+
+

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ भदौ ३० गते २०:२५

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो ।

१३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका शेरबहादुर देउवा भए ।

महाधिवेशनपछि पनि सिटौलाले आफ्नो समूहलाई निरन्तरता दिए । १४ औं महाधिवेशन आइपुग्दा आफ्नो समूह तलदेखि माथिसम्मै कायम रह्यो । पार्टीको निर्णय प्रक्रियामा प्रभाव देखाउन नसके पनि आन्तरिक प्रतिस्पर्धामा यो समूह निर्णायक शक्तिका रूपमा उदाएको छ ।

संस्थापन समूहमा फुट

आगामी मंसिर ९–१३ गते हुने कांग्रेसको १४ औं महाधिवेशनमा परम्परागत गुटहरू भत्किने र नयाँ गुट थपिने देखिएको छ । सभापति देउवाले नेतृत्व गरेको संस्थापन समूहमा अहिले कम्तीमा दुई गुट देखिएको छ । अघिल्लो पटक सभापतिमा देउवालाई जिताउन ‘त्याग’ गर्न तयार भएकाहरू अहिले फरक ‘रवैया’मा छन् ।

देउवाका सारथी मानिएका उपसभापति विमलेन्द्र निधिले नै देउवालाई चुनौती दिँदै समापतिमा उमेदवारी घोषणा गरिसकेका छन् । देउवाका अर्का सहयोगी गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

अर्थात्, अब संस्थापन समूह एक नरहने निश्चित भयो । यो समूहका एक नेता आफूले चाहेको पद नपाउनेका लागि निधिको टिम सहज विकल्प हुने बताउँछन् । उनका अनुसार, निधिको प्राथमिकता पनि लामो समय देउवा समूहमा सँगै काम गरेका नेता–कार्यकर्तालाई आफ्नो समूहमा संगठित गर्ने नै हुनेछ ।

अविश्वासको यात्रा

काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहमा सभापतिका चार आकांक्षी छन्– स्वयं पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला ।

सभापतिका अरु आकांक्षीले एक अर्कालाई स्वीकार गर्ने अवस्था नदेखेका पौडेल अन्तिममा आफ्नो नाममा सहमति जुट्ने विश्लेषणमा छन् । तर, कोइराला परिवारका सदस्यहरु पनि यसपटक पार्टीको नेतृत्व परिवार बाहिर जान नदिन प्रयासमा छटन् ।

शशांक र शेखर कोइराला दाजुभाइ नै सभापतिको उम्मेदवार बन्ने दौडमा रहेकाले केही बोलेका छैनन् । शशांक कोइराला सभापतिमा देउवालाई हराउन सक्ने उम्मेदवार आफू नै भएको बताइरहेका छन् । शेखर कोइराला पनि यो पटक आफू धेरै अगाडि बढिसकेकाले पछाडि हट्ने अवस्था नरहेको बताइरहेका छन् । कांग्रेसको नेतृत्व कोइराला परिवार बाहिर जान नदिने शर्तमा उनीहरुमध्ये एकले अर्कोलाई समर्थन नगर्लान् भन्न चाही सकिन्न ।

‘वास्तवमा यो पौडेल होइन, कोइराला समूह हो । पौडेल सिनियर नेता भएकाले हामीले उहाँको नेतृत्व स्वीकार गरेका हौं,’ महामन्त्री कोइराला निकट एक नेता भन्छन्, ‘अब कोइराला परिवारबाटै नेतृत्व आउनुपर्छ ।’

सभापति पदका आकांक्षी पूर्वमहामन्त्री सिंह पनि यसपटक पछाडि नहट्ने अडानमा छन् । ‘१३ औं महाधिवेशनमा मैले छोडेकै हो, अब छाड्दिन,’ गणेशमानपुत्र सिंहले भनेका छन्, ‘यसपटक म सभापतिको उम्मेदवार हो ।’

अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. रामशरण महत लगायत नेताहरु पौडेल समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार खडा गर्ने पहलमा छन् । तर, यो पहललाई पनि स्वार्थको रुपमा हेरिएको छ । उनीहरु पौडेललाई सभापतिमा उठाएर आफूहरु पदाधिकारीमा अटाउने दाउमा रहेको पौडेल समूहकै अरु नेता बताउँछन् । सर्वसम्मत उम्मेदवारीको पहलमा समेत खोट देख्ने यो समूहका नेताहरु १४ औं महाधिवेशनमा एक नरहने सम्भावना बढी छ ।

कांग्रेसभित्र तेस्रो धारको रुपमा उदाएको सिटौला समूह नै पनि यो महाधिवेशनमा एकढिक्का नरहने देखिएको छ । अघिल्लो महाधिवेशनमा यो समूहबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन थापाले फेरि महामन्त्रीमै उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापतिका सबै आकांक्षीसँग सम्वादमा रहेका उनले आफ्नो प्यानल खुलाएका छैनन् ।

उता संस्थापन र पौडेल समूहका सभापतिका आकांक्षीहरु सिटौला समूहका नेताहरु तान्ने प्रयासमा छँदैछन् । त्यसैले, महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसमा गुटहरु भत्किने, बन्ने प्रक्रिया तीव्र हुने देखिन्छ । ‘कांग्रेसभित्र व्यापक ध्रुवीकरण हुने देख्छु,’ केन्द्रीय सदस्य डा. डिला संग्रौला भन्छिन्, ‘सभापतिका सबै उमेदवारले आ–आफ्नो समूह बनाउलान् ।’

सिद्धान्त होइन, स्वार्थमा आधारित समूह

जिल्ला अधिवेशन सकिएसँगै गुटहरू बढ्ने वा घट्ने क्रम चल्नेछ । जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्नेछ । केन्द्रीय महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था कांग्रेस विधानमा छ ।

सभापतिका सबैजसो आकांक्षी जिल्ला अधिवेशन कुरेर बसेका छन् । पौडेल समूहका एक नेता सबैले तलबाट आउने प्रतिनिधि नेतृत्व हेरेर आफ्नो शक्तिको लेखाजोखा गर्ने बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा सभापतिका आकांक्षीहरू महाधिवेशन प्रतिनिधि संख्या र जिल्ला सभापतिहरुको हिसाबकिताब गरेर टीम बनाउने तयारीमा छन् ।’

तर महाधिवेशनको क्रममा बन्ने नयाँ गुटले पार्टीभित्र परम्परागत गुटहरूको प्रभाव कमजोर बनाउने ठान्छन् केन्द्रीय सदस्य गुरुराज घिमिरे । ‘जमेको पोखरीजस्तो पार्टीभित्र नयाँ गुटहरुले नयाँ तरंग ल्याउँछन्’, उनी भन्छन्, ‘महाधिवेशनको मुखमा देखिन थालेका नयाँ–नयाँ समीकरणले पार्टीमा नयाँ उत्साह ल्याएको छ । यसले नयाँ पुस्तालाई नेतृत्वमा अगाडि बढ्न हौसला दिएको छ ।’

राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट दलहरुमा गुट जन्मिनुमा सैद्धान्तिक भन्दा नेतृत्वको विषय प्राथमिक कारक बन्न थालेको बताउँछन् । ‘पार्टीमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण भएन,’ उनी भन्छन्, ‘यसले नेतृत्वमा जामको अवस्था आयो र महाधिवेशनमा नेतृत्वमा पुग्न नयाँ गुटहरू जन्मिए ।’

भट्टको विश्लेषणमा, कांग्रेसभित्र एउटा यस्तो पुस्ता छ, जसले यो पटक नेतृत्वमा प्रतिस्पर्धा गर्नैपर्छ । उनी भन्छन्, ‘विमलेन्द्र निधि भन्नुस् या प्रकाशमान सिंह, शेखर भन्नुस् या सशांक कोइराला, यो पटक गुमाउनुभयो भने अर्काे पटक उहाँहरूलाई नेतृत्वको अवसर छैन ।’

तर गुटहरू थपिँदै र बलियो बन्दै गर्दा पार्टी संरचनामा क्षमता, योग्यता र आवश्यकताको साटो भागवण्डाका नाममा पार्टी संगठनमा अवद्ध नै नभएकाहरुले स्थान पाउने गरेको गुनासो धेरै नेता कार्यकर्ताको छ । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला भन्छिन्, ‘महाधिवेशनको प्रतिस्पर्धामा समूहहरुलाई दीर्घकालीन गुटमा रूपान्तरण गर्न नहुने देखिएको छ ।’

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?