+
+

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : तालिबान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १५:५०

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ ।

बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । हाम्रो लागि उसले अवसर दिन गइरहेको छ । चीन अफगानिस्तानमा लगानी र निर्माणको लागि तयार छ ।’

३१ अगष्टबाट अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता गइसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । अहिले अफगानिस्तान आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ ।

मुजाहिदले चीनको न्यु सिल्क रोडबाट अफगानिस्तानलाई फाइदा हुने बताएका छन् । उनले भने, ‘न्यु सिल्क रोड वा वान बेल्ट वान रोडले चीन, अफ्रिका, एसिया र युरोपलाई जोड्नेछ । यो कार्यक्रममा बन्दरगाह, रेलवे, सडक र औद्योगिक पार्क बन्नेछन् ।’

अफगानिस्तानमा तामाको ठूलो भण्डार छ र अफगानिस्तानको यो खानी तालिबानले चीनलाई हस्तान्तरण गर्न सक्छ । मुजाहिदले चीनले अफगानिस्तानको खानीलाई आधुनिकीकरण गर्ने बताएका छन् ।

मुजाहिदले महिलालाई विश्वविद्यालयमा पढ्ने अनुमति हुने, नर्स र प्रहरीमा पनि काम गर्न सक्ने बताएका छन् । यद्यपि उनले महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिइने बताएका छन् । तालिबानले रुससँग पनि आफूहरुको राजनीतिक तथा आर्थिक सम्बन्ध रहेको बताएको छ । मुजाहिदले रुसले शान्ति सम्झौताको लागि मध्यस्थता गरेको र शान्ति वार्तामा उसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?