
२२ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई रोक लगाउने गरी सूचना, विज्ञप्ति जारी नगर्न सरकारलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले भदौ १८ विज्ञप्ति जारी गरी मित्र राष्ट्रको सहयोगमा सञ्चालित परियोजनाको विरोधमा अभिव्यक्ति नदिन खबरदारी गरेको थियो भने २० गते छिमेकी देशका प्रधानमन्त्रीको विरोधमा प्रदर्शन नगर्न भनेको थियो ।
आयोगले गृह मन्त्रालयबाट हालै प्रकाशित विज्ञप्तिहरुबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको उल्लेख गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोक लगाउने गरी कुनै पनि सूचना, विज्ञप्ति तथा गतिविधि नगर्न, नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
आयोगले प्रदर्शनकारीलाई पनि कुनै विषयमा विमति राख्दा मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्धप्रति संवेदनशील हुन र आफ्ना विरोध प्रदर्शनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया 4