+
+
वैदेशिक रोजगारीको पीडा :

एक वर्षमा साढे १२०० बाकस, कोही अस्तुमा मात्र आउन सके

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असोज ७ गते १०:१३

७ असोज, काठमाडौं । गत शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै उभिएर त्रिभुवन विमानस्थलको प्रस्थान कक्षसँगैको फलामे गेट (अतिरिक्ति)तर्फ एकटक हेरिरहेकी थिइन् । केही घण्टाको सकसपूर्ण प्रतिक्षापछि उनको हातमा प्रहरीले पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बाकस थमाइ दिए, जसमा राधाका श्रीमान गणेशको अस्तुसँगै जलेका सपनाको खरानी पनि थियो ।

‘कोरोना लागेर निको भइसकेँ, दशैंमा घर आउँछु’ भनेर फोन गरेका गणेशले मलेसियाकै अस्पतालमा प्राण त्याग्नुपर्‍यो । कोरोनाबाट मृत्यु भएकाले शव ल्याउन नमिलेपछि उतै जलाउन सहमति दिन राधालाई कर लाग्यो । शनिबार विदेशबाट ६ शव र १५ वटा अस्तु आइपुगेका थिए ।

श्रीमानको अस्तु बुझेर रूँदै फर्किरहेकही राधा

महामारीमा अहिले दैनिक औसतमा तीनजना नेपाली श्रमिकका शव र त्यसको दोब्बर अस्तु आइरहेका छन् । जीवन सुधार्ने सपना लिएर विदेश उडेका युवामध्ये कोही बाकसमा सिंगै त कोहीको अस्तु मात्र फर्किरहँदा सरकार भने यो अवस्थाप्रति संवेदनशील बनिरहेको छैन ।

उमेरले ७० काटेकी नुवाकोटकी कोइकु घलेले पनि ‘दुई वर्षमा आउँछु है आमा’ भन्दै कुवेत उडेकी छोरीलाई काठको बाकसमा बुझ्नु पर्‍यो । सोनुलाई कुवेत पुगेको चार महिनामा ब्लड क्यान्सर भएको थाहा भयो । त्यसको एक हप्तामै उनले संसार छाडिन् । यो तथ्य पत्याउन परिवारलाई अझै सकस परिरहेको छ ।

विदेशमा यसरी ज्यान गुमाउने श्रमिकहरुको कथा एकैनासको छ । ६ महिना छुट्टी मनाएर फर्किनासाथै भोजपुरको षडानन्द गाउँपालिकाका धर्मकुमार थापाले कतारमा सडक दुर्घटनामा ज्यान गुमाउनुपर्‍यो ।

बिदामा घर फर्किएर बिहे गर्ने योजना साथीभाइलाई सुनाएका सिन्धुपाल्चोक, हेलम्बुका २९ वर्षीय पेम्बानोर्बु लामा पनि काठकै बाकसमा फर्किनुपर्‍यो । एकाएक ब्रेन ट्युमर देखिएका उनी दुबईको अस्पतालमा बिते ।

कल्पना आलेका भाइ मानबहादुर आलेले ३१ वर्षकै उमेरमा कुवेतमा ज्यान गुमाए । राति घरमा फोन गरेर बोलेका उनी बिहान उठ्न सकेनन् । भारतमा हराएका साइँला दाजुको परिवारको समेत आडभरोसा बनेका मानबहादुर विदेशमा हाड घोटिरहेका थिए ।

विमानस्थलमा अस्तु बुझेर फर्किँदै आफन्तहरू

साढे १२०० अस्तु र बाकस

वर्षैपिच्छे एक हजारभन्दा बढी नेपाली श्रमिक र उनीहरुका परिवार यस्तै वियोगान्त भोगिरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २९ महिलासहित १२ सय ४२ श्रमिकले विदेशमा मृत्युवरण गर्नुपर्‍यो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष मृत्यु भएकाहरुको शव कोरोना महामारीका कारण ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै दाहसंस्कार गरिएको बताउँछन् । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।

सचिवालयको तथ्यांकअनुसार, गत वर्ष विदेशमा विभिन्न रोगका कारण ४२७ जना नेपाली श्रमिकको मृत्यु भयो । यीमध्ये २५६ जनाको मृत्यु स्वभाविक खालको थिएन ।

गत वर्ष १४० जना श्रमिकले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकले देखाउँछ । परिवारसँगको किचलो, कार्यस्थलमा हुने शारीरिक-मानसिक दबाब, आर्थिक शोषण, विभिन्न कारणले हुने डिप्रेसन, ऋणलगायतका पीरले श्रमिकहरु विदेशमै आत्महत्या गरेको देखिन्छ ।

त्यस्तै, चालकहरुसहित ११९ जना सडक दुर्घटनामा परेर बितेका छन् । कार्यस्थलमा आउँदा-जाँदा, किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा ट्राफिक नियमको जानकारी नहुँदाको सावधानीले दुर्घटनामा परेर ज्यान गइरहेको छ ।

विदेशमा नेपाली श्रमिकहरुले ज्यान गुमाउने अर्को ठूलो कारण बनेको छ- कार्डिक अरेष्ट अर्थात् एक्कासी हुने हृदयघात । यीमध्ये धेरैजसोले निदाएको बेला ज्यान गुमाएका छन् । प्रतिकूल आहार-बिहा, लगातार लामो सयम काम, धुम्रपान-मद्यपान तथा चर्को गर्मीमा कडा श्रम गरेर फर्किएर एसी लगाएर सुत्ने लगायत कारण कार्डिक अरेष्ट हुने गरेको छ ।

गत वर्ष कार्यस्थलमा भएको दुर्घटनामा पनि २६ जनाले ज्यान गुमाए । मेसिन चलाउन दक्षता नपुग्ने, कम्पनीले आवश्यक तालिम र सुरक्षा साधन पनि नदिने, जोखिमयुक्त काममा पर्याप्त सावधानी नअपनाउने आदी कारणले कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन् ।

गत आर्थिक वर्षमा ५ जना श्रमिकको मत्युको कारण नै खुलेन भने २ जनाको हत्या भएको थियो ।

साउदीमा धेरैको मृत्यु

देशगत रुपमा हेर्दा सबैभन्दा बढी नेपालीको मत्यु साउदी अरेबियामा हुने गरेको छ । गत आर्थिक वर्षमा ३६२ जना नेपालीले साउदीमा ज्यान गुमाए । साउदीपछि मलेसिया बढी असुरक्षित देखिन्छ । गत वर्ष मलेसियामा २८० जना नेपालीको मृत्यु हुन पुग्यो ।

यसैगरि, कतारमा २३९, यूएईमा २०८ र कुवेतमा ५५ जना नेपालीले ज्यान गुमाए । बहराइनबाट ३१ जना नेपाली श्रमिक शव र अस्तुको रुपमा देश फर्किए । दक्षिण कोरियामा १३ जनाले मृत्यु बेहोर्नुपर्‍यो ।

जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी तराई-मधेशका नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएको देखिन्छ । गत वर्ष मोरङका ५८, सिराहाका ५७, महोत्तरीका ५५, झापाका ५३, स्याङ्जाका ४६, सुनसरीका ४४ र सप्तरीका ४४ जनाले विदेशमा मृत्युवरण गरे ।

त्यस्तै, पश्चिम नवलपरासीका ४०, सर्लाहीका ३७, चितवनका ३६, दाङका ३३ र कास्कीका ३१ जना श्रमिकले विदेशमा ज्यान गुमाएको तथ्यांक छ । एक वर्षका बीचमा विदेशमा मृत्यु हुनेको सूचीमा ७७ वटै जिल्लाका कामदार छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?