+
+

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न जाँचबुझ समितिको सिफारिस

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज ५ गते १७:४७

५ असोज, काठमाडौं । सरकारले गठन गरेको जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न सिफारिस गरेको छ ।

शेयर निश्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको आरोप लागेपछि सरकारले उनीमाथि छानबिन गर्न उच्च अदालतका न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो ।

सो समितिले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरीको नाममा १० हजार कित्ता शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको उल्लेख गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

बिवाहित छोरी भएपनि आफैंले रकम तिरेर शेयर किनेको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले न्यायाधीश डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

स्रोतका अनुसार ‘पदीय आचरणविरुद्ध शेयर किनबेच गरेको पाइएको भन्दै दोषीलाई कारबाही गर्ने जिम्मेवारी सरकारको काँधमा आएको छ’ प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याइ बोर्डको हित र पुँजी बजारको विकास विपरीत हुनेगरी पदीय आचरण विपरीत काम कारवाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

प्रधानमन्त्रीसँग सल्लाह गरेपछिमात्रै निर्णय

अर्थमन्त्री  शर्माले प्रतिवेदन बुझे पनि सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनका विषयमा अर्थमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आवश्यक निर्णय लिने बताएका छन् । उनले शेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताए ।

उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताए । जाँचबुझको प्रक्रियाले शेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने  मन्त्री शर्माले बताए ।

‘यो प्रक्रियाले शेयर बजारलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु, सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु’ अर्थमन्त्री शर्माले भनेका छन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?