+
+
ब्लग :

गल्ती हाम्रै हो, कसरी सच्चिने ? 

बिन्दाकुमारी थापा बिन्दाकुमारी थापा
२०७८ भदौ २५ गते १२:४७

बिहान उठेर कलेज जान लाग्दै थिएँ । हजुरबुबा ठूलो स्वरमा चिच्याउँदै आउनुभयो र भन्न लाग्नुभयो- ‘नानी थाहा पायौ फेरि त्यही घोप्टे मन्त्री बन्ने भएछ नि ! आजै नियुक्तिपत्र दिएर शपथ ग्रहण गराउने रे !’

मैले हजुरबुवालाई सोधें- को भन्नुभएको हजुरबुवा !  ‘त्यही के नानी, हामी सँगै सानामा स्कूल पढ्थ्यौं । पछि १० पनि पास गर्न नसकेर राजनीतितिर लागेको थियो । अहिले त पटकपटक देशको मन्त्री भैरा’छ । हिजो जस्तो लाग्छ नानी १० मा फेल गराएको भन्दै गुरुबा, गुरुआमालाई कालोमोसो दल्न हिंडेको, आज हेर त देशको मन्त्री त्यही पनि पटक–पटक । राजनीतिमै लागेर पछि बिकमसम्म पास गर्यो रे भन्थे ! तर यसले देश चलाएको देख्दा त १० फेल हुँदा गुरुहरूलाई कालोमोसो लगाउन हिंडेको झल्झली याद आउँछ ।’

हजुरबुवा ७८ वर्ष पूरा भैसक्नुभयो । उहाँलाई त यो सरकार र यिनीहरूको शासन पद्धति देखेर यति धेरै वितृष्णा छ भने आजको युवा वर्गमा कस्तो प्रभाव परेको होला ? सजिलै अनुमान गर्न सकिन्छ । साँच्चै हामीले हाम्रो देश सञ्चालनको साँचो कस्ता मानिसलाई सुम्पिंदै आएको छौं ? अब हरेक नेपालीले गम्भीर भएर सोच्ने बेला आएको छ ।

नाता र कृपावादको जालो यतिसम्म बलियो भएर देशको भित्तामा टाँसिएको छ कि अब यो जालो फाल्नलाई ठूलै बलको आवश्यक छ ।

सयौं वर्ष राणा र शाहहरूले देश कब्जा गरे, राणा र शाहहरूबाट ठूलो संघर्ष र बलिदानीबाट देशलाई मुक्त त गरियो तर देश र जनताको मुहारमा अपेक्षा गरे अनुसार परिवर्तन हुनु त परको कुरा, पुराना भएका सकारात्मक र असल कुराहरू पनि मासिंदै गए। देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै संघीय गणतन्त्र पनि आयो तर सीमित मानिसहरूको लागि आलोपालो सत्ता साझेदारीको अवसर बाहेक नेपाली जनताले केही पाउन सकेनन् ।

गरीब अझै गरीब हुने र धनी झन् धनी हुने प्रचलन दिन दुई गुना, रात चार गुना हुन थालेको छ । प्रति व्यक्ति ऋणको भारी प्रत्येक वर्ष बढिरहेको छ । सरकारको लाचारीको कारण शिक्षित बेरोजगारको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।

देशका विश्वविद्यालयहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना सिद्ध भएका छन् । आज पनि ५० लाखभन्दा बढी नेपाली अनेक बहानामा अन्य मुलुकमा कष्टकर र हेपाइको जीवन बिताएर बस्न बाध्य भएका छन् । नातावाद र कृपावादको जालो यतिसम्म बलियो भएर देशको भित्तामा टाँसिएको छ कि अब यो जालो फाल्नलाई ठूलै बलको आवश्यक छ ।

आफ्नो चिनजानको मानिस ठाउँमा नहुने हो भने यहाँ जतिसुकै योग्यता हासिल गरे पनि रोजगारी पाउन असम्भव नै छ । कमिसन खोर, भ्रष्टाचार, अराजकता, दण्डहीनता यतिसम्म मौलाएको छ कि एउटा बाटो निर्माण जस्तो आधारभूत विकासको काममा समेत टोलेदेखि मुण्डेसम्मको कमिसन र भ्रष्टाचारले २० प्रतिशत रकम पनि बाटो निर्माणमा प्रयोग हुन पाउँदैन । महङ्गीले आकाश छोइसक्यो ।

देशमा लोकतन्त्र र गणतन्त्र आएको पनि डेढ दशक भइसक्यो तर सीमित मानिसहरूले बाहेक तमाम ३ करोड नेपाली जनताले त्यो कहिल्यै अनुभूति गर्न पाएनन्, सामाजिक र आर्थिक रूपमा परिवर्तन हुन कहिल्यै सकेन, आज देशमा यस्तो भयावह अवस्था आएको छ कि देशका नागरिकहरूलाई नागरिकताभन्दा बढी आवश्यकता पासपोर्टको र परिवार पाल्ने रोजगारीको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात जस्तो आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको छ ।

देशमा राणाले शासन गरे, शाहले शासन गरे, पञ्चायत आयो, बहुदल आयो कांग्रेस र कम्युनिष्टले पालैपालो सरकार चलाए तर स्थिति उही छ- जुन जोगी आए पनि कानै चिरेका भने जस्तो । कसैले पनि देश र जनताको लागि सिन्को भाँचेन । सिन्को भाँच्न सक्नेहरूलाई हामीले अवसर दिन सकेनौं ।

त्यति मात्र कहाँ हो र देशमा सर्वहारावर्गको उत्थान गर्ने नारा लिएर एउटा समूहले १० वर्ष लामो गृह युद्ध गर्यो । १७ हजार नागरिकले अकालमा ज्यान गुमाए । हजारौं अंग भङ्ग भए । हजारौं बालबालिका टुहुरा भए । हजारौं विधवा भए । हजारौंको काख रित्तियो । अझै हजारौं हजार बेपत्ता छन् । देशको खरबौं खरब सम्पत्ति नाश भयो । उनीहरूले पनि पटकपटक शासन गर्ने मौका पाए तर परिमाण पहिलेको जस्तै ।

देशका नेताहरूले सत्ता, शक्ति र कुर्सीको मोहमा यसरी हानथाप गरेकी एउटा हड्डी कुकुरहरूको बथानमा फाल्दा जसरी लुछाचुँडी हुन्छ त्यस्तै भयो । सीमित आफ्ना आसेपासेबाहेक तमाम तीन करोड नेपाली जनताको भागमा दुःख, पीडा, कष्टबाहेक केही हुन सकेन ।

सरकारको प्रमुख काम देशमा सुशासन कायम गर्नु हो तर यहाँ त यस्तो हुँदैन । यहाँ त बलात्कारीलाई लुकाइन्छ, हत्यारालाई भगाइन्छ । सोझालाई फसाइन्छ, अरबौंको भ्रष्टाचारीलाई लाखको दूधले नुहाएर चोखाइन्छ । पैसा, पावर, सत्ता र शक्तिको लागि सिङ्गो पार्टी टुक्रा-टुक्रा पारिन्छ । ५ वर्षमा १० वटा पार्टीमा चहारिन्छन् । पार्टी परिवर्तन गर्न सिद्धान्त मिल्नु पर्दैन, कुर्सी मिले हुन्छ । पालै पालो सत्तामा जाने अनि आफ्नो १०औं पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने बाहेक सिन्को भाँच्ने काम भएको छैन ।

अचम्म हुँदोरै’छ यहाँको गणतन्त्रमा जे गर्न पनि पाइँदो रै’छ । नेताका छोराछोरीलाई पहाड चढ्न मनलाग्यो भने रातारात करोडौं विनियोजन हुन्छ, तिनीहरूलाई गड्यौला पालन मनलाग्यो भने पनि करोडौं विनियोजन हुने । सत्तामा छउन्जेल देशको ढुकुटी रित्याउने अनि सत्ताबाट बाहिरिएपछि पनि आफ्नो र परिवारको उपचारको बहानामा ढुकुटीमै आँखा लगाउने !

‘लुट्न सके लूट नेपालमै छ छूट’ भन्ने कथन यथार्थसिद्ध भएको छ । यो त समग्र देशमा भएको बेथिति शासन पद्धतिको प्रतिनिधि घटनाहरू मात्र हुन् । समाज, टोल र घरघरका कथाव्यथाहरू त लेखेर र सुनाएर साध्य नै छैन ।

यो सब हुनुमा गल्ती कसको छ ? अब समाधान के त ? यो विषयमा गम्भीर भएर सोच्ने बेला आएको छ र समयमै उचित कदम चाल्नुपर्छ । अब पनि तपाईं हामी चुप लागेर बस्ने हो भने हाम्रो देश कहिल्यै उठ्न नसक्ने गरी दलदलमा फस्ने छ । देशमा यस्तो बेथिति बढ्नुमा शासन सत्ता चलाउने व्यक्तिको दोष होइन ।

दोष त मेरो हो, हाम्रो हो । हो, दोषी हामी हौं । हामीले नै हौं पटकपटक जिताएर सत्तामा पुर्याउने, देश र जनतालाई लुट्न अवसर दिने ।

जेजति हुनुथियो, भयो तर अब हामीले आँखा खोल्ने बेला भएको छ । देश बचाउने जिम्मा तपाईं हाम्रो काँधमा आएको छ । आउनुहोस् आजै– अहिले नै तपाईं हामी कसम खाऔं कि अबबाट ७०/८० वर्ष नाघेका वरिष्ठ र सम्मानितलाई आरामको जरूरत छ । उहाँहरूलाई विज्ञको रूपमा राखी आराम गर्न दिऊँ । हाम्रालाई होइन, राम्रालाई सत्तामा, पहुँचमा पुर्याऔं । देशमै रोजगारको अवसर सिर्जना गरौं । पुराना अनुहारलाई विस्थापित गरौं । उनीहरू पटकपटक फेल भइसके । अब आशा गर्ने ठाउँ छैन । आउनुहोस् आजैबाट, अहिलेबाटै देश बनाउने अभियानमा लागौं । जबसम्म शिक्षित र योग्य व्यक्तिहरू नोकरी, व्यापार, व्यवसाय गर्ने अनि अशिक्षित र अराजकले देश चलाउने गर्छ, देशमा परिवर्तनको कल्पना समेत गर्न सकिंदैन । जति लुट्ने थियो लुटिसके । जति चुस्नु थियो चुसिसके देशको ढुकुटी ।

आउनुहोस्- आजैबाट खबरदारी गरौं र अहिलेबाट नै देशभक्त, कर्मठ र नैतिकवान युवा वर्गलाई देशको चाबी सुम्पिऔं ।

अब तपाईं हामी मिलेर शिक्षित र योग्य व्यक्तिलाई पहिचान गरेर देश सञ्चालनको चाबी बुझाउन जरुरी छ । तर त्योभन्दा पनि अगाडि ‘राइट टु रिजेक्ट’र ‘राइट टु रिकल’को व्यवस्था गर्न अत्यन्त जरुरी छ । यसले मैले काम गर्न सकिनँ भने मलाई फिर्ता बोलाउँछन् भन्ने डर हुन्छ । जबसम्म देशको कार्यकारी अधिकार प्राप्त व्यक्ति प्रत्यक्ष निर्वाचनबाट ‘राइट टु रिकल’ को व्यवस्थासहित छनोट गरिंदैन, तबसम्म यो बेथितिहरू समाधान हुनसक्दैन ।

अब पनि तपाईं हामी जस्तो शिक्षित युवाहरूले यो बारेमा नसोच्ने हो भने देश भोलि अफगानिस्तान, सिरिया, लिबिया हुन कुनै बेर छैन । अनि त्यतिबेला हाम्रा सन्ततिले धिक्कार्ने छन् हामीलाई । हाम्रा पुर्खाहरूले भोग्नुपर्ने दुःख, पीडा, कष्ट, अन्याय र अत्याचार भोगिसके । हामीहरू आज पनि भोग्दैछौं । तर अब तपाईं हामी मिलेर हाम्रा सन्ततिलाई यस्तो दुश्चक्रबाट मुक्त गराउनुपर्छ ।

अब साँच्चै नै युवाहरू देश परिवर्तन गर्नको लागि गाउँ, शहर, बस्ती र गल्ली–गल्लीबाट जागरुक हुने बेला भइसकेको छ । त्यसैले आजैबाट, अहिल्यैबाट आफ्नो परिवार, इष्टमित्र र साथीभाइ सबैलाई लिएर देश बनाउने अभियानमा जुटौं । अबको हाम्रा पिंढीहरूलाई सुन्दर, शान्त र सुशासनसहितको भगवान गौतम बुद्ध र सगरमाथाको देश सुम्पिनु छ । आउनुहोस्- देश बनाउने जागरण अभियानमा सहभागी बनौं । नेपाल जिन्दावाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?