+
+

कलैयाको बसतपुर माविको दुरावस्था : न पूर्वाधार, प्रयाप्त शिक्षक

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असोज ६ गते ७:४४

६ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका- २० का सलमान खान स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसतपुरमा कक्षा १० मा पढ्छन् । तर विद्यलयमा सबै विषय पढाइ हुँदैन । त्यसैले उनी १२ किलोमिटर टाढा सदरमुकाम कलैयामा गएर कोचिङ पढ्न बाध्य छन् ।

विद्यार्थीहरुका अनुसार विद्यालयमा ९ र १० मा नेपाली, गणित, विज्ञान र ऐच्छिक गणित विषय मात्रै पढाइ हुन्छ । कक्षा ८ मा पनि सबै विषय पढाइ हुँदैन । कक्षा ८, ९ र १० मा अध्ययनरत क्रमशः ६५ जना, ५५ जना र ४७ जना विद्यार्थीको भविष्य जेखिममा छ ।

स्थानीय अभिभावक जितेन्द्र यादवका अनुसार १ बजे नै विद्यार्थीहरु विद्यालयबाट घर फर्किने गरेका छन् । अर्का अभिभावक लाल विहारी साहका दुईजना नाति सोही विद्यालयमा अध्ययनरत छन् । विद्यालयमा राम्रोसँग पढाइ हुन नसकेको उनी बताउँछन् ।

‘कहिले दुई जना त कहिले तीन जना शिक्षक आउँछन्, बिहान १० बजे शुरु हुनुपर्ने स्कुलमा ११ बजदेेखि पढाइ शुरु हुन्छ, १ बजे त छुट्टी भइहाल्छ,’ उनले भने, ‘बोर्डिङ पढाउन खर्च छैन, सामुदायिकमा बालबच्चालाई राम्रोसँग पढाइ नै रहेका छैनन् । के गर्ने ? कसो गर्ने अलमलमा छौ ।’

मावि कक्षा छ तर शिक्षक दरबन्दी छैन

विद्यालय मावि भएको झण्डै १० वर्ष भइसकेको छ । तर विद्यालयमा मावि दरबन्दीका शिक्षक एक जना मात्रै छन्, उनी पनि प्रधानाध्यापक । निमाविमा २ जना र प्रावि तहमा ४ जना शिक्षक छन् । प्रावि तहमा १ जना राहत शिक्षक कार्यरत छन् । बाल विकास सम्हाल्ने एक जना छन् । निमावि तहमा १ जना र प्रावि तहमा २ वटा दरबन्दी खाली छ ।
मावि तहमा गणित र विज्ञान शिक्षक वडा कार्यालय र नेपाली शिक्षक पढाउनुपर्छ ।

प्रधानाध्यापक राम उदार साहले भने कक्षा ९ र १० मा जनसंख्या र स्वास्थ्य शारीरिक शिक्षा पढाउने शिक्षक मात्रै नरहेकाले पढाउन नसकिएको तर अरु विषयको पढाइ भइरहेको बताए । दुई वटा विषयगत शिक्षक नभएको बारेमा उपमहानगरलाई लिखित जानकारी गराइएको उनी बताउँछन् ।

‘प्रयाप्त शिक्षक नभएको कुरा सही हो, तर पढाइ नै नहुने कुरामा सत्यता छैन,’ उनले भने, ‘निमावि तहको शिक्षकले नै कक्षा ९ र १० लाई पनि अंग्रेजी पढाइरहनुभएको छ । आँखाको उपचारका लागि जानुभएको स्थिति हो ।’

दुई वटा कक्षा एउटै कोठामा

विद्यालयको कक्षा कोठा मर्मत गरिँदै ।

विद्यालयलाई नर्स दिइयो तर बस्ने ठाउँ थिएन । पुस्तकालय पनि व्यवस्थित थिएन । एउटा कक्षा कोठामा ५१ हजार रुपैयाँ खर्च गरेर पुस्तकालय राख्न र नर्सले बसेर सेवा दिन मिल्ने कोठा तयार गरेको प्रअ साह बताउँछन् ।

प्रदेश सांसद पारस प्रसाद साहको संसदीय विकास कोषको रकमले विद्यालयमा दुईतले पक्की भवन निर्माणाधीन अवस्थामा छ । ०७७ सालमा आफू प्रअ भएर आउनु अघिदेखि नै काम शुरु भएको भवन अझै तयार नभएको उनको भनाइ छ ।

दुई वटा एकतले भवनमा झ्याल ढोकाको काम अधुरा छन् । तत्कालीन बसतपुर गाविस हुँदा बनाइएको भवनको एउटा कोठामा बाल विकास कक्षा पढाइ हुन्छ भने एउटा मर्मत सम्भार भइरहेको छ । विद्यालयका लागि प्रयाप्त भौतिक संरचना नभए पनि मिलाएर कक्षा सञ्चालन गरिएको प्रअ साह बताउँछन् ।

‘कक्षा सञ्चालन गर्न कोठा नपुगेकाले कक्षा १ र २ लाई एउटै कोठामा राखेर पढाउँछौं । बाल विकास सहित बाँकी कक्षाका लागि जसोतसो व्यवस्थापन मिलाएका छौं,’ उनले भने, ‘एक वर्ष अघि आउँदा फर्निचर थिएन, सकेको व्यवस्थापन मिलाउँदैछु ।’

समुदायमै समस्या

विद्यालयमा समस्याको चाङ नै छ । विद्यालयको आफ्नै १० कठ्ठा जमिन छ तर पर्खाल लगाइएको छैन । पर्खाल नहुँदा उछृङ्खल व्यक्तिहरु विद्यालयमा पसेर कहिले धारा झिकेर लगिदिने त कहिले ट्वाइलेटमा तोडफोड गरिदिने गरेका छन् । लाखौं खर्च गरेर बनाइएका शौचालय स्थानीय उछृङ्खल व्यक्तिहरुका कारण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको प्रअ साह बताउँछन् । विद्यालयको छत र कल धारामा नै दिसा गरिदिएर हैरान पार्ने गरेको उनी सुनाउँछन् ।

युनिसेफका सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठ विद्यालयमा युनिसेफले बनाएको शौचालयको धारा चोरी भएर पुनः जडान गरिएको बताउँछन् ।

‘हामीले ५ लाख ५६ हजार खर्च गरेर पुरानो शौचालयको मर्मतसम्भार र नयाँ अपांगमैत्री शौचालय बनायौं । तर हामीले बनाउने, स्थानीयले भत्काउने दोहोरी नै चल्यो,’ उनी भन्छन्, ‘विद्यालयमा आएर चोरी, तोडफोड र फोहोर गर्नेलाई कारबाही गर्नुपर्छ ।’

उनी विद्यालयको संरक्षण र सरसफाइ बाहिरका मानिसले नभएर स्थानीयले नै गर्नुपर्ने बताउँछन् । विद्यालयमा व्यवस्थापन समितिको म्याद सकिएको छ । नयाँ गठन हुन सकेको छैन । वडा सदस्य राम निवास प्रसाद विद्यालयमा सुधारका लागि सक्दो प्रयास भइरहेको बताउँछन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?