+
+

स्विट्जरल्याण्डमा तीजको रमझम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते ७:३६

आराउ। गत वर्ष कोरोनाको त्रासले हरितालिका तीज पर्वमा पनि नेपाली दिदीबहिनीहरुको घरभित्रै बस्न बाध्य बने । तर, युरोपमा यतिबेला कोरोनाको प्रकोप पूर्ण रुपमा नियन्त्रण नभए पनि खोप लगाइसकेका मानिसहरु भने जमघट गर्न सुरु गरेका छन् ।

फलस्वरूप प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु पनि तीजको आगामनसँगै खुलेर जमघट गर्न सुरु गरेका छन् । गत वर्षको तीजमा स्विट्जरल्याण्डमा नेपाली दिदिबहिनीहरू लकडाउनमा नै थुनिए । तर, यसपटक धितमर्ने गरी नाचगान र हर्षोउल्लासका साथ हरितालिका तीजको स्वागत गरेका छन्।

स्विट्जरल्याण्डको आराउ कान्टोनको स्टाउफेनमा आइतबार दिदीबहिनीहरू रातो पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाए । गैरआवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डले यसपटक पनि यस्तो मेसो जुराएको हो । कार्यक्रम सम्पन्न गर्नका लागि एनआरएनए स्विट्जरल्याण्डले साथ दियो । कोरोनाको कहर यता झण्डै सय जनाको उपस्थितिमा स्विट्जरल्याण्डमा कार्यक्रम भएको यो पहिलो पटक हो ।

एनआरएनको स्विट्जरल्याण्डले यसै वर्ष इतिहासमा नै पहिलो पटक महिला नेतृत्व पाएको थियो । शुभ एल्मर लामाको नेतृत्वको रहेको संघले युवापुस्तामा पनि तीजको महत्व र रहनसहन बुझाउने अभिप्रेरेणाले दोस्रो पुस्ताका नेपालीहरुलाई कार्यक्रममा समेटेको थियो । ‘हामीले कोरोनाको अत्यासपछि धेरैपछि यसरी जमघट गर्ने मौका पायौं । समुदायको यो उपस्थितिले हामीलाई अझ प्रेरेणा मिलेको छ,’ अध्यक्ष एल्मरले भनिन् ।

कार्यक्रममा आईसीसी सदस्य सीमा गौतमले तीजको महत्वबारे बोलेकी थिइन्। उनले विदेशमा नेपाली दिदीबहिनीहरुको आफ्नो चाडपर्व र संस्कृतिप्रतिको यो प्रेमले नेपालसँग सधै नजिक बनाइरहने बताइन् । एनआरएनए महिला फोरम स्विट्जरल्याण्डकी महिला फोरम संयोजक चम्फा रुकस्टुल ज्ञवालीले कार्यक्रमको संचालन गरेकी थिइन् ।

कार्यक्रममा पोर्चुगलदेखि आएकी कलाकार संगीता पुनले तीजको लहर आयो बरिलै गीतमा नृत्य प्रस्तुत गरिन्। सबन महत्तले लाली गुरास अजम्बरी बोलको गीत सुनाइन् । कलाकार निर्मला डंगोलले फुलबुटे सारीमा नृत्य प्रस्तुत गरिन् । तीजको अवसरमा सहभागीहरुलाई आयोजकले दरको समेत व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?