+
+
विशेष रिपोर्ट :

सकसपूर्ण उत्तरको बाटो 

११ असोज, काठमाडौं । तातोपानी र रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ नगएको दुई वर्ष भयो । यी नाका हुँदै नेपाल वस्तु भित्र्याउन पनि कडा चिनियाँ शर्त मानेर कोटा प्रणालीको पालना गर्नुपर्छ । नेपालका उत्तरी नाकाहरू किन सकसपूर्ण हुँदैछन् ?

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ असोज ११ गते १८:१०

११ असोज, काठमाडौं । ६ माघ २०७७ मा एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालसँगको व्यापारमा चीनले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए । बन्दरगाह व्यवस्थापन गर्ने मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले भनेका थिए, ‘चीनतर्फको नाकामा भइरहेको अवरोध प्राकृतिक कारणले मात्रै होइन ।’

‘उसको गैरजिम्मेवारपूर्ण व्यवहार यस्तै रहे चीनसँगको व्यापार कठिन हुने र यस सम्बन्धमा सरकारले सोच्नुपर्ने बेला भएको’ भन्दै भट्टले ‘यसबारे प्रधानमन्त्रीसँग विस्तृतमा कुरा हुने’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

हाल मन्त्रीको जिम्मेवारीमा नरहेका भट्टसँग अनलाइनखबरले सम्पर्क गरेर सोधेको थियो– त्यो सार्वजनिक अभिव्यक्तिपछि चीनतर्फको बाटोमा रहेको अवरोधबारे केही प्रगति भयो ? जवाफमा भट्टले भने ‘कोरोनालाई कारण बनाएर चीनले नेपाली व्यवसायी डुबाएको सम्बन्धमा परराष्ट्र मन्त्रालयमा घनीभूत छलफल गर्‍यौं, राजदूतसँग पनि सरकारले जवाफ मागेको थियो ।’ तर, त्यसयताका ९ महीनामा पनि नेपाल–चीन नाकामा सुधार र पहुँच विस्तारमा कुनै उल्लेख्य प्रगति नभएको व्यवसायीहरू बताउँछन् ।

तातोपानी र रसुवागढी नाकाबाट नेपाली उत्पादन चीनतर्फ नगएको दुई वर्ष भयो । यी नाका हुँदै नेपाल वस्तु भित्र्याउन पनि कडा चिनियाँ शर्त मानेर कोटा प्रणालीको पालना गर्नुपर्छ । नेपालका उत्तरी नाकाहरू किन सकसपूर्ण हुँदैछन् ?

२०२३ सालदेखि सञ्चालनमा आएको काठमाडौं–कोदारी अरनिको राजमार्ग २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि विकल्पमा रसुवागढी नाकाबाट अन्तर्राष्ट्रिय व्यापार शुरू भएको थियो ।  नेपाल–चीन बीच १ हजार ४१४ किलोमिटर लामो हिमाली सीमारेखामा ६ वटा व्यापारिक नाकाहरू छन् । जसमध्ये स्थलमार्ग भएर ठूलो मात्रामा दुई देशीय व्यापार हुने नाका तातोपानी र रसुवागढी मात्रै हुन् ।

पारवहनमा भारत बाहेकको दोस्रो मुलुक भएर अन्तर्राष्ट्रिय व्यापार गर्न चीनतर्फको नाका नेपालका लागि सामरिक महत्वको क्षेत्र मानिन्छ । नेपालका लागि काठमाडौंबाट तातोपानी वा रसुवागढी भएर चिनियाँ बन्दरगाह हुँदै तेस्रो मुलुक छिचोल्ने र चीनलाई दक्षिणएशिया छिर्ने द्वारको रूपमा चर्चा गरिएको उत्तरको बाटोको हालत भने केही वर्षदेखि हदैसम्मको दयनीय छ ।

फस्दैछन् नेपाली व्यापारी

चीनबाट नेपालका लागि व्यापार गर्ने कम्पनी सिल्क रोड ट्रान्सपोर्ट (बालकुमारी) ले सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीको ठेक्का पाएर १० हजार मेट्रिक टन युरिया मल चीनबाट नेपाल ल्याउँदैछ । गहुँ र तरकारी तथा तोरी बालीका लागि ल्याउन लागिएको सो मल कहिले आइपुग्ने हो यकिन छैन । कम्पनीले उक्त सरकारी ठेक्काका अलावा थप ३० हजार सहित गरेर ४० हजार मेट्रिक टन मल चिनियाँ नाका हुँदै नेपाल ल्याउने काम गरिरहेको छ ।

४० हजार मेट्रिक टन मल भनेको ट्रकमा हाल्दा ४०० ट्रक हुने सिल्क रोडका कार्यकारी प्रमुख कल्याण सिलवाल बताउँछन् । चीनले एउटा नाकाबाट दैनिक ८ देखि १० वटा मात्रै गाडी नेपालतर्फ छोड्ने नीति लिएका कारण समयमै मल भित्र्याउन सकस परेको सिलवालले बताए ।

‘सिगात्सेमा पल्टी गरेर (एउटा साधनबाट झिकेर अर्कोमा हाल्ने काम) ट्रकमा नेपाल ल्याउन त्यो पनि सबै दिन पालो आए पनि कम्तीमा ४० दिन लाग्छ । सामान्य अवस्थामा एक साताको कामको लागि हामीले थप ३३ दिन खर्च गर्नुपर्ने अवस्था आयो’, सिलवालले दुखेसो गरे ।

नेपालमा विद्युतीय स्कुटरको कारोबार गर्ने आस्था अटोमोबाइलका सुरेन्द्र मानन्धरले २०७८ वैशाखमा चीनबाट ४०० थान स्कुटरको विद्युतीय ब्याट्री मगाए । वैशाख अन्तिम सातातिर चीनबाट हिंडेको उनको ब्याट्री जेठ दोस्रो साता केरुङ र तातोपानी गरी दुई भन्सार नाकामा आइपुग्यो । कोरोनाका कारण लामो समय भन्सारमा थन्किएको ब्याट्रीको ठूलो परिमाण हरायो ।

‘कोभिड प्रोटोकलका कारण चीनतर्फबाट हाम्रो सामान नेपाल पठाउन पालो नै आएन उतै हरायो’ मानन्धरले भने, ‘उताबाट ब्याट्री नआएपछि यता स्कुटी पनि बेच्न सकिएन, हाम्रो लाखौं रुपैयाँ डुब्यो ।’

तीन वर्ष अघिसम्म चीनबाट नेपालका लागि वस्तु आयात गर्दा बढीमा २५ दिनमा सामान काठमाडौं आइपुग्ने व्यवसायी अनुप श्रेष्ठको अनुभव छ । तर, त्यसपछिका दिनमा उत्तरको बाटो अत्यासलाग्दो बन्दै गएको उनी स्मरण गर्छन् ।

तातोपानी नाका

दशैं अघि बिक्री गर्ने भनेर घरको भित्री इन्टेरियरका वस्तु आयात गर्न उनले केही दिनअघि चीनको ग्वान्जाउमा रहेका नेपाली व्यवसायीलाई सम्पर्क गरे । जहाज भाडा महँगो हुने र समुद्री तटबाट ल्याउँदा पानीजहाजले नेपालीको सामान थोरै हुने भएकोले बोक्न नमान्ने समस्याका कारण केरुङ र तातोपानी भएर सामान पठाइदिन उनले आग्रह गरेका थिए ।

तर, साथीले सामान पठाइदिने, डेलिभरीको जिम्मा नलिने बताएको अनुप बताउँछन् । ‘सामान कति दिनमा केरुङ वा तातोपानी पुग्छ र त्यहाँबाट थप कति दिनमा नेपाल पुग्छ भन्ने कुनै ठेगान छैन, सामान नहाल्नुस्’ ग्वान्जाउमा रहेका साथीको भनाइ सम्झिंदै अनुपले अनलाइनखबरसँग भने ।

चीनबाट नेपालमा मेशिनरी तथा फलफूल आयात गर्ने व्यवसायी फुनु शेर्पाको दुःख पनि अरू व्यापारीको भन्दा कम छैन । स्याउ, अक्सिजन प्लान्ट, गार्मेन्ट लगायत सामान ल्याउन उत्तरबाट निकै कठिनाइ भएको फुनु बताउँछन् ।

‘हामीले ल्याउने स्याउ एक कन्टेनरमा झण्डै १० प्रतिशत बिग्रिन्छ, भनेको समयमा कहिल्यै सामान आइपुग्दैन’, शेर्पाले भने । चीनको मूल बजारबाट १५ दिनमा मेलाम भन्ने ठाउँसम्म सामान आइपुगे पनि त्यहाँबाट नेपाल आइपुग्न कुनै निश्चित नहुने उनले बताए ।

नेपालको आयात अर्थतन्त्रमा चिनियाँ हिस्सा दोस्रो नम्बरमा छ । काठमाडौंबाट १४५ किलोमिटरमा रसुवागढी र ११३ किलोमिटरको दुरीमा तातोपानी नाका छ । नेपालमा खपत हुने खाद्यान्न, लत्ताकपडा, फलफूल सहित कैयौं वस्तुको प्रमुख आयात विन्दु चिनियाँ भूमि नै हुन् ।

रसुवागढी नाका

गत आर्थिक वर्षमा मात्रै नेपालले चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ भन्दा धेरैको माल वस्तु आयात गरेको थियो । चालु आथिक वर्षको दुई महीना मात्रैमा पनि नेपालले ४२ अर्ब ८४ करोड ७५ हजार रुपैयाँ भन्दा बढीको वस्तु चीनबाट आयात गरिसकेको छ ।

व्यवसायी विष्णु खत्रीका अनुसार हवाई यात्रा महँगो हुनु, पानीजहाजबाट हुने ढुवानी लामो हुनुका कारण नेपाली व्यवसायी तातोपानी र केरुङ स्थलमार्गलाई व्यापारिक प्रयोजनका लागि प्राथमिकतामा राख्छन् । तर, विकल्पको बाटोमै प्रशस्त अवरोध भएकोले उनीहरू असाध्यै समस्या भोगिरहेका छन् ।

व्यवसायी अनुप श्रेष्ठका अनुसार तातोपानी र रसुवागढी भएर गरिने व्यापार अहिले २५ दिनबाट लम्बिएर कैयौं महीना पर पुगेको छ । हवाई मार्गबाट सामान छिटो आए पनि महँगो भाडाका कारण थोरै व्यवसायीहरू मात्रै यो बाटो प्रयोग गरिरहेका छन् ।

ग्वान्जाओबाट समुद्री बाटो हुँदै कलकत्ता वा हल्दिया भएर वीरगन्जको बाटो सामान आउन कम्तीमा ४५ र बढीमा तीन महीनासम्म लाग्ने व्यवसायीको अनुभव छ । तर उत्तरको बाटो सहज भएको खण्डमा आपतकालीन वस्तु १५ दिनमा नै नेपाल ल्याउन सकिने सिल्क रोड ट्रान्सपोर्टका चिफ अपरेटिङ अफिसर कल्याण सिलवाल बताउँछन् ।

नेपालीले सामान खरीद गर्ने ग्वान्जाउ वा ईयू शहरबाट सिगात्सेसम्म दिनमा रेल, त्यहाँबाट ट्रकमा केरुङ वा तातोपानी हुँदै काठमाडौं आउन सकिने भए पनि पछिल्लो दुई वर्षदेखि कहिल्यै सामान सही समयमा नआएको व्यवसायीहरूको गुनासो छ ।

बन्दको ठेगान नभएको नाका

पछिल्ला तीन वर्षमा नेपाल चीन बीचको तातोपानी नाका कति पटक अवरोध भयो भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू अनभिज्ञता प्रकट गर्छन् । व्यवसायीहरूका अनुसार २०७२ सालको भूकम्पपछि नेपाल चीन बाटोमा अस्थिरता शुरू भएको र अझ २०७६ सालमा शुरू भएको कोरोना महामारी पछि दुई देशका नाकामा असाध्यै कठिनाइ सिर्जना भएको छ ।

तातोपानी नाका

२०७२ सालको भूकम्पका कारण र त्यसपछि बाढी र पहिरो बाहेकले अवरुद्ध नहुने नाका २०७६ माघदेखि भने झण्डै दर्जन पटक खुल्ने र बन्द हुने भएका छन् । तातोपानी र रसुवागढी नेपाल–चीन दोहोरो व्यापारको स्थलमार्ग भए पनि नेपाली वस्तु निर्यात त परको कुरा आयात पनि कोटा प्रणालीमा र कडा चिनियाँ शर्तमा मात्रै भइरहेको छ ।

१५ माघ २०७६ मा चिनियाँ नयाँ वर्षको विदाका कारण तातोपानी र रसुवागढी नाका बन्द गरिएको थियो । त्यसलगत्तै २०७६ माघ अन्तिम साता बाटोमा हिमपात भएपछि पुनः दुवै नाका बन्द भए ।

२०७६ फागुन अन्तिम साता पहिलो पटक कोरोना संक्रमण चीनमा पुष्टि भएपछि दुवै नाका बन्द हुने क्रम झनै लम्बियो । ९ चैत २०७६ मा  कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपालद्वारा दुवै नाका सिल गरियो । २४ असार २०७६ मा नेपालतर्फ पहिरोका कारण तातोपानी नाका बन्द भयो भने १६ भदौ २०७७ मा नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका चिनियाँ पक्षले बन्द गरायो ।

१९ असोज २०७७ मा तातोपानी नाका खुल्यो तर २० असोज २०७७ मा हिमताल फुट्ने तथा नेपालबाट कोरोना सर्न सक्ने भन्दै नाका पुनः सिल भयो । १३ कात्तिक २०७७ मा रसुवागढी र तातोपानी नाका पुनः सञ्चालनमा आए तर ८ माघ २०७७ मा मितेरी पुल निर्माण गर्न तातोपानी नाका पुनः बन्द भयो ।

२७ माघ २०७७ मा तातोपानी नाका खुल्यो तर दुई दिनपछि २९ माघमा अर्को नाका रसुवागढी ल्होसारका लागि बन्द गरियो । ल्होसार पछि कोरोना रोकथामको कडा शर्तसहित एकतर्फी रूपमा यो नाका सञ्चालनमा छ । ८ असार २०७८ मा तातोपानी नाका पहिरोले लामो समय बन्द हुन पुग्यो तर अहिले यो नाका आंशिक सञ्चालनमा छ ।

नाका बन्दका शृंखला

  • १५ माघ २०७६– चिनियाँ नयाँ वर्ष विदा दुवै नाका बन्द
  • २०७६ माघ अन्तिम साता– बाटोमा हिमपात भएकोले दुवै नाका बन्द
  • २०७६ माघ– चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि दुवै नाका बन्द
  • ९ चैत २०७६– कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपालद्वारा दुवै नाका सिल ।
  • १२ चैत २०७६– मालवस्तु आयातका लागि मात्रै नाका खोल्ने नेपालको प्रस्ताव चीनद्वारा झन्झटिलो शर्त प्रस्ताव, तर नाका बन्द ।
  • २४ असार २०७६– नेपालतर्फ पहिरोका कारण तातोपानी नाका बन्द पहिरो पन्छाएर नाका खोल्न नेपालको प्रस्ताव चीनद्वारा अस्वीकार
  • १६ भदौ २०७७– नेपाली श्रमिकमा कोरोना देखिएपछि रसुवागढी नाका बन्द
  • २० असोज २०७७– हिमताल फुट्ने तथा नेपालबाट कोरोना सर्न सक्ने भन्दै तातोपानी नाका बन्द
  • ८ माघ २०७७– मितेरी पुल निर्माण गर्न तातोपानी नाका पुनः बन्द
  • २९ माघ २०७७– रसुवागढी नाका ल्होसारका लागि दुवै नाका बन्द
  • ८ असार २०७८– तातोपानी नाका अवरुद्ध

साढे दुई वर्षदेखि स्थलमार्गको निर्यात ठप्प

दुई देशबीचको व्यापारिक नाका भनिए पनि नेपाल–चीन स्थलमार्गका नाकाबाट नेपाली वस्तु निर्यात नभएको साढे दुई वर्ष भयो । कोभिड प्रोटोकलका कारण चीनले उसको देशको वस्तु आयात गर्न मात्रै नेपालका लागि खुला गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालले चीनतर्फ २ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । यस्तै आर्थिक २०७६/७७ मा नेपालबाट एक अर्ब १९ करोड ११ लाख रुपैयाँको वस्तु चीन निर्यात भएको थियो । आव २०७७/७८ मा एक अर्ब १ करोड रुपैयाँ बराबरको वस्तु नेपालबाट चीनतर्फको निर्यात भएको भन्सारको विवरणबाट देखिन्छ ।

तर, उक्त निर्यातमा रसुवागढी र तातोपानी स्थलमार्गको हिस्सा भने शून्य भएको भन्सार विभागले जनाएको छ । नेपालबाट चाउचाउ, बिस्कुट, हस्तकलाका सामग्री, बिरालो तथा कुकुरका आहारा, जडीबुटी जस्ता वस्तु चीनतर्फ निर्यात हुने गर्दछन् ।

तातोपानी र रसुवागढीका अलावा मुस्ताङको कोरला, हुम्लाको यारी, दोलखाको लामाबगर, ताप्लेजुङको ओलाङ्चुङगोला, संखुवासभाको किमाथाङ्का, गोरखाको लार्के र मुगुको मुगु भन्सारबाट पनि नेपालले चीनसँग नगन्य मात्रामा व्यापार गर्छ ।

हिल्सा नाका

तातोपानी र रसुवागढी बाहेक अरू नाकाको व्यापार ठूलो मात्रामा नरहे पनि स्थानीय बजारमा यसको प्रभाव हुने मुस्ताङको कोरला नाकाका भन्सार अधिकारी टासी नर्वु गुरुङ्ग बताउँछन् । चिनियाँतर्फबाट कोरोनालाई कारण देखाएर कोरोला नाका बन्द गरिदिंदा भेडा, च्यांग्राको चरन समेत प्रभावित भएको गुरुङ्गले बताए । असार, साउन र भदौमा गरी हरेक वर्ष तीन पटक खुल्ने नाका १८ महीनादेखि ठप्प रहेको उनको भनाइ छ ।

मानसरोवर यात्राको लागि प्रख्यात हुम्लाको यारी नाका नखुल्दा नेपालको ठूलो आम्दानी गुमिरहेको छ भने हुम्लाका स्थानीयलाई खाद्यान्न र रोजगारीमा समेत समस्या भएको छ ।

१० महीनापछि २०७८ पुसमा आंशिक रूपमा सञ्चालनमा आएको नाका अहिले फेरि बन्द छ । उता, कोरोनाकै कारण नाका बन्द भएपछि भन्सार विभागले किमाथाङ्का नाकाबाट भन्सार अधिकारी नै काठमाडौं झिकाएको छ । किमाथाङ्काबाट काठमाडौं फर्किएको भन्सार कार्यालयका प्रमुख तुल्सीराम चुहीले बताए । ‘किमाथाङ्कामा भन्सार सम्पर्क कार्यालय मात्रै छ, व्यापार छैन । म काठमाडौं फर्किएको एक वर्ष हुनलाग्यो’ अहिले अर्थ मन्त्रालयमा दरबन्दी रहेका चुहीले भने ।

छलफल नै हुन छाड्यो तल्लो तहमा

गृह मन्त्रालय मातहतको स्थानीय प्रशासन र चिनियाँ पक्षबीच हरेक तीन–तीन महीनामा सीमा क्षेत्रका समस्याबारे छलफल गर्न समकक्षीहरू बीचमा संयन्त्र पनि छ । भन्सार र सुरक्षा अधिकारी सहित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हरेक तीन–तीन महीनामा बस्नुपर्ने यो बैठक लामो समयदेखि नभएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

कोभिडको कारण देखाएर चिनियाँहरू नेपाली सम्पर्कदेखि निकै टाढा रहेको रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले बताइन् । मानिसको ओहोरदोहोर ठप्प भएको र माल वस्तु आयातमा कोटा प्रणाली अझै विद्यमान रहेको उनको भनाइ थियो ।

रसुवा जिल्ला पूर्ण रूपमा कोरोना विरुद्धको खोप लगाएको जिल्ला भएको भनेर घोषणा गर्दा समेत चीनले अप्ठ्याराहरू कायमै राखेको छ’, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भनिन् ।

उता, कोभिड सतर्कताको कारण देखाएर दुईपक्षीय छलफलमा हुने माइन्यूटमा हस्ताक्षर समेत हुन नसकेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । चिनियाँहरूको उच्च कोभिड सतर्कता नै पछिल्लो समय नाकामा भएको अवरोधको कारण भएको उनको भनाइ छ ।

चिनियाँ पक्षले भन्सार नाका कामचलाउ रूपमा मात्रै सञ्चालन गरेको र स्थानीय तहमा गरिने छलफलमा चिनियाँ पक्षले माथिको आदेश नभई केही निर्णय दिन नसक्ने भनेको खनालले बताए ।

नाकामा सहजीकरण, कोटा प्रणाली बढाउन हामीले हाम्रो स्तरमा कुरा राख्छौं तर उहाँहरू माथिको आदेश नभई केही हुन्न भन्नुहुन्छ’, सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने । चीनतर्फको नाकाको समस्या समाधान गर्न अब केन्द्रीय तहबाटै ठोस पहल हुनुपर्नेमा तल्लो तहका अधिकारी एकमत छन् ।

के यसमा राजनीतिक स्वार्थ पनि छ ?

चीनसँगको व्यापार तथा परिवहनको मुद्दा हेर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा छ । नेपालसँगको सीमामा देखिएको असमझदारीबारे चीनसँग धेरै पटक कूटनीतिक पहल भइरहेको महाशाखा प्रमुख सहसचिव डा. नारायणप्रसाद रेग्मीले बताए । परराष्ट्र मन्त्रालय, चीनस्थित नेपाली दूतावास तथा महावाणिज्य दूत र नेपालस्थित चिनियाँ दूतावासबाट निरन्तर प्रयास गरिरहेको रेग्मीको भनाइ छ ।

नाका सहज बनाउन कुनै अप्ठ्यारो नरहेको तर नेपालमा कोरोना संक्रमणदर निरन्तरता उनीहरूको डर भएको रेग्मी बताउँछन् । उनीहरूलाई आश्वस्त पार्न पछिल्ला छलफल तथा कूटनीतिक पत्रहरूमा नेपालमा कोभिड खोपको प्रभावकारिताबारे प्रष्ट्याउने काम भएको पनि उनको भनाइ छ ।

चीनलाई अप्ठ्यारो पार्न नेपालले नचाहेको भन्नेमा आश्वस्त पार्दै पूर्ण कूटनीतिक प्रयास भइरहेकोले यसले थप सहजता ल्याउने रेग्मी बताउँछन् । केही दिनअघि मात्रै ल्हासामा भएको छलफल पछि कोटामा आइरहेका कन्टेनरको संख्या बढाउन चीन सकारात्मक देखिएको उनले बताए ।

तर नेपाल चीन नाका सहजीकरणमा चीनले कोरोनालाई बहाना बनाइरहेको पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपा एमालेका नेता लेखराज भट्ट बताउँछन् । नाकालाई चीनले अदृश्य राजनीतिक स्वार्थमा प्रयोग गरिरहेको उनको भनाइ छ ।

‘कोरोना भनिए पनि यसको अन्तर्यमा राजनीति छ, होइन भने यो खालको उल्झन आवश्यक थिएन’ पूर्वमन्त्री तथा एमाले नेता भट्टले भने, ‘चीनका कारण उसैले गर्ने व्यापारमा नेपाली व्यवसायीहरू ठूलो पीडामा परेका छन् ।’

तर, नेपाल–चीन नाकाको हालसम्मको समस्या मुख्यतः प्राकृतिक प्रकोप नै भएको चीन मामलाका जानकार डा.रूपक सापकोटा बताउँछन् । भूकम्पले थलिएको पूर्वाधारमा कोरोनाको कहर थपिंदा समस्या बढेको उनको बुझाइ छ । चीनले नेपाललाई दक्षिणएशिया छिर्ने ढोकाको रूपमा विकास गर्न चाहेको तर सो अनुसार नेपाल तयार भएको नपाइएको उनले बताए ।

‘एउटा नाकामा समस्या आए अर्को नाका सञ्चालन गर्न सक्ने गरी चीन तयारी अवस्था छ तर नेपालले त्यस अनुसार पूर्वाधारमा काम गर्न थालेको देखिन्न’, सापकोटाले भने । हाल नाकामा देखिएको समस्या कोरोना खोपको उपलब्धता र प्रकोप कम भएपछि हट्ने बताउँदै सापकोटाले यसमा राजनीतिक कारण छ भन्नुमा एक प्रतिशत पनि सत्य नहुने दाबी गरे ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?