Comments Add Comment

अभिषेकले मछिन्द्रबाटै लिग खेल्ने

२६ साउन, काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजालले नयाँ सिजनको ए डिभिजन लिग मछिन्द्र क्लबबाटै खेल्ने भएका छन् । लिगको साविक विजेतासमेत रहेको मछिन्द्रले सोमबार अभिषेकसँग सम्झौता गरेको हो ।

मछिन्द्रले क्लबका अध्यक्ष र अभिषेकको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै अभिषेक फेक क्लबमा आबद्ध भएको जानकारी गराएका छ ।

पछिल्लो पटक २०७६ सालमा भएको लिग अभिषेकले मछिन्द्रबाटै खेलेका थिए । तर उनी लिगकै बीचमा माल्दिभ्समा लिग खेल्न गएका थिए । त्यसयता नेपालको लिग भएको छैन । अभिषेकले गत वैशाख-जेठमा भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा बुटवल लुम्बिनीबाट पछिल्ला खेलहरु खेलेका थिए ।

त्यसअघि उनले अजवाल एफसीबाट भारतमा आइ लिगसमेत खेलेका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाले आगामी कात्तिक २९ गतेदेखि ए डिभिजन लिग आयोजना गर्दैछ । त्यसका लागि क्लबहरुले अहिले धमाधम खेलाडी अनुबन्ध गरिरहेका छन् ।

मछिन्द्रले पनि आइतबार राष्ट्रिय टिमका युवा खेलाडी मनिस डाँगीलाई अनुबन्ध गरिसकेको छ । त्यसअघि च्यासलबाट सुनिल बललाई भित्र्याइसकेको छ ।

पछिल्लो पटक मछिन्द्रबाट लिग खेलेका पिटर सेगुन सातदोबाटो युथ क्लब पुगेका छन् भने एडेलाजा सोमिडेलगायत अन्य खेलाडी पनि लिगका लागि नयाँ क्लबमा पुगिसकेका छन् ।

मछिन्द्रले उपाधि रक्षा गर्ने लक्ष्यका साथ नयाँ खेलाडीहरु थप गर्दै टिम बलियो बनाउन लागेको छ । त्यसका लागि च्याम्पियन टिमका अधिकांश खेलाडीलाई क्लबमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment