+
+

पदकमा गृहमन्त्री खाँणको भोट राजनीति

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते २०:१९

१० असोज, काठमाडौं । सरकारले संविधान दिवसको दिन दिएको पदकको सूची हेरेपछि प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले भन्ने गरेका छन्, ‘सरकारले पदकको नाकमा कालो पोतेको छ । बोल्न सक्ने भए उफ्रिन्थे, नारा लगाउँथे ।’

प्रमुख विपक्षी नेकपा एमाले अध्यक्ष ओलीले पदक वितरणमा लगातार प्रश्न उठाइरहेका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत बुबा मंगलकुमार उपाध्यायलाई समेत पदक दिइएको भन्दै सार्वजनिक रुपमा पनि सरकारको चर्को आलोचना भइरहेको छ ।

सरकार भने मौन छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले पनि सार्वजनिक रुपमा बोलेका छैनन् । तर नेताहरुले आन्तरिक छलफलहरुमा भने पदक वितरणप्रति तीव्र आक्रोश व्यक्त गर्ने गरेका छन् । त्यो असन्तुष्टि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेको नेताहरु बताउँछन् ।

जबकी ठूला पदक पाउने कांग्रेसका नेताहरु नै छन् । के हो कांग्रेसमा देखिएको असन्तुष्टि ? नेताहरुका अनुसार कांग्रेसमा देखिएको असन्तुष्टिलाई तीन भागमा हेर्न सकिन्छ ।

पहिलो : कृष्णपसाद र सुवर्णशम्शेरको ग्रेडिङ

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र सुवर्णशम्शेर राणा कांग्रेसका संस्थापक नेताहरु हुन् ।

राणा परिवारबाट विद्रोह गरेर बहुदलीय व्यवस्थाको पक्षमा उभिएका सुवर्णशम्शेरले प्रजातान्त्रिक कांग्रेस गठन गरेका थिए । वीपी कोइराला नेतृत्वको राष्ट्रिय कांग्रेससँग एकता गरेर नेपाली कांग्रेस स्थापना भयो । कांग्रेसले राणा शासनविरुद्ध थालेको सशस्त्र विद्रोहको सम्पूर्ण आर्थिक जोहो राणा स्वयंले गरेका थिए ।

तर देउवा सरकारले संविधान दिवसको अवसर पारेर भट्टराईलाई सबभन्दा ठूलो पदक नेपाल रत्न दिएको छ भने सुवर्णशम्शेर राणालाई दोस्रो पदक राष्ट्र गौरव दिएको छ ।

उसैपनि कांग्रेसले अरु संस्थापकलाई जति महत्व दिन्छ, सुवर्णशम्शेरलाई दिएको छैन । बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईहरुको जन्म जयन्ती मनाउँछ, संस्थापक नेताहरुलाई सम्झन्छ । तर सुवर्णशम्शेरको जन्म जयन्ती मनाउँदैन । जीवनको अन्त्यतिर वीपीसँग फरक मत राखेका कारण कोइरालाहरुले उनलाई अर्को दर्जाको व्यवहार गर्ने गरेको नेताहरुको भनाइ छ ।

देउवा समूहले आफूलाई कृष्णप्रसाद भट्टराईको लिगेसीसँग जोड्छ । त्यसकारण आफू सरकारमा भएको बेला नेपाल रत्न दिएर सम्मान गर्न खोज्नु अन्यथा होइन । भट्टराईको सम्मान गर्दा अर्का संस्थापक नेता सुवर्णशम्शेरलाई अपमानित गर्ने काम भएको कांग्रेस नेताहरु बताउँछन् । ‘यदि आत्मा हुन्छ भने सुवर्णशम्शेरलाई तल राख्दा किसुनजीको आत्मालाई पनि आनन्द लागेको छैन होला,’ एकजना केन्दीय सदस्य भन्छन् ।

नेपाल रत्न पदक पहिलो पटक लौह पुरुष गणेशमान सिंहलाई दिइएको थियो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल स्वयंले सिंहको नाम प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले विरोध गर्न सकेनन् ।

त्यही बेला राष्ट्र गौरव पदक भने गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई दिने निर्णय भएको थियो । गिरिजापुत्री सुजाताले त्यो पदक लिइनन् । सुशील कोइराला प्रधानमन्त्री भएपछि २०७१ मा गिरिजाप्रसादलाई नेपाल रत्न पदक दिने निर्णय भयो । २०७५ सालमा बीपी कोइरालालाई पनि नेपाल रत्न पदक दिइएको थियो ।

दोस्रो : इश्तियाक र योगेन्द्रहरु एउटै सूचीमा किन ?

यो पटक अहिलेसम्मकै सबभन्दा धेरै ९३१ पदक दिइएको छ, जसमा कांग्रेस नेताहरु हावी छन् । मंगलादेवी सिंहलाई महाउज्ज्वल राष्ट्रदीप दिइएको छ भने प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउनेहरुमा चक्रप्रसाद बास्तोला, योगेन्द्रमान शेरचन, दिवान सिंह राई, तेजबहादुर अमात्य, सरोज कोइराला र रामनारायण मिश्र लगायत छन् ।

यो सूचीमा रुपन्देहीका इश्तियाक अहमद खान पनि छन् । लामो समय राप्रपाको राजनीति गरेका र संविधानसभा सदस्य भएका उनी २०७४ मा मात्रै कांग्रेस प्रवेश गरेका थिए ।

रुपन्देही ४ मा आफ्नो राजनीतिको बाहक भएकै कारण गृहमन्त्री बालकृष्ण खाँणले उनलाई पदक दिएको नेताहरु बताउँछन् । पदक वितरणमा कमजोरी भएको स्वीकार गर्दै कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘यसरी पदक बाँड्दा पाउनेहरुलाई सम्मान भएको महसुस हुन सकेको छैन ।’

यति मात्र होइन, नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपाललाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ । भोजपुरकै कांग्रेसका दिवंगत नेता दिवान सिंह राईलाई त्योभन्दा सानो प्रसिद्ध प्रबल जनसेवाश्री मात्रै दिइएको छ ।

तेस्रो : महाधिवेशन राजनीति

नेताहरुका अनुसार संविधान दिवसका अवसरमा दिइएका पदकहरुमा विभागीय मन्त्री खाँण हावी छन् ।

गृह मन्त्रालयले संविधान दिवसको अवसरमा विभूषण दिन २० असारमा सूची संकलन गरिसकेको थियो । तर २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए भने शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्यो । गृहमन्त्री खाँडले त्यो सूचीमा व्यापक हेरफेर गरे ।

कांग्रेसमा महामन्त्री उठ्ने तयारीमा रहेका उनले आसन्न महाधिवेशनलाई हेरेर पदक बाँडेको नेताहरुको आरोप छ । पार्टीका पुराना नेताहरुलाई मात्र होइन, तल्लो कमिटीका नेताहरुलाई पनि त्यही आशयका साथ पदक दिइएको एक नेताले बताए । ती नेता भन्छन्, ‘यस्ता नेताहरु २०/२५ जना छन् ।’

कांग्रेसका नेताहरुले प्रचण्ड पत्नी सीता र माधवकुमार नेपालका बुबा स्व. मंगलकुमारलाई दिएको पदक पनि सत्ता गठबन्धनका नेताहरुलाई रिझाउन गरेको अनावश्यक काम भनेका छन् । साथै विदेशी नागरिकहरुलाई दिइने सबभन्दा ठूलो पदक महाउज्ज्वल राष्ट्रदीप नदिनु पनि त्रुटि भएको उनीहरु बताउँछन् । एक नेता भन्छन्, यो पदक दिनुपर्थ्यो, यो अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग हुन्थ्यो । तर सरकारले यत्ति पनि गरेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?