
१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पु¥याउने कार्य गरेको भन्दै जसपाले यसलाई अत्यन्तै आपत्तिजनक र दूराशयपूर्ण भनेको छ ।
अख्तियारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत छात्राहरुलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा १३ असोजमा मुख्यमन्त्री कार्यालयमा छापामारी आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।
जसपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरु प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपा घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।’
जसपा सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्धमा रहेको भन्दै राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4