+
+

स्याङ्जाको कालीगण्डकीमा ‘एक घर–एक धारा’ जडान   

रासस रासस
२०७८ भदौ २६ गते १४:२४

२६ भदौ, वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार ३०६ घरमा धारा निर्माण भएको छ । गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानी व्यवस्थापन गरेको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

गाउँपालिकाका हरेकजसो वस्तीमा वस्तीभन्दा तल्लो भागमा पानीका स्रोतहरु भएका कारणले गर्दा पनि यहाँका बासिन्दा खानेपानीको समस्या भोग्दै आइरहेका थिए । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि खानेपानी योजनाहरु सञ्चालन गरेको थियो ।

उनका अनुसार सातवटा वडामा आव २०७६/७७ को अन्तिमसम्ममा २२ वटा खानेपानी योजनमार्फत दुई हजार एक सय २६ घरधुरीमा खानेपानी विस्तार गरिएको थियो । आव २०७७/७८ मा आठवटा योजनामार्फत एक हजार एक सय ८० घरधुरी गरी कूल ३० वटा खानेपानी योजना सम्पन्न गरी कूल तीन हजार तीन सय ६ घरधुरीमा ‘एक घर–एक धारा’ जडान गरी खानेपानीको पहुँच पुर्‍याइएको छ ।

चालु आव २०७८/७९ मा १७ वटा खानेपानी योजना सञ्चालनका क्रममा रहेका गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । उनका अनुसार उक्त योजनाबाट बाँकी रहेका एक हजार सात सय ११ घरधुरी लाभान्वित हुने र सिङ्गो गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरी खानेपानीको सहज हुनेछ ।

गाउँपालिकामा निर्माण सम्पन्न भएका ३० खानेपानी योजनमध्ये वडा नं १ मा जरुवा लिफ्टिङ खानेपानी योजना सबैभन्दा ठूलो योजना रहेको छ । वडा नं २ मा सबैभन्दा सानो कुटगन दाउन्ने खानेपानी योजना रहेको छ । करेकुवा योजनाअन्तर्गत तीन सय ७५ घरधुरी लाभान्वित छन् भने कुटगन योजनाअन्तर्गत ६ घरधुरी लाभान्वित भएका वास संयोजक अधिकारीले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिका–२ को लसर्घा बेँसीका १५७ घरमा धारा निर्माण भएसँगै खानेपानीको पहुँच पुगेको छ । गाउँभन्दा दुई किलोमिटर टाढा रहेको तातोपानी मूलबाट पानी ल्याई गाउँभन्दामाथि रहेको माझटोलमा ट्याङ्की निर्माण गरी सोहीमार्फत् गाउँका प्रत्येक घरमा वितरण गरिएको संयोजक अधिकारीको भनाइ छ ।

मगर समुदायको बसोबास रहेको स्याङ्जाको सुदूरपश्चिम गुल्मी तथा पाल्पाको सिमानासँग जोडिएको लसर्घा बेसीका नागरिकले स्थानीय ठाउँमा रहेका पानीको स्रोत कुवा, खोल्साखोल्सीका खानेपानीबाट तिर्खा मेट्दै आएका थिए ।

‘यो योजना आउनभन्दा पूर्वको समयमा कुवा र खोल्साखोल्सीबाट पानी गाग्रीमा बोकेर खानुपर्ने बाध्यता थियो’, अध्यक्ष थापाले भने, ‘त्यो पनि पर्याप्त थिएन, घण्टौँसम्म लाइनमा बस्नुपथ्र्यो, शुद्ध थिएन तर नखाई नहुने स्थिति थियो ।’

घरघरमै खानेपानीको धारा जडान भएपछि जतिबेला पनि पानीको सहज पहुँच पुगेकाले पिउनदेखि गाईभैँसी तथा करेसाबारीमा पनि प्रयोग गर्न सकिने भएको अध्यक्ष थापाको भनाइ छ ।

प्रत्येक घरमा मिटर जडान गरिएको छ भने मर्मत तथा पानी खोल्ने बन्द गर्नका लागि दुई जना कर्मचारी राखिएको छ । ‘खानेपानीको जोहो गर्नका लागि गाग्री लिएर टाढा रहेको कुवामा जानुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘घरघरमै धारा जडान भएर चौबिसै घण्टा पानी आउन थालेपछि यहाँका बासिन्दालाई सहज र सुविधा भएको छ, आँगनमै पानीको पहुँच पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?