+
+
Shares

कास्कीमा ३२ हजार जेष्ठ नागरिक कोभिशिल्डको दोस्रो डोजको पर्खाइमा 

खोप अभियान एक हप्ताभित्र सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते १९:२५

२५ साउन, पोखरा । पोखरा रानीपौवाका ७० वर्षीय फत्ते बुढाले फागुनको अन्तिममा कोभिशिल्ड खोप लगाएका थिए । उनलाई खोप लगाइदिएका स्वास्थ्यकर्मीले दोस्रो डोज नलगाउँदासम्म खोपले पूरा काम नगर्ने भएकाले नछुटाउन सुझाव दिएका थिए ।

नातिनीसँग खोप केन्द्रमा दिनभर लाइन लागेर पहिलो मात्रा लगाएका उनले दोस्रो डोज लगाउन पर्खेको ५ महिना पुग्नै आँट्यो । तर, दोस्रो डोज पाएका छैनन् ।

‘सुई लाउने नानीले एक महिनापछि आउनुस् है भन्या’थे । खै अहिलेसम्म बोला’छैनन् भनेर नातिनीले भन्छे,’ बुढा भन्छन्, ‘ऐले त अलिकति जिउ दुख्दा पनि अर्को खोप नलगाएर हो कि जस्तो लाग्ने भइसक्यो ।’ अर्को खोप नपाउँदा झनै असर गर्ने हो कि भन्ने त्रास उनमा छ ।

बुढाजस्तै पोखराकै ६८ वर्षीया सरस्वती गुरुङको अवस्था पनि त्यस्तै छ । उनमा पनि सिंगल डोज खोपले असर गर्ने पो हो कि भन्ने चिन्ता नै छ । कोभिशिल्डको दोस्रो डोज पर्खिंदा पर्खिंदा ‘अत्यासै’ लागिसकेको उनी बताउँछिन् ।

‘सोध्दा आको छैन मात्रै भन्दिन्छन् । हामीभन्दा पछि लगाएका छोरानातिनीहरुले बरु अर्को खोप दुवै पटक लगाइसके,’ गुरुङले भनिन्, ‘हामीलाई सुरुमा लगाएर लास्टै हुने भयौं ।’ आफूले लगाएकै कम्पनीको खोप नआउने भन्ने सुनेकाले फेरि खोप लगाउने कि नलगाउने दोधारमा रहेको उनले बताइन् ।

बुढा र गुरुङजस्तै कोभिशिल्डको पहिलो डोज मात्रै लगाएर बसेकाहरु कास्कीमा ३२ हजार जना छन् । उनीहरु करिब ५ महिनादेखि दोस्रो मात्राको पखाईमा छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार कास्कीमा कोभिडविरुद्धको दोस्रो चरणमा जिल्लाभरका ४७ हजार जनाले पहिलो डोज लगाएका थिए ।

तर, उनीहरुमध्ये जम्मा १६ हजारले मात्रै कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । ‘कास्कीमा पनि कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएकाहरुको ठूलो संख्या छ । बेलैमा सरकारी तवरबाटै समन्वय गर्न नसक्दा उनीहरुको ढिलाइ भएको हो,’ कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले भने ।

पौडेलले पहिलो चरणमा भने पत्रकार, स्वास्थ्यकर्मी गरेर ९ हजार जनाले कोभिशिल्ड खोप लगाएका छन् । पहिलो चरणमा कोभिशिल्ड खोप लगाएका सबैले दुवै डोज पाइसकेका छन् ।
पछिल्लो तथ्यांकअनुसार कास्कीमा जोनसन एण्ड जोनसनको खोप २४ हजार जनाले लगाएका छन् । अन्य खोप २ पटक लगाउनुपर्ने भएपनि जोनसन खोप एक पटकमात्रै लगाए पुग्छ ।

त्यस्तै, भेरोसेल ८४ हजार ४ सय जनाले लगाएका छन् । जसमध्ये भेरोसेलको दोस्रो मात्रा १९ हजार २ सय जनाले लगाइसकेका छन् । ‘यो खोपको मात्रा पनि २/३ दिनभित्र सबैले दोस्रोमात्रा पाइसक्छन्,’ पौडेलले भने ।

सरकारले कोभिशिल्ड खोपकाे पहिलो मात्रा लगाएका नागरिकलाई एस्ट्राजेनेका खोप दिन लागेको हो । ‘विश्व स्वास्थ्य संगठनले नै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप लगाउन अनुमति दिएको छ । त्यही अनुमतिअनुसार छुटेकालाई लगाउने हो,’ पौडेलले भने ।

खरिद सम्झौता भएकोमध्ये १० लाख डोज कोभिशिल्ड खोप भारतले उपलब्ध नगराएपछि हालै जापान र भुटानले अनुदानमा एस्ट्राजेनेका खोप उपलब्ध गराएपछि सरकारले ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिन सुरु गरेको हो ।

सूचना अधिकारी पौडेलका अनुसार कास्कीमा आवश्यक एस्ट्रेजेनिका खोप आइसकेको छ । तर, अहिले भेरोसेल खोप कार्यक्रम जारी नै रहेकोले एस्ट्राजेनेकाको खोप अभियान सुरु गर्न भने केही दिन लाग्ने उनले बताए ।

‘अहिले भेरोसेलकै खोप कार्यक्रम चलिरहेको छ । यो कार्यक्रम २/३ मा सकिएपछि मात्रै एस्ट्रेजेसनका खोप लगाउन सुरु गर्ने हो,’ उनले भने, ‘एक हप्ताभित्र यहाँका पालिकाहरुसँग छलफल गरेर निधो भइसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?