+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

हामी किन दु:खी हुन्छौं?

सुनिल बराल सुनिल बराल
२०७८ असोज ९ गते ७:०८

‘मान्छे किन दु:खी हुन्छ ?’ यो प्रश्न छोटो छ र उत्तर पनि छोटै तरिकाले दिन सकिन्छ । वरपर हेर्ने हो भने यसको सहज उत्तर पाउन सकिन्छ । आफूलाई माया गर्ने व्यक्ति वा प्रियजन गुमाउँदा आँसु झर्नु वा दु:खी हुनु मानवीय गुण हो । मान्छेमा मात्रै होइन, कुनै-कुनै जनावरमा समेत यस्तो संवेदनशीलता हुन्छ ।

कोही-कोही सोचे अनुसारको जीवन जिउन नपाएर दु:खी हुन सक्छन् । सोचेको कुरा नपाएर वा जीवनमा असफल भएर दु:खी हुनु एउटा कुरा हो । अनि अरुको सफलता देखेर जल्नु र इर्ष्याको त्यही ज्वालामा आफ्नो सुख जलाउनु अर्को कुरा हो । कुण्ठा, ईर्ष्या, डाहा लगायतका अवगुण दु:ख वा सुखका कारक बन्न सक्छन् ।

दु:खको जड कारणबारे कैयौं दार्शनिकले बोलेका छन् । कैयौं कविले कविता लेखेका छन् । ‘जीवनलाई कसरी सुखी बनाउने ? कसरी अर्थपूर्ण बनाउने ?कसरी सफल हुने ?’ शीर्षकका किताब बजारमा छ्यापछ्याप्ती पाइन्छ । कसैले दु:खको जरो मानिसभित्रै छ भनेका छन् । कसैले बाहिरी संसार नै मूल कारण भनेका छन् ।

पूर्वीय धर्म, दर्शन र विचारधारामा समेत दु:खबारे प्राचीन समयदेखिनै चर्चा भएको पाइन्छ ।दु:खको जरो खोज्न कै लागि बुद्धले घर छोडे । र, केही वर्ष भौतारिएपछि उनले घोषणा गरिदिए- नाशवान चीजप्रतिको मोहर आशक्ति नै दु:खको कारण हो ।

हिन्दू धर्म-दर्शनमा पनि दु:खबारे परापूर्व कालदेखि चर्चा हुँदै आएको छ । हिन्दू धर्मले भन्छ- आत्मिक र भौतिक दुबै कारणले मानिस दु:खी हुनेगर्छ ।इस्लाम, क्रिश्चियन, जैन सबै धर्ममा दु:खको कारण र सुखी हुने उपाय चर्चा गरिएको छ । पश्चिमको शास्त्रीय दर्शन भन्छ- दु:खको मूल कारण अनैतिकता (immorality)हो र समाजका लागि नैतिक काम गरेपछि मानिस खुशी हुन सक्छ । प्राय:जसो प्राचीन ग्रिक दार्शनिकदेखि क्याथोलिक धर्म गुरुलेसुखलाई नैतिक कार्यसँग छोडेका छन् । तर प्रोटेस्टेन्ट धर्म र पुँजीवादको उदयसँगै उक्त दृष्टिकोणमा परिवर्तन आयो । अर्थात् दु:खलाई व्यक्तिगत मनोविज्ञानबाट व्याख्या गर्न थालियो ।

तर पुँजीवादले दिएको भौतिक सुविधाबीच पनि सम्पन्न समाजका मानिसहरूमा निराश बढेपछि बिसौं शताब्दीका चर्चित लेखक ब्रटन्ड रसेलले खुशी हुने तरिकाबारे किताबै लेख्नुपर्‍यो । रसेलले आफ्नो किताब ‘द कन्वेस्ट अफ ह्यापिनेस’ (खुशीको जीत) मा दु:खका कारण र खुशी हुने तरिकाबारे चर्चा गरेका छन् ।

रसेलले आफ्नो किताबको पहिलो अध्यायको शीर्षक नै ‘ह्वाट मेक्स पिपुल अनह्याप्पी (केले मानिसलाई दु:खी बनाउँछ)?’राखेका छन् ।मानिस दु:खी हुनुको कारण केही हदसम्म सामाजिक प्रणाली र केही हदसम्म व्यक्तिगत मनोविज्ञान भएको भन्दै उनले किताबमा लेखेका छन्- ‘विभिन्न प्रकारका दु:खको जरो सामाजिक प्रणाली तथा व्यक्तिगत मनोविज्ञानसँग जोडिएको छ र व्यक्तिगत मनोविज्ञान सामाजिक प्रणालीको उपज नै हो ।’

अब शक्तिप्रतिको आशक्ति अर्थात् मेगालोम्यानियाक बारे थोरै चर्चा गरौं । शक्तिप्रति आशक्ति राख्ने व्यक्ति आकर्षकको साटो शक्तिशाली हुन चाहन्छन्, आफूलाई अरुले माया गरुन् भन्नुको साटो डराऊन् भन्ने चाहन्छन् । यही भएर ‘नार्सिसिस्ट’ र ‘मेगालोम्यानियाक’बीच आकाश जमीनको फरक छ

रसेल भन्छन्- ‘मानव जातिले दु:खबाट पार पाउन युद्ध रआर्थिक शोषण अन्त्य हुनुपर्छ ।’ धार्मिक प्रवचनको प्रभावमा परेर आफूलाई पापी ठान्नेमानिसहरू वा ईश्वरको तुलनामा आफूभित्र धेरै खाले कमिकमजोरी देख्ने, संसारमा आफ्नो मात्रै महत्व भएको ठान्ने आत्ममोहित व्यक्ति(narcissist) र शक्तिप्रति अत्यधिक आशक्ति राख्ने वा शक्तिका भोका व्यक्ति (megalomaniac)खुशी हुन नसक्ने रसेलको तर्क छ ।

धार्मिक आस्थाका कारण आफूलाई पापी ठान्ने मानिसहरूले हरेक कुरामा पाप मात्रै देख्छन् । तर उनीहरूले न सांसारिक सुखभोग पूर्ण रूपमा त्याग्न सक्छन् न यसमा रमाउन सक्छन् । यस खाले अन्तरविरोधले उनीहरूको जीवन घर न घाटको जस्तो हुन्छ । यही भएर सुखको पहिलो खुट्किलो भनेको ‘सानोमा सिकेका धार्मिक विचारबाट मुक्त’ हुनु हो ।

रसेलका अनुसार आत्ममोह (narcissism) पापभन्दा निकै फरक कुरा हो । आफ्नै प्रशंसा गर्नु वा अरुले आफ्नो तारिफ गरून् भन्ने चाहनु एक हदसम्म स्वभाविक हुन्छ । तर हदभन्दा बढी वा अति भयो भने यो निकै घातक हुन्छ । यसले आफैंलाई क्षति पुर्‍याउँछ । आत्ममोहले हद पार पर्दा सम्पन्न समाजका महिला र पुरुष दुबैमा ‘प्रेम अनुभूति गर्ने क्षमता सकिएको’ छ । ‘अधिकांश महिला र विशेषगरी सम्पन्न समाजका महिलाहरूमा प्रेम अनुभूति गर्ने क्षमता पूर्ण रूपले सकिएको छ र उक्त क्षमताको स्थान सबै पुरुषले आफूलाई माया गर्नुपर्छ भन्ने भावनाले लिएको छ । आफूलाई कुनै पुरुषले माया गर्ने कुरा निश्चित भएपछि यस्ता महिलाले उक्त पुरुषका लागि आफ्नो कुनै महत्व नभएको ठान्छन्’, रसेल लेख्छन्, ‘जबघमण्ड (vanity) यो उचाइसम्म पुग्छ तब अन्य मानिसप्रति कुनै रुचि हुँदैन र फलस्वरूप: प्रेमबाट वास्तविक सन्तुष्टि प्राप्त गर्न सकिँदैन ।’

अब शक्तिप्रतिको आशक्ति (megalomania) बारे थोरै चर्चा गरौं ।शक्तिप्रति आशक्ति राख्ने व्यक्ति आकर्षकको साटो शक्तिशाली हुन चाहन्छन्, आफूलाई अरुले माया गरुन् भन्नुको साटो डराऊन् भन्ने चाहन्छन् । यही भएर ‘नार्सिसिस्ट’ र ‘मेगालोम्यानियाक’बीच आकाश जमीनको फरक छ ।कैयौं पागल र इतिहासमा महान भनेर लेखिएका कैयौं व्यक्तिहरू(जस्तै अलेक्जाण्डर द ग्रेट)’मेगालोम्यानियाक’ भएको रसेलको निष्कर्ष छ ।

शक्तिप्रति आशक्ति देखाउनु एउटा मानवीय प्रवृत्ति भएको र एक बिन्दुसम्म यो पनि सामान्य नै हुन्छ । तर हद पार गर्न लागेपछि यसले डरलाग्दो रूप लिन्छ । रसेल भन्छन्- ‘भ्यानिटी जस्तै शक्तिप्रतिको आशक्ति पनि मानवसँग हुने एउटा सशक्त विशेषता हो र यसलाई स्वीकार्नुपर्छ । तर अति भएपछि वा वास्तविकताको अपर्याप्त बोधसँग जोडिएको बेला यो निकै निन्दनीय बन्छ । यस्तो अवस्थामा पुगेपछि यसले मानिसलाई मुर्ख र दु:खी बनाउँछ ।’

रसेलले आफ्नो किताबमा मानिस दु:खी हुनुका अन्य कारण समेत चर्चा गरेका छन् ।

जस्तै-प्रतिस्पर्धालाई उदाहरणको रूपमा लिन सकिन्छ । प्रतिस्पर्धाको नाममा हामीहरू असंवदेनशील वा मेशिन जस्ता बनिरहेका छौं । आधुनिक युगमा हुनेप्रतिस्पर्धाका कारण मानिसहरूले आफ्नो जीवनमा रमाइलो गर्न सकिरहेका हुँदैन । रसेलको अनुभव अनुसार मानिसहरूले ‘स्ट्रगल फर लाइभ’ अर्थात् जीवन संघर्षका नाममा आफ्नो जीवनलाई पूर्णतामा जिउन भुलिरहेका छन् ।

बाँच्नका लागि संघर्ष गर्नु स्वभाविक हो तर खासै महत्व नभएको कुरा पछाडि लागेर गरिने प्रतिस्पर्धालाईसम्पन्न मानिसले ‘स्ट्रगल फर लाइभ’ को नाम दिने गर्छन् । अर्थात् आफ्ना समकक्षीभन्दा अझ बढी सफल हुने दौडका कारण सहजै प्राप्त हुने खुशी गुम्छ । सुखी जीवनका लागि प्रतिस्पर्धाको दौडलाई सन्तुलित बनाउनु बनाएर जीवनलाई पूर्णतामा जिउने प्रयास गर्न आवश्यक छ ।

दार्शनिक दृष्टिकोण र खुशी

बाहिरी परिवेशसँगै आफ्नै व्यक्तिगत प्रवृत्ति वा विश्व दृष्टिकोणले समेत मानिस दु: खी वा सुशी भन्ने कुरालाई निर्धारण गर्छ । दु:खी मानिसले दु:खको वकालत गर्ने पन्थ (unhappy creed) वा दर्शनर सुशी मानिसले सुखमाथि जोड दिने पन्थ वा दर्शन अँगालेको हुन्छ । जस्तै, निराशावादी सोंचर मानव प्रगतिप्रति शंका गर्ने सोंच वा ‘cynicism’ले गर्दा जताततै दु:ख मात्रै देखिन सक्छ । विशेषगरी पश्चिमी मुलुक र सम्पन्न मुलुकमा यस्तो प्रवृत्ति बढ्दो छ ।

अन्त्यमा, दु:खबारे कुरा गरिरहँदा यसको मनोवैज्ञानिक आयामलाई नजरअन्दाज गर्न सकिँदैन । ‘मानिस किन खुशी वा दु:खी हुन्छ ?’ भनेर वस्तुगतरूपमा मात्रै होइन, आत्मगतसहित सबै दृष्टिकोणबाट समेत हेर्नुपर्ने मनोवैज्ञानिको धारणा रहँदै आएको छ । उनीहरूमध्ये केहीले खुशी ३ वटा तत्वमा हुने बताउँछन् । अर्थात् रमाइलो जीवन, असल जीवन र अर्थपूर्ण जीवन नै खुशीका आधार हुन् ।

रमाइलो जीवनले दैनिक आनन्द वा सुखभोग गर्ने कार्यलाई जनाउँछ । असल जीवनले समृद्धि वा थप विकासका लागि सीप प्रयोग गर्ने र अर्थपूर्ण जीवनले महान कार्यमा योगदान गर्ने भन्ने बुझाउँछ ।

यसबाहेक, पछिल्ला अध्ययनले परिवार र अन्य सामाजिक सम्बन्धहरू खुशीका मुख्य कारक भएको देखाउँछन् । अध्ययन अनुसार विवाहित मानिसहरू अविवाहित, सम्बन्ध विच्छेद भएका वा एकल व्यक्तिभन्दा खुशी हुन्छन् । पछिल्लो समय पोजिटिभ साइकोलोजीको अवधारणा समेत आएको छ । नयाँ अवधारणाले जीवनलाई पूर्णतामा बाँच्न सघाउने तत्वको पहिचान गर्ने र प्रबर्द्धन गर्ने कुरालाई जोड दिन्छ । खुशी हुनका लागि भौतिक सुविधासँगै समानुभूति, क्षमाशीलता/क्षमादानर करुणा लगायतका कुरा आवश्यक पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?