Comments Add Comment

प्रहरीले कसरी निर्दोष मानिस फसाउँछ ? सन्तमानलाई सोध्नुस्

२४ भदौ, काठमाडौं । सन्तमान तामाङ (परिवर्तित नाम) को १० वर्षदेखि मानसिक सन्तुलन कमजोर छ । उपचार नहुँदा उनी सिन्धुपाल्चोकको तातोपानी नाका वरपर निष्फिक्री नाङ्गै डुल्थे । सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई अकस्मात् २४ मंसीर २०७६ मा पक्राउ गर्‍यो ।

अमेरिकी डलर तस्करीको आरोपमा १० वर्ष कैद र १ करोड ८६ लाख रुपैयाँ जरिवाना ठहर भएको कसुरमा उनलाई कारागार चलान गरियो । विदेशी विनिमय नियमित गर्ने ऐन अनुसार कसुर गरेको अभियोगमा जेल परेका उनलाई सम्भवतः अमेरिकी डलर कस्तो हुन्छ भन्ने जानकारी थिएन ।

०००

१० वर्ष अगाडिको कुरा हो । ३० असोज २०६८ का दिन सिन्धुपाल्चोक प्रहरीले एउटा सूचना पायो । त्यो सूचना ‘कसैले एउटा जीपमा अमेरिकी डलर लुकाएर काठमाडौंबाट तातोपानी हुँदै चीन लैजान खोजिरहेको छ’ भन्ने थियो । चनाखो बनेर बसेको प्रहरीले एउटा जीप रोकेर खानतलासी गर्दा नभन्दै २ लाख ३६ हजार अमेरिकी डलर फेला पार्‍यो । प्रहरीको दाबी अनुसार, ‘जीप रोकेर खानतलासी गर्नासाथ चालक गोम्दे तामाङ फरार भए ।’ प्रहरीले त्यो डलर र गाडी सहित यो मुद्दाको फाइल अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठायो ।

राजस्वले घटनामा अरू कोही संलग्न भएको नदेखिएको भनेर गोम्देलाई प्रतिवादी बनाएर मुद्दा चलायो । फरार भएका गोम्दे अदालत आउने कुरै भएन । मुद्दाको सुनुवाइपछि जिल्ला अदालत सिन्धुपाल्चोकले २२ वैशाख २०७३ मा उनलाई कसुरदार ठहर्‍यायो । जीप चालक गोम्देलाई १ करोड ८६ लाख रुपैयाँ जरिवाना र एक महीना कैद सजाय हुने फैसला सुनायो । यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । करीब १० महीना जेल बसेका सन्तमानलाई १५ असोज २०७७ मा सर्वोच्च अदालतले ‘गैरकानूनी थुनामुक्त गर्नु’ भन्यो ।

प्रहरीले अमेरिकी डलर अपचलनको आरोपमा मानसिक सन्तुलन कमजोर रहेका सन्तमानलाई किन पक्राउ गर्‍यो ? त्यो डलरकाण्डमा गोम्दे भनिने जीप चालकलाई मात्रै मुछेर मुद्दा चलाउनुको कारण के थियो ? सन्तमान किन अनाहकमा ९ महीना २० दिन कारागारमा बस्नुपर्‍यो ? षडयन्त्र र रहस्यको भित्री पाटो थाहा पाउन २०६८ साल असोज मसान्तको घटनामा पुग्नुपर्छ ।

०००

३० असोज २०६८ मा जीपमा डलर बरामद भएपछि भागेका चालक गोम्दे तामाङका बारेमा प्रहरीले खोजबीन शुरू गर्‍यो । आइतमान तामाङको नाति, चिम्से तामाङको छोरा उनी तातोपानी गाविस-४ का बासिन्दा रहेको खुल्यो । उनले जीपको पछाडिपट्टकिो पाङ्ग्राको माथि टिनमा प्वाल पारी भित्र डलर लुकाएको भेटियो ।

प्रहरीले फाइल जिम्मा लगाएपछि राजस्व अनुसन्धान विभागले जीपको साहु खोज्न थाल्यो । भन्सारबाट लिलाम बिक्री भएको उक्त जीप परिवर्तन राई भन्ने व्यक्तिले किनेको थाहा भयो । लिलामी गाडीहरू वाग्मती अञ्चल यातायात कार्यालयमा दर्ता नहुने भएकाले गण्डकीमा लगेर दर्ता गरेका रहेछन् । बयानमा परिवर्तन राईले भनेका छन्, ‘त्यही दिन मैले तातोपानी-४ सिन्धुपाल्चोक बस्ने अशोक श्रेष्ठको छोरा सुनिल श्रेष्ठलाई बेचेर नामसारी गरिदिएको हो ।’

गाडीधनी सुनिल श्रेष्ठ राजस्व अनुसन्धान विभागको सम्पर्कमा पुगे । उनको दावी अनुसार, जीपमा डलर बरामद हुनुभन्दा १९ दिनअघि असोज ११ गते उनले त्यो गाडी विश्वनाथ शिवाकोटीलाई सम्झौता गरेर भाडामा दिएका रहेछन् । सम्झौतापत्र अनुसार, मासिक ४० हजार रुपैयाँ सुनिलले भाडा पाउथे । ‘गाडीले अवैध डलर बोकेको बारे मलाई थाहा छैन’ उनले बयानमा भनेका छन्, ‘बोकेको भए विश्वनाथ शिवाकोटी जिम्मेवार हुनुपर्ने हो ।’

राजस्वले विश्वनाथलाई बोलायो । अब विश्वनाथ होइन, उनका छोरा शान्तज्ञानी शिवाकोटी राजस्व अनुसन्धान विभाग पुगे । शान्तज्ञानीले १२ चैत २०६८ मा एउटा निवेदन दिंदै १३ मंसीर २०६८ मा आफ्ना बाबुको निधन भएको प्रमाण पेश गरे । उनले बयानमा भनेका छन्, ‘(बाबु) विश्वनाथ शिवाकोटीले कुनै पनि गाडी भाडामा लिएर चलाएको भन्ने झुट्टा कुरा हो ।’

त्यसपछि गाडीधनी सुनिल श्रेष्ठले पनि कुरा बङ्ग्याउन थाले । उनले पुरानै दाबी दोहोर्‍याए । उनको भनाइमा विश्वनाथ शिवाकोटीले आफ्नो ठेगाना दोलखा, सुस्पा क्षेमावती गाविस-२ भनी सम्झौतापत्रमा लेखेको दाबी गरे । ‘निजको छोराले कुन व्यहोराले निवेदन दिए, निजको मृत्यु कहिले भयो थाहा छैन’ उनले बयानमा भनेका छन्, ‘सम्झौता गर्ने विश्वनाथ र निवेदन पेश गर्ने शान्तज्ञानी शिवाकोटीका पिता विश्वनाथ शिवाकोटी एकै व्यक्ति हुन् वा फरक व्यक्ति हुन् थाहा छैन ।’ उनले सम्झौता भएपछि भाडामा लिने व्यक्तिसँग आफ्नो भेट नभएको दाबी गरे । पछि सरकारी वकिलको कार्यालयले निर्णय गरेर सवारी धनी श्रेष्ठलाई गाडी फिर्ता दियो ।

अब अनुसन्धान अधिकारीहरूलाई झनै सजिलो भयो । सरकारी वकिलको कार्यालयले फरार भएको भनिएको जीप चालक गोम्दे तामाङलाई सारा कसुरको भार बोकाइदियो । अनि अरू सबै जनालाई सजिलो बनाइदियो । जीपमा भेटिएको रकम जफत हुनुपर्ने, गोम्देलाई कैद र जरिवाना हुनुपर्ने दाबी गर्दै सरकारी वकिलको कार्यालयले सजिलो गरी अभियोगपत्र दर्ता गर्‍यो । अनि घटनाको सुराकी गरेको भन्दै नरेन्द्र गिरी, महाविर लामा र राजकुमार मल्ललाई पुरस्कार (कमिसन) दिनुपर्ने दाबी पेश गर्‍यो ।

प्रहरीको दाबी अनुसार १९ वैशाख २०७१ मा गोम्दे आफैं अदालतमा पुगेर म्याद बुझे । मुद्दाको सुनुवाइपछि न्यायाधीश चिन्तामणि बरालको इजलासले गोम्देले नै जीप चलाएको र त्यसमा डलर ओसारपसार गरेको भनेर उसलाई कसुरदार ठहर गर्‍यो ।

फैसला अनुसार बरामद भएको डलर जफत हुने भयो भने त्यति नै रकम जरिवाना पनि हुने भयो । अनि जिल्ला अदालतले गोम्देलाई एक महीना कैद सजाय तोक्यो । २२ वैशाख २०७३ को फैसला अनुसार सूचना दिने सुराकीहरूले २० प्रतिशतले ३७ लाख २२ हजार रुपैयाँ कमिसन पनि पाउने भए ।

यो पनि पढ्नुहोस सैनिक अदालतको गलत फैसलाले २८ महिना थुनिए निर्दोष दुई सैनिक

गोम्दे फरार,सन्तमानतिर आँखा

सिन्धुपाल्चोक प्रहरी टोली जिल्ला अदालत सिन्धुपाल्चोकबाट दोषी ठहर भएको गोम्देको खोजीमा लाग्यो । खोज्दै जाँदा उसले मानसिक सन्तुलन कमजोर भएका सन्तमानलाई नै गोम्दे हो भनेर २४ मंसीर २०७६ मा पक्राउ गर्‍यो ।

सन्तमानको मुद्दा लडेका एकजना कानून व्यवसायीका अनुसार, पक्राउलगत्तै प्रहरीले एक/दुई झापड हानेपछि सन्तमान डराएर आफू गोम्दे भएको स्वीकारे । उनले आफ्नो नाम मात्रै होइन, बाबुको नाम सिञ्चे तामाङ हो पनि भने । अनि आफूले २०६८ सालमा डलर बोकेको गाडी चलाएको पनि स्वीकार गरे ।

प्रहरीले गाउँका अरू मानिसको पनि मद्दत लियो । उनीहरू पनि गोम्दे तामाङ यही हो भन्न राजी भए । त्यही भाषामा सर्जमिन बनाइयो । त्यही व्यहोराको कागजका आधारमा उनी कारागार चलान भए । अदालतले तोकेको सजाय बाहेक जरिवाना बुझाउन नसकेको रकमबाट दैनिक ३०० रुपैयाँ कट्टा हुने गरेर उनलाई बढीमा १० वर्ष कैद ठेकियो । कारागार प्रशासनको हिसाबकिताब अनुसार, उनी २३ पुस २०८६ सम्म कैदमा बस्नुपर्ने भयो ।

०००

मानसिक सन्तुलन कमजोर भएको आफ्नो दाइलाई अनाहकमा प्रहरीले जेल पठाएपछि सन्तमानका भाइ भीमबहादुर तामाङलाई खपिनसक्नु भयो । उनले एकजना अधिवक्ताको सहयोगमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिए । ‘अर्धपागल व्यक्तिलाई फैसला अनुसारको दोषी तँ नै हो भनी पक्राउ गरेको रहेछ’ बन्दीप्रत्यक्षीकरणको निवेदनमा भनिएको थियो, ‘यो काम नेपालको संविधान र प्रचलित नेपाल कानून विपरीत छ ।’

मुद्दा परेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले आफ्नो कामको बचाउ गर्‍यो । र, सन्तमान नै गोम्दे तामाङ हुन् भन्ने दाबी दोहोर्‍यायो । प्रहरीले लिखित जवाफ मार्फत सर्वोच्च अदालतमा भनेको छ, ‘कानूनको छिद्र खोजी फैसला कार्यान्वयन हुन नदिन कपोलकल्पित झूटा बेहोरा उल्लेख गरी निवेदन दिएकोले रिट खारेज गर्न अनुरोध गरिन्छ ।’

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा पत्र पठायो । त्यहाँबाट हेर्दा सन्तमान तामाङको नामबाट नागरिकता जारी भएको भेटियो । अनि गोम्दे र सन्तमानको हस्तरेखा भिडाउन राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाउँदा ‘एउटामा मिल्यो’ भने ‘अर्कोमा तुलना गर्न सकिएन’ भन्ने जवाफ आयो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको राय बाझियो । सिन्हाले सन्तमानलाई रिहा गर्नुपर्ने राय दिए भने श्रेष्ठले थुन्नुपर्ने मत राखे ।

अडियोमा सुन्नुस्

‘मुद्दामा सन्तमान तामाङको नाम कहीं कतै उल्लेख भएको पाइएन । अदालतमा म्याद बुझ्दा गोम्दे तामाङ भनी बुझेको देखियो । सन्तमान र गोम्दे एउटै व्यक्ति हुन् भन्ने कतै पुष्टि भएन । सिन्धुपाल्चोक जिल्ला अदालतको पत्र हेर्दा गोम्दे तामाङ नै पक्राउ परेको भन्ने देखियो’ न्यायाधीश सिन्हाले रायमा भनेका छन्, ‘अभियोगपत्रमा नाम उल्लेख भई कसुर ठहर भएको गोम्दे तामाङ र निवेदक सन्तमान तामाङ एकै व्यक्ति हुन् भन्ने किटान गर्न सक्ने अवस्था नहुँदा थुनाबाट मुक्त हुने ठहर्छ ।’ उनको ठम्याइमा सवारी साधनको चालक अनुमतिपत्र नै नभएको र मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई शंकाको भरमा गोम्दे तामाङ हो भनी कैद गर्दा अन्याय हुन्छ ।

तर, न्यायाधीश बमकुमार श्रेष्ठ यो रायमा सहमत भएनन् । जाँच भएर आउँदा एउटा ल्याप्चे छाप मिलेको आधारले उनले गोम्दे नै सन्तमान हो भन्ने राय दिए । कारागार कार्यालयमा थुनामा रहेको व्यक्तिले आफूलाई स्वयं गोम्दे भनी स्वीकारेको र उसले कारागारबाट दिएको निवेदन र पक्राउका क्रममा लगाएको ल्याप्चे एकआपसमा मिलेकाले फरक व्यक्ति भन्न नमिल्ने न्यायाधीश श्रेष्ठको फरक मत थियो ।

सवारी धनीले समेत नाम खुलाएको, गोम्दे तामाङ जुन ठाउँका हुन् सोही ठाउँमा गई पक्राउ गरेको, पक्राउ गर्दा गोम्दे तामाङ भन्ने व्यक्ति आफू नै हो भनी स्वीकारेकाले उनलाई रिहा गर्न नहुने न्यायाधीश श्रेष्ठको राय थियो । रायमा उनले लेखेका छन्, ‘यसरी ल्याप्चे छाप नै मिली भिडी आएको अवस्था हुँदा उनलाई थुनामै राख्नुपर्छ ।’

संयुक्त इजलासमा दुई न्यायाधीशबीच राय बाझिए तीन सदस्यीय पूर्ण इजलासमा पेश हुनुपर्छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले सन्तमानलाई गोम्दे तामाङ नै हो भनेर किटान गर्न नसकिने भनी न्यायाधीश अनिलकुमार सिन्हाको राय सदर गर्‍यो र सन्तमानलाई थुनामुक्त गर्न आदेश दियो ।

नेपाल कानून पत्रिकामा प्रकाशनको तयारीमा रहेको यो फैसला अनुसार, डलर बरामद मुद्दाको अनुसन्धानका क्रममा सन्तमान तामाङको नाम कतै खुलेको पाइँदैन भने अदालतबाट पठाइएको म्याद समेत गोम्दे तामाङले बुझेको देखिन्छ ।

गोम्दे तामाङको नामबाट मिसिल संलग्न कागजातहरूको नक्कल पाउँ भनी कारागार कार्यालय मार्फत सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेको निवेदनमा सन्तमानले लगाएको ल्याप्चे सहीछाप र गोम्दे तामाङले बुझेको भनिएको तामेली म्यादमा लागेको सहीछाप एकआपसमा भिड्ने नभिड्नेबारे तुलनात्मक अध्ययन गर्न सकिएन भन्ने विधि विज्ञान प्रयोगशालाले प्रतिवेदन तयार गरेको थियो ।

कारागारभित्र गोम्दे तामाङको नाममा सजाय काटिरहेको व्यक्ति (सन्तमान) ले त्यो नाम बाहेक अन्य नामबाट कारागार बाहिर पत्राचार गर्न सक्ने अवस्थै थिएन । सर्वोच्च अदालतको ठहर अनुसार, कारागार भित्रबाट गोम्दे तामाङको नाममा निवेदन लेखी सहीछाप गरी कारागार कार्यालय मार्फत कागजातहरूको नक्कल माग गरेको कारणबाट मात्रै व्यक्तिको परिचय परिवर्तन हुने होइन ।

गोम्देमाथि तयार पारिएको अभियोगपत्र तथा फैसलामा समेत उनलाई आइतमान तामाङको नाति, चिम्से तामाङको छोरा गोम्दे तामाङ लेखिएको छ । पक्राउ पर्दा तयार भएको प्रतिवेदनमा प्रतिवादी गोम्दे तामाङको बाबुको नाम सिन्चे तामाङ भन्ने उल्लेख छ भने अभियोगपत्रमा निजको बाबुको नाम चिम्से तामाङ लेखिएको छ । तर सन्तमानको नागरिकताबाट उनी सिन्चे तामाङ वा चिम्से तामाङको छोरा नभई आइतमान तामाङको छोरा हो भन्ने देखिएको सर्वोच्च अदालतको ठम्याइ छ ।

सन्तमान तामाङले आफू सिन्धुपाल्चोकको तातोपानी गाविस-४ को बासिन्दा भएको दाबी गरेका छन् । जुन हाल भोटेकोशी गाउँपालिका-४ मा पर्छ । तर प्रहरीले पक्राउ गर्दा उनलाई भोटेकोशी गाउँपालिका-२ को बासिन्दा भन्ने उल्लेख गरेको थियो । फैसलामा भनिएको छ, ‘उनको वतनमा एकरूपता देखिएको पाइँदैन र वतनको सम्बन्धमा अनुसन्धानको क्रममा स्पष्ट पार्न सकेको अवस्था पनि छैन ।’

अनुसन्धान र प्रमाणको आधारमा मात्रै राज्यले कुनै शंका गरेको व्यक्तिप्रति अभियोग लगाउन सक्ने र सजाय दिनसक्ने भन्दै सर्वोच्च अदालतले कसुर गरेको र पक्राउ परेको व्यक्ति नै आरोपित व्यक्ति हो भन्ने तथ्य प्रमाणित गर्ने दायित्व सरकारकै भएको भन्ने व्याख्या गरेको छ ।

पक्राउ परेको व्यक्ति नै आरोपित व्यक्ति हो भनेर प्रमाणित गर्ने दायित्व प्रहरीकै हुने भन्दै सर्वोच्च अदालतले आरोपितको बाबुको नाम र ठेगाना नै फरक परिरहेको, व्यक्ति एउटै हो भन्ने आधिकारिक प्रमाण विना हचुवा ढंगबाट व्यक्ति एउटै हो भन्नु कानूनसम्मत नहुने भन्ने व्याख्या गरेको छ ।

‘हाल कैदी जीवन विताइरहेका यी निवेदक सन्तमान तामाङ र अभियोगपत्रमा नाम उल्लेख भई कसुर ठहर भएको गोम्दे तामाङ एकै व्यक्ति हुन् भन्ने शंकारहित तवरबाट पुष्टि हुनसकेको देखिएन’ १५ असोज २०७७ को फैसलामा भनिएको छ, ‘कैदी पुर्जी बदर भई सन्तमानलाई गैरकानूनी थुनाबाट तत्काल मुक्त गर्नु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

पीडित सन्तमानको पक्षमा कानूनी सहायता गरेका अधिवक्ता ख्यामनारायण सापकोटाका अनुसार, त्यतिबेला राजश्व अनुसन्धान विभागले कानूनी छिद्र प्रयोग गरेर जीपको साहुलाई जोगाएको स्पष्टै देखिन्छ । जीपको साहुलाई उन्मुक्ति दिन सम्झौतापत्र खडा गरिएको छ भने सम्झौतापत्रमा उल्लिखित अर्को व्यक्तिको निधन भएको भनी डलर तस्करीमा जीप चालकलाई मात्रै कसुरदार बनाइएको छ । त्यही चालक ‘गोम्दे’ लाई जोगाउन थप योजना बनाइएको र यस क्रममा सन्तमान पक्राउ परेको उनी बताउँछन् ।

‘अब चालक गोम्देको नाममा कसैलाई पक्राउ गरेर कैद भुक्तान गरिदियो भने असली चालक त जोगिने भयो’ उनले अनलाइनखबरसँग भने, ‘भोलि जरिवाना बापतको रकम बुझाउँदा आफूहरूले पनि कमिसन पाउने लोभमा प्रहरीले यो काम गरेको हुनसक्छ ।’
कैद र जरिवाना ठेकिएको फरार आरोपितलाई पक्राउ गरेर अदालतमा बुझाएमा प्रहरीले जरिवानाको २५ प्रतिशत रकम प्रोत्साहन स्वरुप पाउँथे । १ करोड ८६ लाख रुपैयाँ जरिवानाको २५ प्रतिशत हिस्सा अर्थात् साढे ४६ लाख रुपैयाँ कमिसन पाउने लोभमा प्रहरीले मानसिक अवस्था ठीक नभएको एउटा युवालाई फसाउन खोजेको देखिन्छ ।

अन्त्यमा, सन्तमानलाई रिहा गर्नु भन्ने सर्वोच्च अदालतको आदेशले एकैचोटि एकभन्दा धेरै विषय बाहिर ल्याएको छ । यसले पहुँच र प्रभावहीनहरूले अनाहकमा पाउने हण्डर र हैरानीको मात्रै खुलासा गर्दैन, हाम्रो फौजदारी न्यायप्रणालीको तस्वीर पनि उदाङ्गो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कृष्ण ज्ञवाली

ट्रेन्डिङ

Advertisment