । दार्चुला घटनाको छानबिनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रदर्शन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोलीविरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् ।
नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमिबाट घटनास्थलको निरीक्षणका लागि पुगेकाले प्रदर्शन गरिएको बताए । उनीहरूले भारतीय भूमि टेकेर आउने छानबिन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दैन, कालापानी लिपुलेक हाम्रै हो जस्ता नारा लगाएका थिए ।
‘टोली दार्चुला पुगेको आज तीन दिन पुगिसक्यो तर हामीसँग अहिलेसम्म भेटघाट गरेको छैन,’ धामीले अनलाइनखबरसँग भने, ‘घटनास्थलको निरीक्षण गर्नलाई भारतीय भूमि प्रयोग गरेकाले हामीले विरोध गरेका हौं ।’ बिहीबार दिउँसो गृह सहसचिव जनार्दन गौतम नेतृत्वको टोली घटनास्थलको निरीक्षणका लागि सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै गएको थियो । स्थानीयले महाकाली वारि नेपाली भूमिमा प्रदर्शन गर्दा टोलीले पारिपट्टि भारतीय भूमिमा निरीक्षण गरिरहेको थियो ।
निरीक्षणपछि सदरमुकाम फर्कियो टोली
घटनास्थलको स्थलगत निरीक्षणपछि छानबिन टोली सदरमुकाम फर्किएको छ । छानबिन टोलीकी सदस्य समेत रहेकी दार्चुलाकी निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले घटनास्थलको निरीक्षण गरेर फर्किएको बताइन् ।
‘हामी घटनास्थलको निरीक्षण गरेर फर्किएका छौं, अब थप के गर्ने भन्ने विषयमा छलफल गरेर अघि बढ्छौं,’ निमित्त प्रमुख जिल्ला अधिकारी भट्टले भनिन् । व्यास गाउँपालिका–२ का जयसिंह धामी गत शुक्रबार तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम आउने क्रममा एसएसबीले डोरी फुकालिदिएपछि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।
उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव गौतमको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको थियो । मंगलबार दार्चुला पुगेको टोलीले विभिन्न पक्षसँग छलफल गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4