+
+
अग्रपथ :

नियमित नेतृत्व हस्तान्तरणले पार्टी बलिया हुन्छन् कि कमजोर ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ भदौ २० गते ८:३१

यदाकदा स-साना अनौपचारिक प्रसङ्गले निकै गहिरा, अर्थपूर्ण ज्ञान दिन्छन् ।

करीब पाँच वर्ष अघिको कुरा । भाइ लक्ष्मण राई र म इटहरीबाट मोटरसाइकलमा झापाको बुधबारे जाँदै थियौं । उनी कुदाउँदै थिए र म पछाडि बसेको थिएँ । बेलबारी बजार काटेर जङ्गलको सुनसान क्षेत्रमा प्रवेश गर्ने बित्तिकै लक्ष्मणले एक अनौठो प्रश्न सोधे- ‘दाइ भन्नुस् त, बीपी कोइराला र सूर्यबहादुर थापाबीचको मुख्य भिन्नता के हो ?’

म अक्क न बक्क परें । के भन्न खोजेको हो, बुझिनँ । मैले बीपी कोइराला र सूर्यबहादुर थापालाई कहिल्यै तुलनीय ठानिनँ । कहाँका बीपी, कहाँका सूर्यबहादुर । कहाँ एक लोकतान्त्रिक योद्धा, कहाँ पञ्चायती सत्ता राजनीतिका खेलाडी । बीपीको बौद्धिकता, उत्कृष्ट साहित्यिक सिर्जना र क्रान्तिकारी व्यक्तित्वको सामु सूर्यबहादुर थापा मलाई सर्वथा फिका लाग्थ्यो/लाग्छ ।

त्यो भिन्नै कुरा हो कि सत्ता राजनीतिको चातुर्य र प्रशासनिक कलामा सूर्यबहादुर थापाका आफ्नै प्रकारका क्षमता थिए । लक्ष्मण भाइले यी दुई व्यक्तित्व बीच कुन आयामको तुलना चाहेका हुन् नबुझेपछि मैले कुनै उत्तर दिन सकिनँ ।

अन्ततः उनैले भने- ‘बीपी आफू कमजोर भएर पनि पार्टी, आन्दोलन र साथीभाइलाई बलियो बनाउँथे, सूर्यबहादुर पार्टी र साथीभाइलाई कमजोर बनाएर आफू बलियो हुन्थे । हेर्नुहोला, सूर्यबहादुरका छोरानाति पनि धेरै दिन राप्रपामा बस्दैनन् ।’ नभन्दै लक्ष्मण भाइको भविष्यवाणी चार वर्षपछि सही सावित भयो ।

लक्ष्मण भाइको तुलना मलाई रमाइलै लाग्यो । आफू कमजोर भएर पनि पार्टी बलियो बनाउने कि पार्टी कमजोर बनाएर भए पनि आफू बलियो हुने ? यो वास्तवमै राजनीतिको फरक-फरक तरिका हो ।

कुनै राजनीतिक दल किन दीर्घजीवी र कुनै खहरेको बाढी जस्तो अल्पकालीन हुन्छन् ? यसका अरू थुप्रै कारण होलान्, तर त्यसमध्ये एक नेतृत्व, नेतृत्वको सोच र जीवनशैली, नेतृत्व हस्तान्तरणको प्रवृत्ति पनि हो । अक्सर ती पार्टीको कुनै दीर्घजीवन हुँदैन, जो कुनै नेतासँगै जन्मिन्छन् र नेतासँगै मर्छन् । कुनै व्यक्तिलाई शक्तिशाली बनाउन बनेको पार्टी वा कुनै व्यक्ति मात्र शक्तिशाली हुँदै गएको पार्टी दीर्घजीवी हुन सक्दैन । नेता प्रधान पार्टीहरूको अस्तित्व नेताकै व्यक्तिगत जीवनसँग जोडिएको हुन्छ । नीति, सिद्धान्त, विचार र एजेण्डाप्रधान पार्टीलाई अर्को कुनै नेता आउँछ र फेरि अगाडि बढाउँछ ।

राजनीति आफू बलियो हुनका लागि हैन, विचार, एजेण्डा र आन्दोलनको निरन्तरताका लागि गर्ने नेतृत्वले भविष्य सोच्छ । आन्दोलनको गरिमा सोच्छ । आफू दीर्घजीवी छैन, म मर्छु कुनै दिन, त्यसपछि मेरो विचार, पार्टी, आन्दोलन र विरासतको स्थिति के हुन्छ भनेर सोच्छ । जसलाई यी चिजसँग मतलब हुँदैन, त्यसले आफू बाँचुन्जेल कसरी शक्तिशाली भइरहने, पद प्रतिष्ठा प्राप्त गरिरहने भनेर मात्र सोच्छ ।

जसले भविष्य सोच्छ, निसन्देह उसले असल उत्तराधिकार जन्माउने प्रयत्न गर्दछ । नयाँ पुस्तामा आफूभन्दा राम्रा सम्भावना भएका मान्छे देखिए, उसलाई अगाडि बढाउन खोज्छ । जसले आफू सोच्छ, उसले कहिल्यै नेतृत्व छोड्दैन । त्यस्तो नेताले नेतृत्व स्थिरताको कुरा गर्न थाल्दछ । आफूले छोडे सबै चिज सकिने, बर्बाद हुने हुँदा बाध्य भएर आफैंले नेतृत्व गर्नु परेको नक्कली/पाखण्डी तर्क गर्न थाल्दछ ।

राजनीतिक दलमा नेतृत्व नियमित हस्तान्तरण गर्नु ठीक हुन्छ कि कुनै व्यक्तिको लामो निरन्तरता हुनु राम्रो हुन्छ ? यो निकै ठूलो बहसको विषय हो । वाद-विवादको दुवै पक्षमा थुप्रै अनुकूल/प्रतिकूल तर्क गर्न र तथ्य संकलन गर्न सकिन्छ । तर, अधिकांश घटनाले के सिद्ध गर्दछन् भने नियमित नेतृत्व हस्तान्तरणको विधिबाट नै विचार, आन्दोलन र दलको दीर्घजीवन सुनिश्चित हुन सक्दछ ।

जस्तै- भारतमा राष्ट्रिय कंग्रेस एक ऐतिहासिक र महत्वपूर्ण दल हो । यसको नेतृत्व हस्तान्तरणको प्रवृत्ति के थियो भनेर एकपटक नियालेर हेरौं । कंग्रेस गठन हुँदा प्रत्येक वर्ष अधिवेशन र सभापति परिवर्तन हुने प्रचलन थियो । सन् १८८५ देखि सन् १९०० सम्मको १५ वर्षमा १६ जना कंग्रेसको सभापति भएका थिए । सन् १९०१ देखि सन् १९४७ सम्मको ४७ वर्षमा ४५ पटक कंग्रेस नेतृत्वको परिवर्तन भएको थियो । यति छिटोछिटो नेतृत्व परिवर्तन हुँदा पनि कंग्रेसले स्वतन्त्रता जस्तो महान् आन्दोलनको नेतृत्व गर्न सक्यो ।

यहाँनेर फेरि सोचौं- अमेरिका जो, संसारको पहिलो शक्तिशाली राष्ट्र बनेको छ, मानौं कि आजीवन कुनै व्यक्ति पार्टी र राज्यसत्तामा बस्न पाउने नियम भएको भए के अमेरिकाले आजको जस्तो उन्नति गथ्र्यो होला ? शायदै गर्ने थियो

पछिल्लो पटक कंग्रेस नेतृत्व हस्तान्तरणको स्थिति के छ ? त्यो पनि हेरौं । सन् १९९८ देखि आजसम्म २३ वर्षमा जम्मा दुईजना सभापति भएका छन् । सोनिया गान्धी र राहुल गान्धी । आमा, छोरा आलोपालो । पार्टी भने झन्पछि झन् कमजोर हुँदैछ । जबकि ठीक यही अवधिमा कंग्रेसको मुख्य प्रतिस्पर्धी सत्तारुढ भारतीय जनता पार्टीमा ११ पटक अध्यक्ष परिवर्तन भएको छ । त्यसमध्ये लालकृष्ण आडबाणी र राजनाथ सिंह दुई जना मात्र दोहोरिएका छन् ।

खुश्वु ठाकरे, बंगारु लक्ष्मण, जे. कृष्णमूर्ति, बकैया नायडु, नितिन गडकरी, अमित शाह र जेपी नड्डा एकपटक मात्र अध्यक्ष भए । अझ रोचक कुरा भाजपाबाट दुईपटक प्रधानमन्त्री भइसकेका नरेन्द्र मोदी अहिलेसम्म कहिल्यै पार्टी अध्यक्ष भएका छैनन् । उनी अध्यक्ष नभइकन पनि प्रधानमन्त्री हुन सके, राजनाथ सिंह, नितिन गड्करी, अमित शाह जस्ता प्रभावशाली पार्टी अध्यक्षले विना हीनताभास मोदी सरकारको मन्त्रीका रूपमा काम गर्न स्वीकार गरे । भाजपा कंग्रेसभन्दा झन्झन् बलियो हुँदै गइरहेको छ भनिन्छ ।

यी दुई उदाहरणलाई तुलना गर्दा प्रष्ट हुन्छ कि नेतृत्वको स्थिरताले कुनै आन्दोलन र पार्टी बलियो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । र, नेतृत्व कुनै स्थिर पदसोपानको विषय हैन ।
अर्कोतिर चीनको उदाहरण हेरौं । चिनियाँ कम्युनिष्ट पार्टीमा माओत्सेतुङको उदय सन् १९३८ मा भएको थियो । उनी आजीवन सन् १९७६ सम्म करीब ४० वर्ष पार्टीको मूल नेता रहे । क्रान्तिकालमा माओको नेतृत्व सर्वस्वीकार्य जस्तो थियो । तर सत्ताकालमा माओकालीन चीनको अवस्था खासै राम्रो रहेन । पार्टीभित्र बारम्बार षडयन्त्र र गडबडी भइरहे । लि साओचीलाई सडकमा नाङ्गै घुमाइयो, जेल हालियो, जेलमै उनको मृत्यु भयो ।

सांस्कृतिक क्रान्तिकालमा ‘ग्याङ अफ फोर’ जन्मियो । माओकै कान्छी श्रीमती चियाङ चिङको नेतृत्वमा, माओकै प्रत्यक्ष/अप्रत्यक्ष प्रेरणा र छत्रछायाँमा । त्यसले गरेका गडबडी र विध्वंसको भिन्नै कथा छ । माओका उत्तराधिकार ठानिएका लिन प्याओले माओकै हत्या गर्न खोजे भनियो, अन्ततः उनी आफैं रहस्यमय जहाज दुर्घटनामा मारिए ।
यहाँनेर सोचौं, मानौं कि माओले क्रान्तिपछि दुई कार्यकाल मात्र पार्टी नेतृत्व गरेर राजनीतिक संन्यास लिएको भए, यस्ता घटना हुन्थे होला कि हुँदैनथे होला ? शायदै हुन्थे ।

सन् १९७८ पछि देङ सिआयो पिङले चिनियाँ कम्युनिष्ट पार्टीको बिल्कुलै फरक ढंगले नेतृत्व गरे । उनले पार्टी अध्यक्ष, महासचिव, राष्ट्रपति, प्रधानमन्त्री कुनै औपचारिक पद लिएनन् । पार्टीका शीर्षस्थ आठ नेताहरूको समूहबाट सामूहिक निर्णय गर्ने विधिबाट सन् १९९० सम्म करीब १२ वर्ष सक्रिय नेतृत्व गरे । भविष्यका लागि दुई कार्यकालका लागि मात्र पार्टी महासचिव तथा राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था गरे । त्यस नियम मुताबिक तीन जना झाओ झमिन, हु जिन्ताओ र सी जिन पिङमा नियमित तथा शान्तिपूर्ण सत्ता हस्तान्तरण भएको छ । देङको यो नियम अहिले सी जिन पिङले हटाइदिएका छन् । त्यसको प्रभाव कस्तो पर्दछ, हेर्न बाँकी छ ।

माओको एकल र एकछत्र नेतृत्वको समयमा भन्दा देङको सामूहिक नेतृत्व र नियमित नेतृत्व हस्तान्तरण विधिमा चीनले धेरै गुणा बढी उन्नति गर्‍यो ।

अमेरिकामा पार्टीको अध्यक्ष को हो भन्ने नै धेरैलाई थाहा हुँदैन । राष्ट्रपति, गभर्नर वा सिनेटरको उम्मेदवार हुन अध्यक्ष भएर पार्टी सत्ता कब्जा गरिरहन जरूरी नै छैन । प्राइमर निर्वाचनको प्रचलनका कारणले पार्टी अध्यक्ष नभएको व्यक्ति पनि पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्दछ । राष्ट्रको एक कार्यकाल चार वर्षको र दुई पटकसम्म मात्र हुने हुँदा त्यहाँ नियमित नेतृत्व हस्तान्तरणको प्रक्रिया छ भन्नुपर्ने हुन्छ ।

यहाँनेर फेरि सोचौं- अमेरिका जो, संसारको पहिलो शक्तिशाली राष्ट्र बनेको छ, मानौं कि आजीवन कुनै व्यक्ति पार्टी र राज्यसत्तामा बस्न पाउने नियम भएको भए के अमेरिकाले आजको जस्तो उन्नति गथ्र्यो होला ? शायदै गर्ने थियो ।

अब नेपालमा फर्कौं ।

२०३० को दशकमा मोहनविक्रम सिंह नेतृत्वको चौथो महाधिवेशन (चौम) सबैभन्दा ठूलो, बलियो कम्युनिष्ट समूह र देशकै एक बलियो राजनीतिक दल मानिन्थ्यो । झापाली को-अर्डिनेसन केन्द्र र मुक्तिमोर्चा समूह मिलेर २०३५ सालमा नेकपा (माले) बनाए । सीपी मैनाली मालेका संस्थापक महासचिव थिए । त्यसयता झलनाथ खनाल, मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपाल, केपी ओली अझ माले फुटेको अवधिलाई समेत जोड्दा वामदेव गौतम र सहना प्रधान गरी सातजना पार्टीको मूल नेतृत्वमा आए, गए ।

तर चौमधारका मूल नेता मोहनविक्रम सिंहले भने ८६ वर्षको उमेरमा पनि नेतृत्व हस्तान्तरण गरेका छैनन् । चौमधारमा बारम्बार फुट भयो । चौमभन्दा माले धार धेरै बलियो भएर आयो । अहिले उनी मसाल नामको एउटा सानो र झन्झन् टाक्सिंदै गएको समूह चलाएर बसेका छन् । चौमधारमा भन्दा मालेधारमा नेतृत्व हस्तान्तरण छिट्छिटो भयो र मालेधारको विकास पनि चौमधारको भन्दा तीव्र देखियो ।

आजीवन कुनै व्यक्ति कुनै पार्टीको मूल नेतृत्वमा बस्दैमा पार्टी बलियो हुने भए सबैभन्दा बलिया पार्टी मोहनविक्रम सिंहको मसाल र नारायणमान विजुक्छेको नेमकिपा हुनुपर्ने हो । तर, निश्चिन्त के भन्न सकिएला भने यी नेताको सेखपछि शायदै यी पार्टी रहनेछन्

नेपाली कांग्रेसमा यही अवधिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा गरी पाँच जना पार्टी सभापति भए । अझ रोचक कुरा गणेशमान सिंहले कुनै औपचारिक पद विनै २०४६ सालको जनआन्दोलनको सफल नेतृत्व गरे । राजनीतिक दायित्व र कर्तव्य पूरा गर्न औपचारिक पद मात्र ठूलो कुरा हैन भन्ने उदाहरण पेश गरे ।

आजीवन कुनै व्यक्ति कुनै पार्टीको मूल नेतृत्वमा बस्दैमा पार्टी बलियो हुने भए सबैभन्दा बलिया पार्टी मोहनविक्रम सिंहको मसाल र नारायणमान विजुक्छेको नेमकिपा हुनुपर्ने हो । तर, निश्चिन्त के भन्न सकिएला भने यी नेताको सेखपछि शायदै यी पार्टी रहनेछन् । जस्तो कि विष्णुबहादुर मानन्धरपछि नेकपा (संयुक्त) सकिए बराबर भयो । सुनिल मानन्धरले हात उठाएको पार्टी चन्द्रदेव जोशीले धान्ने कुनै सम्भावना छैन ।

सबैजसो पार्टीको नेतृत्व पङ्क्तिमा उही नेता र उस्तै अनुहारलाई करीब ३० वर्षदेखि बारम्बार देख्नु, भोग्नु, बेहोर्नु पर्दा अहिले देशको नयाँ पुस्ता विरक्त भएको छ । यी बुढाहरूले केही गर्ने पनि हैनन्, छोड्ने पनि हैनन् भन्ने परेको छ ।

भर्खरै विघटित भएको नेकपाका समूहबाट कुरा शुरुआत गरौं । नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहाल प्रचण्ड करीब ४० वर्षदेखि निरन्तर पार्टी सत्तामा छन् । भनिन्छ- मोहन वैद्यले उनलाई पहिलो पटक ३८ वर्षको उमेरमै पार्टी सत्ता सुम्पेका थिए । तर, प्रचण्डले अझै एक दशक आफ्नो समूहको नेतृत्व छोड्ने र नयाँ मान्छे अघि बढाउने कुनै संकेत देखिएका छैनन् ।

मानौं कि २०६६ साल अर्थात् शान्ति प्रक्रियाको टुंगोपछि, तत्कालीन माओवादीमा नेतृत्व हस्तान्तरणको विधि र नियमित प्रक्रिया हुन्थ्यो भने अहिलेको जस्तो यति धेरै टुटफुट हुन्थ्यो कि हुँदैनथ्यो होला ? शायदै हुन्थ्यो होला । प्रचण्ड पार्टीमा निरन्तर बलियो छन् तर पार्टी भने दिनप्रतिदिन कमजोर हुँदैछ । प्रचण्डपछि त्यो पार्टीको नेतृत्व गर्न सक्ने हैसियत भएको नेता अहिलेसम्म देखिएको छैन । कतै कुनै समूहमा गएर एकता गरे भिन्नै कुरा अन्यथा माओवादी केन्द्र विस्तारै अर्को मसाल र नेमकिपा हुने सम्भावना तीव्र छ ।

माधव नेपाल निरन्तर १५ वर्ष पार्टी प्रमुख भइसकेका हुन् । भलै कि तत्कालीन एमालेमा उनलाई अध्यक्ष हैन, महासचिव भनिथ्यो, तर मूल नेता भएपछि पदको नामले कुनै फरक पर्ने हैन । उनलाई अहिले फुटेको समूहको भए पनि अध्यक्ष हुने रहर किन लागेको होला ? यसको कुनै चित्तबुझ्दो उत्तर पाउन सकिन्न ।

भर्खरै बनेको नेकपा -एकीकृत समाजवादी) मा माधव नेपाल भन्दा रामकुमारी झाँक्री पार्टी अध्यक्ष बनेको भए, त्यो पार्टी शायद निकै भिन्नै र आकर्षक देखिन्थ्यो होला । नयाँ पुस्ताले त्यो पार्टीबाट केही आशा गर्न सक्थ्यो होला । झाँक्रीलाई माधव नेपालले अघि बढाएको भए एक नयाँ दृष्टान्त बन्थ्यो होला । नेपालको कद, प्रतिष्ठा र छवि निकै फरक र ‘महान्’ देखिन्थ्यो होला ।

एमालेमा केपी ओली र कांग्रेसमा शेरबहादुर देउवा पहिलो पटक अध्यक्ष र सभापति भएको हुँदा वैधानिक तवरले उनीहरूलाई यो डालोभित्र राख्न नमिल्ला । तर, उनीहरू कुनै चेहरा र आशाका केन्द्र भने हैनन् । ओली, प्रचण्ड र माधव नेपालले नेतृत्वको मोह नराखेर अध्यक्ष र प्रधानमन्त्री तल्लो वरीयताबाट खोजेर सत्ता हस्तान्तरण गरेको भए शायद आज नेकपाको यस्तो हालत हुँदैनथ्यो । चक्रवर्ती सम्राट जस्तो विशालकाय नेकपा (नेकपा) कायमै रहन्थ्यो । आजको जस्तो दुर्दशा र एकसाथ सबै समूहलाई अस्तित्व संकटको नौवत पनि आउने थिएन ।

यस अर्थमा झलनाथ खनाललाई भने निकै भिन्न नेता मान्न सकिन्छ । उनले खुल्ला राजनीतिमा आएपछि एकपटक मात्र पार्टीको नेतृत्व गरे । ज्ञानेन्द्र शाहको ‘शाही कु’ जस्तो जटिल अवस्थामा एक संवैधानिक राजतन्त्रवादी पार्टी एमालेलाई गणतन्त्रको कार्यदिशामा लैजान उनको नेतृत्वकाल महत्वपूर्ण रहृयो । तेस्रो पार्टीमा झरिसकेको एमाले उनकै नेतृत्वकालमा दोस्रोमा उक्लियो । यस अर्थमा खनालको कार्यकाललाई एमालेको ‘स्वर्णकाल’ भन्न सकिन्छ । नवौं महाधिवेशनमा दोहोर्‍याएर उनी पार्टी अध्यक्षको उम्मेदवार भएनन् । यस अर्थमा झलनाथ खनालको इतिहासले भिन्नै मूल्याङ्कन गर्न जरूरी छ ।

प्रचण्डलाई उहिल्यै पार्टीसत्ता छोड्न राजी भएका मोहन वैद्य बुढेसकालमा एउटा सानो समूह बनाएर अझै आफैं नेतृत्वमा घिसि्ररहनुभन्दा आफ्नो धारको कुनै युवालाई नेतृत्व दिए हुने हो । कम्तीमा विप्लव वा आहुतिसँग पार्टी एकता गरी यी दुईमध्ये कुनै एकलाई पार्टी नेतृत्व दिन राजी भए मोहन वैद्यको महानता फेरि एकपटक चुलिने थियो ।

डा. बाबुराम भट्टराई भने कहिल्यै पनि पार्टीको औपचारिक एक नम्बर नेता भएनन् नयाँ शक्तिमा छोटो समय बाहेक । तर औपचारिक पद विनै उनले जुन राजनीतिक छवि र हैसियत नेपालको राजनीतिमा बनाए, त्यो माथि चर्चा गरिएका मूल पद प्राप्त गर्ने नेताहरूको भन्दा कुनै मानेमा कम छैन । अहिले पनि उनले आफूभन्दा ‘जुनियर लाग्ने’ उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष स्वीकार गरेका छन् ।

कमल थापा करीब २० वर्षदेखि राप्रपाको अध्यक्ष छन् । तर, पार्टी भने लगभग समाप्त हुने विन्दुमा पुगेको छ । आफ्नै बुताले एक सीट प्रत्यक्ष जित्न नसक्ने र समानुपातिकमा थ्रेसहोल्ड पनि काट्न नसक्ने बिन्दुमा पुगेको राप्रपा कुन दिन विधिवत् अवसान हुन्छ, टुङ्गो छैन, तर त्यस्तो मरणासन्न पार्टीको नेतृत्व छोड्न समेत थापा राजी छैनन् ।

थापा, राणा र लोहनीलाई केको मोह होला अब ? त्यस्तो पार्टीको अध्यक्ष भएर के प्राप्त हुन्छ र ? त्योभन्दा त बरु राजेन्द्र लिङ्देन वा धवलशमशेर राणा जत्तिका थोरै भए पनि आफ्नै पाइन, जनमत, हैसियत र क्षमता भएका नेतालाई नेतृत्व हस्तान्तरण गरे पार्टीको भविष्य राम्रै हुन्थ्यो होला कि ? तर त्यसो गर्ने सम्भावना कमै छ ।

नेपाल सद्भावना पार्टीमा गजेन्द्रनारायण सिंहको नेतृत्व आजीवन रहृयो । उनको सेखपछि कुनै गतिलो नेता त्यो धारबाट जन्मेन । बरु पार्टी नै समाप्त भयो । मधेशी जनअधिकार फोरमको स्थापनादेखि जनता समाजवादी पार्टीको कार्यकारी अध्यक्षसम्म आइपुग्दा उपेन्द्र यादवकै नेतृत्व करीब १७ वर्ष पुग्न लागेछ । उमेरले उनी अहिले पनि अरू सबै पार्टीका नेताभन्दा कान्छा छन् । जनता समाजवादी पार्टीमा तत्काल उनको नेतृत्वलाई कुनै चुनौती देखिन्न । तर, दीर्घजीवी पार्टीको चाहना राख्ने हो भने उनले पनि असल उत्तराधिकारको पङ्क्ति निर्माण गर्न सोच्ने बेला भइसकेको छ ।

कांग्रेस छोडेर मधेश आन्दोलनमा होमिएका महन्थ ठाकुर उमेरले ७० पार गरिसक्दा पनि पार्टी फोडेर अध्यक्ष भइछाड्ने मनोविज्ञानबाट मुक्त छैनन् । राजेन्द्र महतो वा अनिल झालाई अध्यक्ष मान्न समेत उनको मनोविज्ञान तयार देखिन्न ।

झलनाथ खनालपछि नेतृत्व हस्तान्तरणको असल प्रचलन विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापाले स्थापना गरे । ४२ वर्षकै सानो उमेरमा उनी बिते । तर, ३१ वर्षको उमेरका मिलन पाण्डेलाई नेतृत्वमा आफू जीवित छँदै स्थापित गरेर उनले बिल्कुलै नयाँ संस्कार र संस्कृति दिने प्रयत्न गरे । विवेकशीलको त्यो असल परम्परालाई दुरुपयोग गरी छिटो शक्तिशाली हुने मोहमा रवीन्द्र मिश्रले पार्टीको छवि र स्थापना उद्देश्यलाई नै ध्वस्त पारिदिएका छन् ।

असल नेतृत्व विना असल पार्टी बन्दैन । असल पार्टी विना देश सुशासित र समुन्नत हुन सक्दैन । तसर्थ नेतृत्व हस्तान्तरण प्रक्रियाको महत्व दलका लागि मात्र हैन, देश र जनताकै लागि हुन्छ । इतिहास र सभ्यताकै लागि हुन्छ । चार वर्ष र दुई कार्यकालको अमेरिकी प्रचलन हाम्रा लागि समेत एक आदर्श प्रचलन हुन सक्दछ । चार वर्षको ठाउँमा पाँच वर्ष नै राखौं ठीक छ, तर, सबै पार्टीमा ‘एक व्यक्ति एक पद, दुई कार्यकाल’ को नियम संवैधानिक तथा कानूनी व्यवस्था गरेरै लागू गर्न सके देशको उन्नति र प्रगतिमा त्यसले गुणात्मक फड्को ल्याउन सक्नेछ ।

नियमित नेतृत्व हस्तान्तरणको प्रक्रियाले पार्टी कमजोर हैन, झन् बलिया हुन्छन् । लोकतन्त्र, संविधानवाद र विधिको शासन झन् बलियो हुन्छ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?