+
+

नेता-मन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजीर बन्यो- डा. लोचन कार्की

नुनुता राई नुनुता राई
२०७८ असोज १३ गते १०:५९

धेरैजसो सर्वसाधारण घरमै रोग पालेर बस्न बाध्य छन् । किन ? सर्वसाधारणको कोणबाट हेर्दा यसका केही कारण छन् । जस्तो कि, हामीकहाँ स्वास्थ्य सेवा सर्वसुलभ छैन । स्वास्थ्य प्रणाली झन्झटिलो छ । सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । अनुभवी–दक्ष स्वास्थ्यकर्मीको अभाव छ । साथसाथै उपचार पद्धति खर्चिलो छ ।

यद्यपि चिकित्सकहरू यो कुरा स्वीकार गर्न तयार छैनन् । नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्की भन्छन्, ‘सीमित रोगबाहेक अन्य सबैजसो रोगको उपचार नेपालमै संभव छ । तुलनात्मक रूपमा यहाँको उपचार प्रणाली सजिलो र कम खर्चिलो पनि छ ।’ यति हुँदाहुँदै पनि नेता–मन्त्री र ‘ठूलाबडा’हरू उपचारका लागि भन्दै विदेश धाउने गर्छन् । लोचन कार्की थप्छन्, ‘उनीहरूकै कारणले गर्दा नेपालको चिकित्सा प्रणालीप्रति सर्वसाधारणमा अविश्वास बढेको हो ।’ यसै सन्दर्भमा नेपालका समग्र चिकित्सा प्रणालीबारे अनलाइनखबरले डा. कार्कीसँग गरेको कुराकानीः

अहिले समग्रमा हेर्दा हाम्रो उपचार प्रणाली कति उन्नत र छरितो छ ?

यो प्रश्न चाहिं तुलनात्मक भयो । हामीले कुनै देशसँग तुलना गर्दा कसैसँग ढिलो होला कसैसँग छिटो होला । त्यस्तो विशेष मापदण्ड त छैन के को आधारमा उन्नत र छरितो भन्ने ।

हामीले अष्ट्रेलिया, बेलायत, अमेरिका लगायत देशको स्वास्थ्य सेवासँग तुलना गर्दा हाम्रो पनि अप्ठ्यारो उपचार प्रणाली छ । अमेरिकामा कोही बिरामी भयो भने साँच्चिकै आकस्मिक समस्या नभएसम्म लिंदैन । गर्भवती जाँचकै लागि पनि नेपालमा अलि अलि पेट दुखेको बेला पनि जाँच गर्ने, भर्ना लिने गर्छ । तर त्यहाँ त्यस्तो हुँदैन । कसैलाई केही स्वास्थ्य समस्या आयो भने आफ्नो एरियाका जीपी (जेनेरल प्राक्टिस्नर) पहिले भेट्नुपर्छ ।

नेपालमा टाउको दुख्यो भने सीधै न्यूरोलोजिष्टलाई भेट्न खोज्यो भने सकिन्छ । तर त्यहाँ जीपीले उपचार गर्छ र त्यसपछि उनले कसलाई सिफारिश गर्नुपर्ने हो त्यसपछि मात्रै विशेषज्ञलाई भेट्न सकिन्छ । विशेषज्ञलाई भेट्नको लागि दुई तीन महीनासम्म पनि लाग्न सक्छ । त्यसरी हेर्ने हो भने त हाम्रो मुलुक एकदमै छिटो र सहज पहुँचमा छ । आफूलाई जे सम्बन्धित डाक्टरलाई अथवा उपचार गर्न चाहन्छु भन्दा डाक्टरको समयको हिसाबले पाउँछ ।

शल्यक्रियाको हिसाबले भने ठूलो सरकारी अस्पतालहरूमा केही समय पर्खिनुपर्छ । डायलसिस, किड्नीको शल्यक्रिया जस्ता विषयमा चाहिं दुई महीना, तीन महीना पनि कुर्नुपर्ने हुन्छ । त्यसको कारण भनेको ठूलो अस्पताल पर्याप्त नहुनु हो ।

गुणस्तर उपचार हुन्छ भन्ने पनि पटक–पटक प्रमाणित भइसकेको अवस्था छ । भूकम्पको बेला, कोभिडको बेला यहाँका चिकित्सक र स्वास्थ्यकर्मीहरू सक्षम छन् भन्ने प्रमाणित भइसकेको छ । भूकम्पको बेला तत्काल उपचार गर्न नसक्दा धेरै मान्छेको मृत्यु हुने अवस्था थियो । आफ्नो ज्यान जोखिममा राखेर हल्लिरहेको भवनमा बसेर उपचार गरेको हो नि त ।  कोभिडको बेला त्यस्तै । कोभिडको बेला स्वास्थ्यकर्मीले काम गरेकै कारण मानव क्षति कम भयो । अरू मुलुकको जनसंख्याको तुलनामा नेपालमा कम मानव क्षति भएको छ । त्यसले गुणस्तर उपचार हुन्छ भन्ने त प्रमाणित भएको छ ।

नेपालमा स्वास्थ्य उपचार सिफारिश प्रणाली छ ?

हाम्रोमा स्वास्थ्य उपचार सिफारिश प्रणाली नै छैन । भएका सीमित स्वास्थ्य संरचनामा आवश्यक सेवा–सुविधा, दक्ष जनशक्ति छैन । साधारण झाडा–पखाला लागेको पनि वीर पुग्ने भयो, गम्भीर पेटको समस्या भएको बिरामी पनि एक ठाउँमा उभिएका हुन्छन् ।

साधारण झाडापखाला भएको बिरामी प्राथमिक उपचार केन्द्रले उपचार गरिदिए अथवा जिल्ला अस्पतालले हेरिदिए, प्रादेशिक अस्पतालले हेरिदिए पनि केही हदसम्म व्यवस्थापन गर्न सकिन्थ्यो । यसरी चेन अफ कमान्ड नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा नपाउने सम्भावना बढी रहन्छ ।

त्यसको लागि अब के गर्नुपर्छ ?

अब सरकारले नयाँ अस्पताल थप्ने, जनशक्ति थप्ने, नयाँ उपकरण ल्याउने, भएका स्वास्थ्यकर्मीलाई थप तालिम दिने हुनुपर्छ ।

त्यस्तैगरी काठमाडौंकेन्द्रित मात्रै अस्पताल नबनाएर सातै वटा प्रदेशमा प्रदेशस्तरीय सुविधासम्पन्न सरकारी अस्पताल बनाउने । अहिलेसम्म सरुवा रोगहरूको अस्पताल टेकु मात्रै छ । त्यो बाहेक बनाउनुपर्छ । अब तेस्रो लहर आउने हल्ला छ । त्यसले बालबालिकालाई जोखिम हुन्छ भन्ने हल्ला छ । तर बाल अस्पताल नेपाल भर कान्ति मात्रै छ ।

भनेपछि प्रादेशिक संरचना गइसकेपछि सातै वटा प्रदेशमा त्यस्ता अस्पतालहरू बनाउनुपर्छ । एक नम्बर प्रदेशका नागरिक उपचारका लागि काठमाडौं आउन नपर्ने खालको संरचना, व्यवस्थापन बनाउनुपर्छ । आउन पर्दा पनि चेन अफ कमान्ड प्रणालीमा सिफारिश भई आउने बनाउन जरूरी छ ।

भोजपुरमा सिटीस्क्यान मेसिन नहुँदा धरान आउनुपर्छ त्यहाँ आएर सिटीस्क्यान गर्दा नसामा रगत जमेको देखिन्छ रगत पातलो बनाउने पाँच रुपैयाँ पर्ने एउटा एस्प्रिन खाएपछि सञ्चो हुन्छ । त्यस्तो अवस्था छ हाम्रो । यस्ता डिजिटल एक्स रे, ल्याबका सुविधा र दक्ष जनशक्ति राख्नुपर्छ । पोल्टामा चिउरा बोकेर अथवा झोलामा अलिकति चामल बोकेर काठमाडौं उपचार गर्न आउनुपर्ने अवस्थाबाट माथि उठाउनुपर्छ ।

अहिले नेपालमा आवश्यक स्वास्थ्य जनशक्ति छ ?

हामीसँग स्वास्थ्य जनशक्ति मात्रै होइन स्वास्थ्य संस्थाहरू पनि पर्याप्त छैन । हिजो एक करोड जनता हुँदा पनि यत्ति नै डाक्टर तथा अस्पतालहरू थिए । आज तीन करोड जनता हुँदा पनि त्यत्ति नै डाक्टर र अस्पतालहरू छन् ।

त्यसबेला पनि यही पाटन, वीर, शिक्षण, टेकु थियो होला आज पनि त्यही छ । ४८ सालमा पनि १२ सय जनशक्ति थियो होला आज त्यही १३ सय अथवा १४ सय होला ।

पर्याप्त जनशक्ति नहुँदा गुणस्तर स्वास्थ्य उपचारमा पनि प्रभाव पार्छ । किनभने अस्पतालमा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म जत्ति जनाले उपचारको लागि टिकट काटेको हुन्छ त्यत्ति जनाको उपचार गरेर मात्रै उठ्नुपर्ने हुन्छ । जत्ति समय एक जना बिरामीलाई दिनुपर्ने हो त्यत्ति दिन सक्थ्यो दिन सक्दैन । त्यसले कतै न कतै उपचारको गुणस्तरमा कमी आउँछ

जटिल रोग उपचारका लागि विदेश जानुपर्ने बाध्यता टरेको छ वा छैन ?

केही अवस्थामा छ । तर यहाँ विशेषज्ञ अथवा डाक्टर सक्षम नभएर भन्दा पनि आवश्यक डायग्नोस्टिक टुल्सको अभावका कारण बाहिर जानुपर्ने बाध्यता छ ।

जस्तो हामीसँग पेट स्क्यान गर्ने उपकरण एउटा छ त्यो पनि कहिले चल्छ कहिले चल्दैन । त्यसको लागि हामी दिल्ली अथवा अरू देश जानुपर्ने अवस्था छ । तर स्वास्थ्यकर्मीको क्षमता नभएको कारण जटिल रोगका उपचारको लागि विदेश नै जानुपर्छ भन्ने अवस्था छैन । केही रोगका लागि आवश्यक उपकरण र साधनहरू नहुँदा जानुपर्ने अवस्था छ ।

९० प्रतिशत उपचार नेपालमा नै हुन्छ । अहिलेको अत्याधुनिक औजार, उपकरण सरकारीमा कम छ । तर कतिपय निजी अस्पतालहरूले त त्यो सुविधाहरू पनि दिन थालेका छन् । त्यसरी नयाँ रोग जसको जाँच नयाँ उपचार प्रविधिबाट गर्नुपर्ने अवस्थामा मात्रै हो ।

नेपालको स्वास्थ्य सेवाप्रति सर्वसाधारण किन विश्वस्त छैनन् ?

देशका नेता तथा ठूलाबडा मानिएकाहरूका कारण हो । आपतकालीन अवस्थामा यहाँका स्वास्थ्यकर्मी र अस्पतालले उनीहरूको जीवनरक्षा गर्छ ।

अरू सामान्य अथवा नियमित जाँचको लागि विदेश जाने परिपाटी छ । यसले सामान्य नागरिकमाथि भ्रम पर्न गएको हो । कोभिड नभएको भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नै शल्यक्रिया गर्नुहुन्थ्यो भन्नेमा पनि शंका छ । कोभिड भएको कारण उहाँको सफल शल्यक्रिया भयो । यसले पनि नेपालमा राम्रो उपचार हुन्छ भन्ने त प्रमाणित भयो नि !

ग्रामीण क्षेत्रका वा विपन्न वर्गकाहरू अस्पताल जान डराउँछन्, अस्पतालमा भर्ना भएपछि घरखेत नै सिध्याउनुपर्छ भन्ने भय देखिन्छन् नि ! के हाम्रो उपचार पद्धति खर्चिलो नै हो ?

यो प्रश्न पनि तुलनात्मक प्रश्न भयो । अन्य देशको तुलना गर्दा संसारको सबैभन्दा सस्तो स्वास्थ्य सेवा हो । खालि कुरा के भने हाम्रोमा स्वास्थ्यलाई इन्सुरेन्स प्रणालीमा व्यवस्थापन नगर्नु हो । नत्र यहाँ जस्तो सस्तोमा उपचार हुने देश कतै छैन । त्यसैले सरकारले यहाँको स्वास्थ्य प्रणालीलाई इन्स्युरेन्ससँग जोड्नुपर्छ ।

प्रायः नेता, मन्त्रीहरू उपचारका लागि विदेश जान्छन्, नेपालको स्वास्थ्य प्रणालीमा विश्वास नगरेर हो ?

त्यस्तै देखिन्छ । आपतकालीन स्वास्थ्य उपचार गरेर यहाँका स्वास्थ्यकर्मी तथा अस्पतालले जीवन रक्षा गरिदिन्छन् । अनि फेरि नेपाली डाक्टरहरू माथि विश्वास नगरेर विदेशमा गएर उपचार गराउँछन् ।

यो गलत नजिर छ । यहाँका भीआईपी रुम, बेडहरू खाली रहने र यहाँका भीआईपीहरू प्रधानमन्त्री, मन्त्रीहरू भने विदेशमा उपचार गराउन जाने । यसले गर्दा देशको धन सकिने, गलत नजिर स्थापित हुने, यही कारण सर्वसाधारणले विश्वास नगर्ने हुन्छ ।

यदि नेपालको उपचार ठीक नहुने हो भने त गरीब सबै मर्नुपर्ने नि त । गरीबले पनि उपचार पाएर हिंडेका छन् । नत्र भए त भीआईपी र धनी मात्रै बाँच्नुपर्ने हो नि त । हामीसँग भएका सीमित औजार उपकरण नहुँदा जाँदा ठीकै हो तर यहाँ त साधारण उपचारको लागि जानेहरू पनि छन् ।

सर्वसाधारणले अस्पतालको सेवाप्रति गुनासो गर्छन्, अस्पतालका कर्मचारीहरू रूखो हुन्छन् भन्ने दुःखेसो पोख्छन् । किन यस्तो स्थिति भएको होला ?

कहिलेकाहीं हुनसक्छ । त्यसको कारण मैले अघि पनि भने जनशक्तिको अभाव पनि हो । जनशक्ति कम हुँदा एउटै स्वास्थ्यकर्मीले बिहानदेखि बेलुकासम्म हेर्नुपर्ने हुन्छ । चाडपर्व भन्न पाउँदैन । विभिन्न व्यवहार भएका बिरामीको जाँच गर्नुपर्ने हुन्छ । मानव हो । कहिलेकाहीं त्यस्तो हुनसक्छ ।

मोटिभेसन फ्याक्टर पनि छैन । एउटा डाक्टरले पाउनुपर्ने सेवासुविधा पनि अत्यन्तै न्यून छ । अर्को आवश्यक तालिमको पनि अभाव छ । तर अहिले स्वास्थ्यकर्मी आफैं पनि सचेत हुँदैछन् । अहिले धेरै कम भइसकेको छ ।

समग्रमा हेर्दा नेपाली कुन रोगले बढी सताइएका छन् ?

अहिले नसर्ने रोगहरूबाट बढी सताइएका छन् । यो नेपालको मात्रै समस्या होइन । डब्लुएचओले विश्वभर नै नसर्ने रोगी बढी भएको जनाएको छ । नेपालमा सुगर, हृदयघात, प्रेसर, मानसिक स्वास्थ्य समस्या लगायतका रोगहरू बढी देखिएका छन् । हाम्रो जीवनशैलीका कारण यस्तो समस्या बढ्दो छ ।

हामीकहाँ उपचारै नहुने रोगहरू के के हुन् ?

९० प्रतिशत नेपालमा उपचार हुन्छ । अहिले नहुने भनेको नयाँ–नयाँ प्रविधिबाट गरिने उपचार हो । उपचार नहुने रोग भन्दा पनि नयाँ उपचार पद्धतिबाट हुने कतिपय उपचार चाहिं नेपालमा हुँदैन । उदाहरणको लागि, रोबोटिक उपचार नेपालमा शुरू भएको छैन । उपचार नै नहुने भन्ने छैन ।

स्वास्थ्य क्षेत्र सुधारका लागि को बढी जिम्मेवार ?

स्वास्थ्य क्षेत्र गुणस्तरीय बनाउने राज्यको दायीत्व हो । नेतृत्व महत्वपूर्ण हो । तर राजनीतिक दलहरुले स्वास्थ्यलाई चुनाव जित्नको लागि घोषणापत्रमा मात्रै प्राथमिकतामा राख्दै आएका । संविधानमा पनि मौलिक हकमा राख्ने काम मात्रै भयो । काम गर्ने बेला स्वास्थ्य मन्त्रालय कसैको कसैको प्राथमिकतामा पर्दैन । स्वास्थ्य मन्त्रालयलाई बी ग्रेटको लिईने गरिन्छ । सबैको ध्यान परराष्ट्र, अर्थ, गृह, रक्षा मन्त्रालयमा मात्रै हुन्छ ।

राज्यबाटै स्वास्थ्य क्षेत्र कमजोर बनाउने प्रयास भईरहेको छ भन्ने मन्त्री, कर्मचारी हेरफेरले पनि देखाउँछ । दुई तिहाईको सरकार हुँदा अरु मन्त्रालय स्थिर हुँदा स्वास्थ्यमा ६ पटक सचिव पाँच पटक मन्त्री फेरिए । काम कत्ति र कसरी भए होला भनेर अनुमान लगाउन सकिन्छ नि ।

अहिले पछिल्लो समय कोभिडले गर्दा आफै पनि मर्ने जोखिम बढेपछि अलिकति ध्यान गएको हो । हैन भने स्वास्थ्य क्षेत्रमा ध्यान छैन । स्वास्थ्यमा छुट्याइने बजेट हेर्दा पनि थाह हुन्छ । डब्लुएचओले कुल बजेटको कम्तिमा पनि १० प्रतिशत स्वास्थ्यमा हुनुपर्छ भनेको छ। तर नेपालमा पाँच प्रतिशत भन्दा बढेको छैन । यसपटक कोभिडका कारण ६ प्रतिशत पुग्यो होला ।

राज्यले स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि मैले भनेजस्तो देशभरी नै प्रदेश स्तरीय सुविधा सम्पन्न अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशत्ति खटाउने, आवश्यक उपकरण उपलब्ध, भएका जनशक्तिलाई तालिम दिनुपर्छ । राज्यको बेवास्ताले कमजोर भएको स्वास्थ्य क्षेत्र स्वास्थ्यकर्मीमाथि दोष थापर्ने प्रयास भईरहेको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment