+
+

दुई वर्षपछि ब्राण्डेड शपलाई दशैं लाग्दैछ : रुपेश पाण्डेय

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १८:२७

१३ असोज, काठमाडौं । नेपालमा अन्तर्रा‍ष्ट्रिय ब्राण्डका रेडिमेड गार्मेन्टको व्यापारमा स्थपित नाम हो आरपी ग्रुप । २०६२ सालमा काठमाडौंको इन्द्रचोकमा खुलेको आरपी ग्रुपको सेलियो ब्राण्डको पसल १६ वर्षमा देशभर फैलिएको छ ।

विश्वस्तरीय ब्राण्डेड कपडाको व्यापारमा नेपालको नम्बर एक दाबी गर्ने यो ग्रुपले आफ्ना दर्जनबढी स्टोरबाट १७ भन्दा धेरै प्रकारका क्लोथिङ आइटम बिक्री गर्दै आएको छ ।

ब्राण्डेड वस्तुको नक्कली उत्पादन भयवह भएको मुलुकमा अन्तर्राष्ट्रिय ब्राण्डलाई आधिकारीक अदालती सम्झौता गरेर फ्रेन्चाईची खोल्ने काम आफैमा चुनौतीपूर्ण छ । तर, युवा व्यवसायी रुपेश पाण्डेय यो व्यवसायमा सफल छन् ।

विदेशी पर्यटक र सानो संख्याका नेपाली उपभोक्ता लक्षित ब्राण्डेड पसलहरुलाई समान्यतः दशैं जस्ता चाडपर्वले छुदैन । यसपटक भने कोरोना महामारीका कारण करिब १८ महिना बन्द रहेको व्यवसाय दशैंमा नै जुर्मुराउनु पर्ने बाध्यतामा रहेको पाण्डेय बताउँछन् ।

ब्राण्डेड वस्तुको व्यापारमा कोभिड असर, दशैं योजना र अबको बाटोबारे अनलाइनखबरले आरपी ग्रुपका प्रमुख पाण्डेयसँग गरेको कुराकानीको सम्पादित अंश :

ब्राण्डेड वस्तुको व्यापारमा दशैं लाग्यो कि लागेन ?

१६ महिनाको कोभिड असरपछि पहिलो पटक हामीले दशैं ताकेर आफ्ना आउटलेटहरु सञ्चालनमा ल्याएका छौं । यस पटक हामीलाई साँच्चै दशैं लागेको छ ।

उपभोक्ताहरु पनि किनमेलका लागि बजार आउन थाल्नुभएको छ । पसलहरुमा दशैं लक्षित डिस्प्ले चलिरहेको छ ।

यस पटक ब्राण्डेड पसलहरुमा दशैं विषेश चाहिँ के छ ?

महामारीको बीचमा पनि विश्वस्तरीय वस्तुको उपलब्धता यस पटकको विषेशता हो । ग्राहकहरु विश्व बजारसम्म पुग्नपर्ने वस्तुहरु हामीले नेपाली बजारमै उपलब्ध गराएका छौं । हाम्रा सबै स्टोरमा त्यस्ता उत्पादन उपलब्ध छन्, फ्रेस रुपमा ।

दिल्ली, बैंकक, यूरोप वा अमेरिकाका बजारमा पाइने अधिकतम् वस्तुहरु नेपालमै उपलब्ध गराएका छौं । उपभोक्ताहरु यसमा सन्तुष्ट हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।

अहिले नेपालमा उपलब्ध प्रमुख ब्राण्डहरु के–के हुन ?

नेपाली उपभोक्ताका लागि आरपी ग्रुपको स्टोरमा १७ भन्दा धेरै ब्राण्ड उपलब्ध छ । यीमध्ये प्रमुख ९ वटा छन्– इन्डियन टेरिन, लुइस फ्लिप, सेलियो, कलर कल्स, दामिलानो, इटालिय, रोसो बुनालियो, अरेलिया क्लाक र जोसे ।

ब्राण्डेड वस्तुको व्यापारमा कोभिड महामारीको असर कस्तो छ ?

कोभिडका कारण १८ महिनादेखि बन्द रहेको व्यवसाय हामीले भर्खरै पूर्ण सञ्चालनमा ल्याएका छौं । त्यती लामो व्यापार शून्यको अवस्थाबाट गुज्रीएपछि आशा पलाएको छ ।

प्रमुख व्यापारिक क्षेत्रमा रहेका हाम्रो स्टोहरु महँगो घरभाडामा थिए । आयात गर्ने वस्तुमा पनि लगानी धेरै थियो । त्यसमाथि कर्मचारी र बैंक दायित्वलाई जिम्मेवार रुपमा वहन गरेर व्यापारमा फर्कँदै छौं ।

व्यवसाय पुरानो लयमा फर्कियो भन्न सकिने अवस्था हो ?

कोभिड कहरको बाबजुद हामी दशैंमा ग्राहकको आवश्यकता पुरा गर्न तयार छौं । यसको अर्थ दुई वर्ष अघिको लय समातेको होइन । गत दुई वर्षको क्षतिपूर्ति गर्न अझै चार वर्ष लाग्छ, त्यो पनि कोरोना यत्तिमै सिमित रह्यो भने ।

ब्राण्डेड व्यापारमा कोरोनाले कुनै अवसर पनि जुरायो कि ?

नेपाली ग्राहकको हकमा कोरोनाले हामीलाई एउटा अवसर दिएको छ । विदेश भ्रमणमा जाँदा ब्राण्डेड बस्तु किन्ने नेपाली ग्राहक कोरोनाले हामीलाई दियो । अब त दशैं लाग्यो । चहल पहल बढेको छ ।

कोरोनापछि उपभोक्ताको व्यवहारमा केही फरक देखिएको छ ?

मन परेको वस्तु रोजेर किन्ने, त्यसका लागि खर्च गर्न तयार हुने उपभोक्ताको स्वभावमा खासै फरक पाएको छैन् । आफ्नो सोखको वस्तु नपाइएला कि भन्ने ग्राहकको चासो हामीले सम्बोधन गरेका छौं ।

ब्राण्डेड वस्तु खरिदमा उपभोक्तालाई हुने फाइदा के हो ? ब्राण्डेड सामानमा आकर्षण कस्तो छ ?

ब्राण्डेड सामान महँगो र टिकाउ हुन्छ भन्ने सबैलाई थाह छ । यो क्षेत्रमा १६ वर्षको मेरो अनुभवले भन्छ– हरेक मानिस ब्राण्डेड वस्तुप्रति चासो राख्छन्, तर यसमा सबैको पहुँच पुग्दैन ।

ब्राण्डेड सामानमा वारेन्टी, ग्यारेन्टी पनि हुन्छ । तपाइँले किनेको वस्तुमा निश्चित समयमा कैफियत देखिए फिर्ता हुन्छ । एक वर्षमा फाट्ने चारजोर नन्ब्राण्डेड वस्तुको मूल्य ब्राण्डेड वस्तुमा लगानी गरे दुई वर्षसम्म टिकाउ हुन्छ । उपभोक्ताहरुले विस्तारै यो कुरा बुझ्दै र लागू गर्दैछन् ।

ग्राहकहरुको गुनासो र सुझाव चाहिँ कस्ता छन् ?

नेपालमा इन्टरनेटको फैलावट, रेमिट्यान्स लगायत कारणले बढेको क्रयशक्ति र विदेशबाट फर्किएका नेपालीको संख्या वृद्विका कारण ब्राण्डप्रतिको चासो निकै छ । सिंगापुर वा टोकियोमा किनेको सामान काठमाडौंमा पाउँदा ग्राहकहरु उत्साहित छन् । उहाँहरुले यस्ता–यस्ता सामानहरु ल्याउनुस् भन्दै सुझाव पनि दिनुहुन्छ ।

निश्चित ग्राहक हुने ब्राण्डडेड स्टोरहरुलाई दशैं लाग्दैन भन्छन् नि ?

विगतमा सधैँ बजार खुल्ने भएकाले हामीलाई दशैं भनेर खास मेहनत गर्न पर्दैनथ्यो । तर, कोभिडका कारण बन्द रहनुपरेकोले हामीलाई दुई वर्षपछि दशैं लाग्दैछ । दशैमा ग्राहकहरु बाहिर निस्कनुहुन्छ भनेरै हामीले तयारी गरेका छौं । दशैंका लागि वस्तु आयात भएका छन्, हाम्रा स्टोहरु रंगीएका छन् । छुट र अफरहरु पनि छन् ।

बजारमा कुनै समस्याको भय छ कि ?

कोभिड खोपका कारण सबैको आत्मविश्वास बढेको छ । पछिल्ला दिनमा भारतमा बढेको संक्रमण दरले भने चिन्ता थपेको छ । अहिले खोप लगाएकाहरुमा ६ महिना पछि असर बढ्यो भने के होला भन्ने चिन्ता छ । फेरि लकडाउनको अवस्था आयो भने त्यो धेरै महँगो पर्नेछ ।

तस्वीरः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?