+
+

बालबालिकाको आहारमा सुधार देखिएन, कोरोनाले अझ बढी गम्भीर हुन सक्छ : युनिसेफ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १९:२४
फाइल तस्वीर

७ असोज, काठमाडौं । पछिल्लो दशकमा बालबालिकाको आहारमा कुनै सुधार नदेखिएको युनिसेफले बताएको छ । युनिसेफले कोभिड-१९ का कारण बालबालिकाको स्थिति अझ बढी गम्भीर हुने सक्ने चेतावनी समेत दिएको छ ।

युनिसेफले बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई फस्टाउन र राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्व प्राप्त नभएको र जसका कारण उनीहरूको विकासमा बाधा पुग्ने गरेको बताएको छ ।

९१ देशहरूको विश्लेषण पछिको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएको अनुसार दैनिक न्यूनतम खाना खुवाइन्छ । त्यसैगरी एकतिहाइ बालबालिकाले मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना समूहहरूको उपभोग गर्दछन् ।

प्रतिवेदनअनुसार कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्थामा, महामारीले परिवारहरूलाई उनीहरूले बालबालिकालाई कसरी खाना खुवाउँछन् भन्ने कुरामा प्रभावित गरिरहेको तथ्यलाई देखाउँछ ।

इण्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्कले आम्दानीमा पुगेको हानि र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफले नेपालमा बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारीसहित सामाजिक-र्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्रयाकर सर्वेक्षण गर्दै आएको छ । यो महामारीमा ३ मध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेको र बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय भएको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी प्रतिवेदनमा बढ्दो गरीबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ को महामारी जस्ता स्वास्थ्य आपतकालीनले सबैभन्दा साना उमेरकाहरूमा निरन्तर रहेको पोषण सङ्कटलाई पनि प्रश्रय दिइरहेको र पछिल्लो दश वर्षमा सुधारको सानो सङ्केत पनि नदेखिएको उल्लेख गरेको छ ।

युनिसेफका अनुसार विश्वव्यापी रूपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधाभन्दा बढी (लगभग २ करोड ३० लाख बालबालिका) २ वर्षभन्दा कम उमेरका छन् । ‘बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बीचमा पुड्कोपनको प्रकोप तीव्र गतिले बढ्छ,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खाने युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउनसबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक रहेको युनिसेफले बताएको छ ।

प्रत्येक बालबालिकालाई पौष्टिक, सुरक्षित र किफायती आहार प्रदान गर्न प्रतिवेदनले सरकारहरू, दाताहरू, नागरिक समाज, सङ्गठनहरू र विकास कार्यकर्ताहरूलाई हातमा हात मिलाएर खाना, स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीलाई परिवर्तन गर्न युनिसेफले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?