+
+
यात्रा अनुभव :

हरेक गाउँटोलमा जन्मिनुपर्ने रमा दिदीको कथा

सरोज खतिवडा सरोज खतिवडा
२०७८ भदौ २३ गते १८:३०

घाट बजारबाट उकालो लागेका हामी साउखोली पुग्दा साँझ छिप्पिन थालिसकेको थियो । लेकको रमाइलो दृश्य भर्खरै शुरू भएको छ । वरिपरिको जङ्गल र जङ्गलको बीच भागमा फराकिला र सुन्दर घाँसे मैदान छन् । घाम पश्चिमतिर पुगेको छ ।

बाटो नजिकै गोठमा भर्खरैका साना पाडापाडी, बाच्छाबाच्छी चर्न गएका आफ्ना आमालाई बोलाउँदै छन् । एकान्त वनमा पनि परपर गाईवस्तुको घाँटीमा झुण्ड्याएका घण्टीहरू टिङ्टिङ् बजेको सुनिन्छ ।

गाउँबाट गोठतिर चढ्ने गोठबाट गाउँतिर झर्ने यात्रीहरू बाटाभरि भेटिन्छन् । हामी हतार–हतारमा हिंड्दैछौं । एउटा भञ्ज्याङमा पसल भेटिएपछि हामीले चिया खान झोला बिसायौं ।

चिया खान बसेकै अगाडि एका छेउमा बाबियो र चाउचाउ बिस्कुटका कागजहरू राखेर एकजना महिला हातले केही बुन्दै थिइन् ।

हामीले सोध्यौं– ‘दिदी के बुन्नुभएको ।’

दिदीले हाँस्दै भनिन्– ‘टोपी बुन्दैछु भाइ, अस्तिनैको अर्डर छ ।’

‘दिदी एकैछिन गफ गरौं न है’, हाम्रो प्रस्ताव उनले सजिलै सहर्ष स्वीकार गरिन् । एकनाश बुनिरहेको ढक्की छाडेर हामीसँग दिदी गफ गर्न थालिन् ।

जाजरकोटको बारेकोट गाउँपालिकाको केन्द्र लिम्साबाट हिउँदतिर खनिएको सडक नायकवाडा हुँदै दहसम्म पुग्छ । दहबाट मूलबाटो हुँदै उकालो लाग्दा सल्ला, धूपी, भोजपत्रका रूखहरूको जङ्गल छ । विस्तारै उकालो छिचोल्दै गएपछि आउँछ धाम्मधुम्म भन्ने ठाउँ । यहाँबाट शुरू हुन्छ गाईभैंसी गोठ र यो बाटो हुँदै हिंड्ने यात्रीहरूका लागि बनेका होटलहरू ।

धाम्मधुम्मबाट एक घण्टा जति अगाडि बढेपछि पुगिन्छ लाग्ना । लाग्नामा बाटो वारिपारि गरेर चार पाँचवटा घरहरू छन् । दुवैतिर होटलका बोर्डहरू पनि छन् । यहीं छिन्– रमा रावत दिदी । यहीं बसेर उनी अरूले फालेका चाउचाउ, बिस्कुटका प्लाष्टिकहरूबाट ढक्की, टोपी, लोटा, माना, पाथी लगायत सुन्दर सामान बुन्छिन् ।

उनको जन्मगाउँ पातल जिरी हो– जसलाई रावत गाउँ पनि भनिन्छ । उमेरमै विवाह गरेकी रमा दिदीको दाम्पत्य जीवन भने सोचे जस्तो भएन । सधैं खटपट, झगडा हुने श्रीमानसँग छोडपत्र भएपछि उनी फेरि आफ्नो जन्मघरमै फर्किएर आइन् ।

‘दुःख, पीर त लाग्छ नै । मेरो पनि कोही भए हुने जस्तो पनि लाग्छ तर जीवन भनेको त बिताउने नै हो । अनि परिवार भनेको त जहाँ बस्यो त्यहीं हो’ जीवनबारे आफ्नो बुझाइ पस्किंदै उनी भन्छिन् ।

 जाजरकोटको लाग्ना जाँदा–आउँदा रमा दिदीको नजिकतिर प्लाष्टिकका फोहोर भेटिएनन् । जति–जति रमा दिदीबाट टाढा पुग्थ्यौं, उति–उति प्लाष्टिकका फोहोरहरू भेटिन थाले । लाग्यो– यस्ता रमा दिदी त हाम्रा हरेक गाउँ–टोलमा हुनुपर्ने हो !

उनको परिवारमा अहिले सबै गरेर २१ जना छन् । कोही पढ्न, कोही कमाउन, कोही गोठालो जाने हुँदा सबै सधैं एकै ठाउँमा भने हुुँदैनन् । उनी भने आफ्नी आमासँग यो लेकमा बस्दै आएकी छिन् ।

फुर्सद हुने बित्तिकै बाबियो र प्लाष्टिक लिएर बस्ने रमा दिदीको होटल र पसल पनि छ । उनीहरूले गाई, गोरु र सुँगुर पालेका छन् । वर्षाको बेला जङ्गलमा नै छाडा छाड्ने चलन भए पनि हिउँदमा हिउँ पर्ने र निकै जाडो हुने हुँदा वस्तुभाउ तल झार्नुपर्छ ।

त्यही बेला थोरै समय तल रावत गाउँमै बसे पनि धेरै समय भने उनी लाग्ना नै बस्छिन् । ‘धेरै बसेर होला मलाई त यतै आफ्नो जस्तो लाग्छ तल औलमा निद्रा नै पर्दैन ।’ त्यसैले उनी फागुन–चैतमा लाग्ना आए पछि अरू काम परेन भने एकैचोटि असोजमा मात्र तल झर्छिन् ।

बस्न शान्त भए पनि शहर र सडकभन्दा धेरै पर छ लाग्ना । पसलको सामान र खाद्यान्न लगायतको आवश्यक चिज घोडा, खच्चडमा बोकाएर ल्याउनुपर्छ । बिरामी परे उपचार गर्न जाने त सम्भावना नै छैन ।

भेटेसम्म चाउचाउ बिस्कुटको कागज बटुलेर राख्ने उनी बाबियो लिन भने अर्को गाउँ करुवासम्म पुग्छिन् । अरूका लागि फोहोर हुने प्लाष्टिक उनका लागि भने जीवनको निर्वाह गर्ने उपाय भएको छ । प्याकेटमा आएका खानेकुरा खाएर प्लाष्टिक जताततै फाल्ने मानिसहरू उनले प्लाष्टिक जतन गरेको देख्दा कोही अचम्म मानेर हेर्छन्, कोही हाँस्छन् पनि ।

विगत पाँच वर्षदेखि यो काम गर्दै आएकी उनले कसैबाट सिकेकी वा तालिम लिएकी छैनन् । ‘यस्ता सामान बनाउन मैले किताबमा हेरेर सिकेकी हुँ’, आफ्नो सीपबारे उनी बताउँछिन् । धेरैपटक बनाउँदै, बिगार्दै यो सीप सिकेकी हुन् ।

अचेल उनको कमाइ त बढेको छँदैछ, साथमा उनको समय पनि सजिलै कटेको छ । सधैं होटलमा ग्राहक हुन्नन् । गाईवस्तु वनमै छाडीदिए भइगयो । अनि फुर्सदको समय यही काम गरेर बित्छ ।

अरू सामानहरू पनि राम्रो बेचेको सम्झिंदै उनी भन्छिन्, ‘यसैले त सबै थोक पुग्दैन तर मलाई धेरै काम गरेको छ ।’ आफैंले यस्ता सामान बनाउन थालेपछि उनलाई खर्च गर्न अरूसँग लिन पर्दैन । ‘आत्मनिर्भर भएर बाँच्दाको आनन्दै अर्कै हुन्छ’, उनी मुस्कुराउँदै भन्छिन् ।

समय, मिहिनेत र खर्चको हिसाबले उनले बनाउने हरेक सामानको मूल्य पनि फरक छ । उनका अनुसार टोपी प्रति गोटा रु.१३९०, ढकिया रु.१०००, लोटा रु ५००, थाली रु.१५००, चकटी रु.५००, मानाको रु.२५० र पाथीको रु.५०० पर्छ । अहिलेसम्म १० वटा जति टोपी, ५०-६० वटा ढकिया, १५ वटा जति लोटा र अन्य सामान बेचेको बताउने उनले यो वर्ष टोपी र ढकिया मात्र १५-२० वटा बेचिछन् ।

यस क्षेत्रका मानिसहरू पशुपालन गर्ने, जडीबुटी संकलन गर्ने, मौसमी रोजगारीका लागि देशकै शहरहरू र भारत जाने गर्दछन् । तर, रमा दिदीको काम धेरै फरक छ । शहरमा सभ्य र शिक्षित भनाउँदाहरूले जताततै प्रकृति र पर्यावरण ध्वस्त गरिरहँदा यो दुर्गम स्थानमा बसेर चाउचाउ बिस्कुटको कागज प्रयोग गरेर उपभोग्य सामान बनाउनु र पैसा पनि कमाउनु सम्मानयोग्य कुरा हो । एकातिर जताततै देखिने फोहोरको सदुपयोग भएको छ भने अर्कोतर्फ थोरै भए पनि आम्दानी भएको छ ।

बाबियोको पोयामा प्लाष्टिक बेरेर बनाउँदै गरेको सामान आवश्यकता अनुसारको आकार दिएर डोरीले कस्दै तयार हुन्छ । सबैमा पर्दैन तर टोपीमा भने तयार भएपछि भित्रीको रूपमा कपडा प्रयोग गर्नुपर्छ । प्लाष्टिकको र कपडाको रङ ग्राहकको माग अनुसार प्रयोग गर्ने गरेको भए नि कहिलेकाहीं भने जस्तो नपाउँदा मानिसहरू रिसाउने रमा दिदीको अनुभव छ ।

धेरैले भने उनले तयार गरेको मन पराएरै किन्छन् । ‘एकपटक सामान लगेको ग्राहक फेरि आउँदा धेरै खुशी लाग्छ’, उनी भन्छिन् । सबैभन्दा धेरै समय र श्रम लाग्ने टोपी तयार बनाउन उनलाई तीन दिनसम्मको समय लाग्छ ।

‘लुगा त वर्षमा दुई जोर भए पनि हुन्छ तर खान त बिहान–बेलुकै पर्छ नि !’

बटुवाहरू हिंडिरहने यो बाटोबाट बारेकोट, भालुलेक हुँदै डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकाका गाउँहरू पुगिन्छ । च्याखुरेको लेक काटेर जुल्लाको गुठीचौर हुँदै खलङ्गा पुग्नेहरू पनि यही बाटो हिंड्छन् । रमा दिदीको बसाइ यही बाटोमा पर्ने भएकाले उनका सामान किन्ने धेरै ग्राहक पनि डोल्पा, जुम्लातिरकै छन् ।

केही यो पदमार्ग हुँदै घुम्न आउने काठमाडौंसम्मका यात्रीले पनि उनले बनाएका सामान लिएर जाँदा दिदीलाई अझ धेरै खुशी लाग्ने बताउँछिन् । धेरै सामान बनाउन सक्ने भए पनि मानिसहरूको रोजाइमा टोपी र ढक्की नै धेरै पर्ने हुँदा उनी धेरै तिनै सामान बनाउँछिन् ।

चाडपर्व तथा मेलाका बेला महिलाले ढक्की खोज्ने गर्छन् र पुरुषहरूले भने प्रायः टोपी नै लिने गर्छन् । धेरै महङ्गो रहेछ, किन्छन् त भनेर सोध्दा रमा दिदीको जवाफ हुन्छ– ‘यो धेरै वर्ष खप्छ, टोपीकै कुरा गर्दा पनि पानी पनि चुहिंदैन र घाम पनि छेक्छ ।’

गाईवस्तु, सुँगुर पनि पाल्नुभएको छ, पसल होटल पनि छ, यस्तो सामान पनि बनाएर पैसा कमाउनुहुन्छ । ‘यति धेरै कामबाट पैसा कमाएर केमा खर्च गर्नुहुन्छ ?’ प्रश्न भुईंमा नखस्दै रमा दिदी हाँस्दै भन्छिन्, ‘लुगा त वर्षमा दुई जोर भए पनि हुन्छ तर खान त बिहान बेलुकै पर्छ नि !’

भविष्यको लागि थोरैथोरै रकम बचाउने गरेको बताइरहँदा रमा दिदीको अनुहार खुशीले चम्कियो । लाग्ना जाँदा आउँदा रमा दिदीको नजिकतिर प्लाष्टिकका फोहोर भेटिएनन् । जति जति रमा दिदीबाट टाढा पुग्थ्यौं, उति उति प्लाष्टिकका फोहोरहरू भेटिन थाले ।

गाउँठाउँका स्थानीय उत्पादन बजार पुग्न मुश्किल छ । तर, प्लाष्टिकभित्र पसेर दूरदराजसम्म पुगिरहेका छन् बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू । अनि प्रदूषित बनिरहेका छन् हाम्रा बस्ती र टोलछिमेकहरू ।

लाग्यो– यस्ता रमा दिदी त हाम्रा हरेक गाउँ–टोलमा हुनुपर्ने हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?