
News Summary
Generated by OK AI. Editorially reviewed.- वित्तीय प्रणालीमा अधिक तरलता र असुलीमा सुधारले बैंक तथा वित्तीय संस्थाको स्थिति बलियो बनाएको छ।
- केन्द्रीय बैंकले ५ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको र ब्याजदर ३ देखि ६.५ प्रतिशतसम्म रहेको बताइएको छ।
- आर्थिक गतिविधि र कर्जा विस्तार नबढ्दा, असुलीमा सुधार र तरलता व्यवस्थापनमा ध्यान दिइएको छ।
२० असार, काठमाडौं । चालु आर्थिक वर्ष सकिन लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । असार महिनामा असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा पनि उत्तिकै बढोत्तरी भएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत ५ खर्ब २० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । यसले पनि बैंक तथा वित्तीय संस्थाको असुलीमा सुधार आएको देखिन्छ ।
बैंकहरूले असुली भएको पैसालाई पनि आइडियल राख्नुभन्दा थोरै भए पनि आम्दानी हुने भएकाले केन्द्रीय बैंकलाई दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशतसम्म ब्याज आम्दानी गर्छन् । केन्द्रीय बैंकले ब्याजदर अस्वाभाविक उतारचढाव हुन नदिन वित्तीय क्षेत्रको तरलताका लागि ब्याज दिएर खिच्छ भने तरलता कसिलो हुँदा ६.५ प्रतिशत ब्याज लिई बैंक तथा वित्तीय संस्थालाई तरलता दिन्छ ।
आव अन्तिम महिनामा समान्यतया वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था हुने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन । गत आव अन्तिममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ५५ अर्ब केन्द्रीय बैंकमा राखेका थिए ।
तर, चालु आव असार महिना सकिन अझै २ साता बाँकी हुँदै बैंक तथा वित्तीय संस्थाले ५ खर्ब २० अर्ब राखिसकेका छन् । यसमा पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन मार्फत धेरै तरलता खिचेको छ । बिहीबारसम्म केन्द्रीय बैंकमा रहेको बैंक तथा वित्तीय संस्थाका कुल पैसामध्ये ३ खर्ब १० अर्ब निक्षेप संकलनको हो भने बाँकी २ खर्ब १० अर्ब स्थायी निक्षेप सुविधाको हो ।
चालु आव बैंक तथा वित्तीय संस्थालाई वासलात बलियो बनाउनु पर्ने दबाबले पनि असुलीमा सुधार आउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘वासलात बलियो बनाउन पनि असुली बढाउनु पर्ने नै हुन्छ,’ ती अधिकारीले भने, ‘जति रिकभरी बढ्यो त्यसैगरी खराब कर्जा र निष्क्रिय कर्जाको अनुपात कम हुने हो ।’
उनका अनुसार खराब कर्जा कम हुन नयाँ कर्जा बढाउन वा असुली बढाउने नै हो । चालु आव अपेक्षा गरिएको स्तरमा कर्जा विस्तार भएको छैन । चालु आव मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।
तर, चालु आव वैशाखसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार ८.४ प्रतिशतमात्र छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ३ खर्ब ६८ अर्बले विस्तार भएको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आव कर्जा लगानी अपेक्षित नबढ्दा बैंक तथा वित्तीय संस्था असुलीमा केन्द्रित भएको अवस्था छ । रिकभर हुनेबित्तिकै त्यो पैसा आइडियल राख्नुभन्दा केन्द्रीय बैंक नै उपयुक्त ठानेको हुनाले पनि थुप्रिएको ती अधिकारीको भनाइ छ ।
पछिल्लो समय केन्द्रीय बैंकले २ महिनाभन्दा धेरै अवधिमा निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको पैसा खिचेको छ । त्यो पैसा प्रणालीमा फर्कनका लागि भदौ नै लाग्छ । यसले साउन महिनामा पनि कर्जा लगानी बढ्ने अवस्था देखिँदैन ।
आगामी आव सरकारी खर्च तथा मौद्रिक नीतिको कार्यदिशाका आधारमा मात्रै कर्जा विस्तार कस्तो हुने भन्न सकिने उनले बताए ।
‘आर्थिक गतिविधि नबढ्दासम्म अधिक तरलताको समस्या सुधार हुँदैन, त्यसका लागि अझै २ देखि ४ महिनासम्म लाग्ने अवस्था देखिन्छ,’ उनले भने ।
केन्द्रीय बैंकका अर्का एक उच्च अधिकारी पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको बताउँछन् ।
अर्थतन्त्रका सूचकमा आएको सुधारले पनि वित्तीय क्षेत्रको अवस्थामा सुधार हुने संकेत गरेको उनको भनाइ छ । ‘असुलीमा सुधार आएको हुनाले पनि अधिक तरलता तुलनात्मक बढेको हो,’ ती अधिकारीले थपे, ‘मूल्यवृद्धि पनि लक्षित सीमाभित्र नै रहेको र आर्थिक वृद्धि पनि ४.६१ प्रतिशत हुने अनुमान छ । यसले पनि वित्तीय क्षेत्रमा सुधारमा थप सकारात्मक बनाएको छ ।’
बैंकरहरू पनि पछिल्लो समय असुलीमा सुधार आएको बताउने गरेका छन् । बैंकहरूका अनुसार असार तेस्रो सातासम्म ट्रेन्ड अनुसार करिब १० प्रतिशतसम्म असुलीमा सुधार आउने बैंकहरूको अनुमान छ । बैंकहरूले अपेक्षा गरे अनुसार असुलीमा सुधार आएको खण्डमा ऋणीको नगद प्रवाहमा पनि सुधार आएको स्पष्ट हुन्छ । त्यसले आर्थिक गतिविधि पनि बढाउने छ ।
प्रतिक्रिया 4