+
+

म्युजिक भिडियो निर्देशकहरु अनुशासनमा रहनुपर्छ : विधान कार्की

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ११:४५

नेपालमा म्युजिक भिडियो निर्माण हुन थालेको तीन दशक बढी भयो । यो तीन दशकको अवधिमा म्युजिक भिडियो निर्देशकहरु संगठित हुन सकिरहेका थिएनन् । गत महिना मात्र म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को स्थापना गरिएको छ । विधान एक सफल म्युजिक भिडियो निर्देशक हुन्, जसले निर्देशन गरेका थुप्रै म्युजिक भिडियो दर्शकले रुचाएका छन् ।

‘म्युजिक भिडियो निर्देशक समाज’को किन आवश्यकता पर्यो ? के उद्देश्यले यसको स्थापना गरियो ? म्युजिक भिडियो निर्देशक समाजले के कस्ता कामहरु गर्छ ? भावी योजनाहरु के छन् ? लगायतका विषयमा अध्यक्ष कार्कीसँग अनलाइनखबरले गरेको कुराकानी यसप्रकार छः

‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’को स्थापना कसरी भयो ?

नेपालमा म्युजिक भिडियो बन्न थालेको ३० वर्षभन्दा बढी भएछ । म्युजिक भिडियो क्षेत्रमा हामीले अरबौंमा लगानी गरिसक्यौं । यतिका वर्षसम्म आउँदा म्युजिक भिडियो निर्देशकहरुको संस्था स्थापना हुन सकिरहेको थिएन । यद्यपी, यसअगाडि पनि ‘म्युजिक भिडियो निर्देशक समाज’ स्थापना गर्ने धेरैको योजना थियो । खोल्नुपर्छ, खोलिनुपर्छ भन्ने धेरैले सोच्नुपनि भएको रहेछ । जब यो कुरा म कहाँ आईपुग्यो यसलाई कसरी सम्भव बनाउने भन्नेतर्फ मैले सोच्न थालेँ । म लगायत निर्देशकहरु सुव्रतराज आचार्य, देवेन्द्र पाण्डेजी लगायतसँग छलफल भयो । सबैसँग सल्लाह लिँदै जाँदा मलाई सबैले अध्यक्ष बन्नका लागि आग्रह गर्नुभयो । यसपछि संस्थाको स्थापना भयो ।

‘म्युजिक भिडियो निर्देशक समाज’ स्थापनाको उद्देश्य के हो ?

यतिधेरै संख्यामा म्युजिक भिडियो बन्छन् । अहिले जो पनि निर्देशक, जो पनि निर्माता, जो पनि कलाकार, जसले पनि भिडियो बनाउने भएपछि यसको डाटा नै नहुने भयो । म्युजिक भिडियो निर्देशक भनेर गर्वका साथ भन्न सक्ने अवस्था कम थियो, अहिले पनि कम छ । संस्था खोल्नुको मुख्य उद्देश्य भनेको पहिचान नै हो ।

म्युजिक भिडियो निर्देशकहरु निर्देशनको मात्र नभएर भिडियोमा सबै कामको जिम्मेवारी लिईरहेका हुन्छन् । कलाकार छनोटदेखि, सुटिङ स्पटदेखि लिएर भिडियो रिलिजसम्मको जिम्मेवारी निर्देशकले लिएको पाईन्छ । त्यसलाई एउटा व्यवस्थित बाटोमा लैजानु पनि संस्थाको उद्देश्य हो । बाहिरबाट कुनै लगानीकर्ताले निर्देशकको नाममा पैसा पठाउनुहुन्छ, त्यो निर्देशकले पैसा खाएर भाग्यो भने उहाँहरुले कहाँ गुनासो गर्ने ?

निर्देशकको हकमा काम गरिरहेका समयमा कसैले धोका दियो, कलाकारहरुले दुःख दिनुभयो, प्राविधिकहरुसँग झगडा पर्यो भने निर्देशक पनि कहाँ जाओस् ? जाने एउटा गन्तव्य हुनुपर्छ भन्ने हिसाबले संस्था आवश्यक थियो । अभिभावकत्व गर्नका लागि पनि यसको स्थापना गरिएको हो ।

संस्थामा निर्देशकहरुलाई कसरी स्थान दिने सोच्नुभएको छ ?

अहिले हाम्रो १५ जनाको कार्यसमिती टिम छ । त्यसबाहेक प्रतिक्रिया पुर्याएर आउनेहरु २० जना हुनुहुन्छ । यो सबै विधामा काम गर्ने निर्देशकहरुका लागि हो । अहिले टिममा केही लोकदोहोरी क्षेत्रका साथीहरु, आधुनिक पपमा आवद्ध भएका साथीहरु अलि बढी हुनुहुन्छ । हरेक विधामा लामो समयदेखि सक्रिय निर्देशकहरुलाई साधारण सदस्यता दिएर हुन्छ कि हरेक विधामा लामो समयदेखि सक्रिय निर्देशकलाई सदस्यता नदिएर मानर्थ सदस्य, सल्लाहकार भनेर सम्मान गर्छौ । हामी दोहोरी, आधुनिक, पप भन्दापनि सबै विधालाई एउटै मानेर सबैलाई समेटेर अगाडि बढ्छौं ।

संस्थामा आवद्ध हुने मापदण्डहरु के–के छन् ?

संस्थामा सदस्य हुन पछिल्लो दश वर्षमा कम्तिमा १५ वटा म्युजिक भिडियो बनाएको हुनुपर्छ । त्यो ब्यक्ति नेपाली नागरिक हुनुपर्छ, बाहिर बसेर म्युजिक भिडियो निर्देशन गरिरहेकालाई पनि हामी समेट्छौं । कुनै पनि अपराध प्रमाणित नभएको व्यक्ति हुनुपर्छ ।

यी कुराहरु भईसकेपछि सदस्यता लिन चाहानेहरुले १५० रूपैयाँ तिरेपछि हामी सदस्यता नम्बर प्रदान गर्छौं । १ हजार रुपैयाँ तिरेर उहाँहरुले संस्थाको परिचयपत्र र प्रमाणपत्र पाउन सक्नुहुन्छ । वार्षिक नवीकरणमा १५ सय रूपैयाँ शुल्क तोकेका छौं । आजीवन सदस्यताका लागि १० हजार रूपैयाँ शुल्क तोकेका छौँ । हामीले सल्लाहकार, मानार्थ सदस्य र संरक्षकहरूका लागि कुनै रकम तोकेका छैनौ ।

६ महिना भित्र हाम्रो साधारण सभा हुन्छ । त्यहाँबाट कार्यसमितिमा जो पनि आउन सक्छ । त्यसका लागि साधारण सदस्यता लिएको, २५ वटा भिडियो प्रदर्शन भएको हुनुपर्छ ।

सदस्यताको लागि १५ वटा म्युजिक भिडियो निर्देशनको दायरा किन चाहियो ? १० वर्षभन्दा अगाडि सक्रियहरुलाई कसरी समेट्ने ?

हाम्रो भनाई के हो भने, १० वर्षमा पनि कसैले १५ वटा म्युजिक भिडियो बनाउँदैन भने उसलाई संघसंस्था आवश्यक छैन । उसले सोखको हिसाबले वा आफ्नो तरिकाले म्युजिक भिडियो निर्देशन गरेको हो । यद्यपी उनीहरुलाई हामी म्युजिक भिडियो निर्देशक होइनन् भन्दैनौं । संस्थामा आउनका लागि, संस्थालाई व्यवस्थित बनाउनका लागि त्यो मापदण्ड बनाएका छौं ।

अर्को कुरा, १० वर्षभन्दा अगाडि काम गर्नु भएकाहरुलाई त हामी मानार्थ सदस्य, संरक्षक, सल्लाहाकार भनेर सम्मान गछौं । उहाँहरुलाई निरन्तर टिममा ल्याउन त जरुरी छैन नी ।

अब संस्थाले के–के काम गर्छ ?

कस्ले कति म्युजिक भिडियो निर्देशन गर्नुभयो ? कति सालमा सुरु गर्नुभएको हो ? संख्यात्मक हिसावले अनुमानित कति निर्देशन गर्नुभयो ? लगायतका कुराहरुको डाटा संकलन गर्छौ । अरु कामहरुमा पहिलो काम बढीभन्दा बढी व्यक्तिलाई सदस्यता प्रदान गर्छौ ।

म्युजिक भिडियो निर्देशन पनि चलचित्र निर्माण–निर्देशनकै एउटा पार्ट हो, अभ्यास हो । त्यसैले हामीले चलचित्र विकास वोर्डमा प्रपोजल पेश गर्दैछौं । संस्था घोषणाको दिन बोर्डका अध्यक्ष दयाराम दाहालले निश्चित खाका लिएर आएको खण्डमा सक्दो सहयोग गर्ने बचन दिनुभएको थियो । अर्को हामी म्युजिक भिडियो निर्देशकहरुको बिमामा पनि काम गर्दैछौ ।

यस्तै, हामी विदेशमा रहेर भिडियोमा मात्र नभएर चलचित्रमा पनि काम गर्न सक्ने खुबी भएकाहरुसँग अन्तरक्रिया गर्ने, तालिम दिने लगायतका काम पनि गर्छौ ।

अर्को विश्वभरी जतिपनि म्युजिक भिडियोसँग सम्बन्धित संघसंस्था छन्, ती संस्थासँग समन्वय गर्नेछौं । त्यसका लागि पहलहरु सुरु भैसकेको छ । त्यसले हाम्रो संस्थालाई थप बलियो बनाउँछ । विश्वमा कस्तो ट्रेन्डबाट म्युजिक भिडियो बन्छ त्यो जानकारी पाउन सक्छौं ।

अर्को महत्वपूर्ण कुरा हामी म्युजिक भिडियो निर्देशकहरुलाई अनुशाशित बनाउनेतर्फ पनि काम गर्छौ । जस्तो, सामान्य कुरा गर्दा निर्देशकहरुले आफ्नै तरिकाले प्रोजेक्टको कुरा गर्नुहुन्छ, आफ्नै तरिकाले अगाडि बढन्हुन्छ । यो काम पनि मैले गर्ने, त्यो काम पनि मैले गर्ने भन्ने अहिले जुन चलन छ त्यसलाई व्यवस्थित र व्यवसायिक बनाउन आवश्यक छ । हामीले म्युजिक भिडियोको रजिष्टे«शन पनि शुरु गर्दैैछौं ।

संस्थासँग जोडिएको भन्दा बाहिरी प्रश्न, म्युजिक भिडियोमा लगानी कहाँबाट हुँदै आएको छ ?

म्युजिक भिडियोमा ६० प्रतिशतभन्दा बढी लगानी विदेशमा रहनुभएका नेपालीहरुबाट हुन्छ । रेमिट्यान्सले धानिएको छ म्युजिक भिडियो । कुनै क्षेत्रमा स्थापित भैसकेपछि अब के गर्ने भन्दा गीतसंगीतमा जोडिएकाहरु थुप्रै छन् । कोही गीत गाउने, कोही लेख्ने, कोहीले अभिनय गर्ने, कोहीले कम्पनी खोलेर अगाडि आउनेहरु छन् । कोहीले फलानो मेरो साथी हो, खर्च गर्छु भनेर पनि लगानी आईरहेको हुन्छ ।

म्युजिक भिडियोमा बार्षिक कति लगानी होला ?

सामान्य अवस्थामा वर्षमा १ सय वटा चलचित्र बन्दा २ सय करोडको लगानी हुन्थ्यो । म्युजिक भिडियोको हिसाव गर्दा वर्षमा ५ अर्ब बढीको लगानी हुँदोरहेछ । कसरी भने, दिनमा थोरैमा पनि ५ वटा म्युजिक भिडियो बन्छ । महिनामा एक सय ५० वटा बन्छ, वर्षमा १८ सय वटा म्युजिक भिडियो बन्छ । यो संख्या घटिमा हो । आजको दिनमा एउटा गीत र भिडियो बनाउँदा थोरैमा पनि ३ लाखदेखि बढीमा १५ लाखसम्म रुपैयाँ खर्च हुन्छ । १८ सय वटा भिडियो ३ देखि १५ लाखको बजेटमा बन्दा ५ अर्ब बढी पुग्छ ।

कति भिडियोले लगानी उठाउँछन् ?

आम्दानीको हिसाबले धेरै कम भिडियोले लगानी उठाउलान् । सयमा पाँचवटा भिडियोले लगानी उठाउलान् । राम्रो गीतहरुले मात्र लगानी उठाईरहेको अवस्था छ ।

एउटा गीत सफल हुन गीत वा भिडियोमध्ये कुनको भूमिका बढी हुन्छ ?

मेरो मान्यता ७५ प्रतिशत अडियो नै हो । २५ प्रतिशत भिडियो हो । एउटा राम्रो गीतमा झुर भिडियो बन्यो भने त्यसलाई दोहोर्याएर हेर्नेको संख्या घट्न सक्छ । भिडियो हेर्नेले गाली गर्ने हुँदा अडियो छायामा पर्न सक्छ । तर, एउटा झुर गीतमा उत्कृष्ट भिडियो बन्यो भने दर्शकले ५ मिनेट पनि हेर्न सक्दैन । त्यसकारण गीत नै राम्रो हुन जरुरी छ ।

हामीकहाँ ६० हजार देखि डेढ लाख, २ लाखसम्मका गीतहरु बन्छन् । ६० हजारमा बनेको गीतको तपाई ६ लाखमा भिडियो बनाउन तयार हुनुहुन्छ, तर अडियो बलियो बनाउँछु भनेर सोच्नुहुन्न । गीत राम्रो बनाउने कुरामा अहिले यसकारण पनि चुकिरहेको हो कि जस्तो लाग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?