+
+

पुराना मोडलका दशौँ लाख फोनमा युट्युब, जिमेल र गुगल म्याप नचल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:०३

१७ असोज, काठमाडौं । पुराना मोडलका दशौँ लाख फोनमा अबदेखि गुगलका विभिन्न सेवाहरु नचल्ने भएका छन् । गुगलले आइतबार सफ्टवेयर बृहत अपडेट जारी गरेसँगै लाखौँ फोनरुमा गुगल म्याप, युट्युब, जिमेल, गुगल प्ले स्टोर, गुगल क्यालेन्डर लगायतका गुगलका लोकप्रिय एपहरु ब्लक भएका छन् ।

आफ्नो फोनमा एन्ड्रोइडको नयाँ भर्सन अपडेट नगर्ने तथा छिटै नै नयाँ संस्करणका फोन खरीद नगरेसम्म एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले गुगलका लोकप्रिय एपहरु प्रयोग गर्न पाउने छैनन् ।

आफ्नो वेबसाइटमा जानकारी दिँदै गुगलले एन्ड्रोइड २.३ अपरेटिंग सिस्टम भएका डिभाइसमा गुगल अकाउन्ट साइनइन गर्नबाट बन्देज लगाइएको जनाएको छ ।
गुगलको उक्त अपरेटिंग सिस्टम सन् २०१० मा लञ्च भएको थियो ।

प्रयोगकर्ताहरुलाई सुरक्षित राख्ने आफ्नो निरन्तरको प्रयासका रुपमा पूरानो अपरेटिंग सिस्टमको सपोर्ट बन्द गरेको गुगललको भनाई छ ।गुगलले निरन्तर रुपमा पूराना भर्सनका एन्ड्रोइड सफ्टवेयरमा आफ्नो सपोर्ट बन्द गरेर नयाँ संस्करणहरु सार्वजनिक गर्ने गरेको छ।

पूरानो संस्करणका अपरेटिङ सिस्टमहरु भाइरसका आक्रमण तथा ह्याकरहरुबाट समेत बढि जोखिममा हुन्छन् ।गुगलको पछिल्लो एन्ड्रोइड संस्करण ११ हो । त्यसैले वर्तमानको सबैभन्दा नयाँ संस्करण भन्दा एन्ड्रोइड २.३ कैयन् पछाडि रहेको छ ।

गुगलले सन् २०१७ मै एन्ड्रोइड २.३ मा गुगल पे भुक्तानी प्रणाली बन्द गरेको थियो ।गुगलले एन्ड्रोइडको २.३ भर्सनमा आफ्ना सेवा बन्द गरेसँगै यो अपरेटिङ सिस्टम रहेका स्मार्टफोनमा गुगल अकाउन्ट लगइन गर्न खोज्दा लगइन गर्न सकिनेछैन ।

लगइन गर्ने प्रयास गर्दा युजरनेम र पासवर्ड एरर देखाउँदछ । सेटिंग्स मेन्यूमा जिमेल अकाउन्ट तथा गुगल क्यालेन्डर थप गर्न खोज्दा पनि त्यस्तै एरर देखा पर्दछ ।

यी गुगल सर्भिस प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो एन्ड्रोइडको २.३ भर्सनलाई एन्ड्रोइड ३.० वा सो भन्दा माथिल्लो भर्सनमा अपग्रेड गर्नुपर्नेछ ।

कसरी गर्ने अपग्रेड ?

आफ्नो एन्ड्रोइड २.३ लाई अपग्रेड गर्नका लागि निम्न विधि अबलम्बन गर्नुहोस्ः

  • फोनको System मेन्यूमा ट्याप गरी Advanced अप्सनमा गएर System Update थिच्नुहोस् । यसो गर्दा तपाइँको स्मार्टफोन माथिल्लो भर्सनको एन्ड्रोइडमा अपग्रेड हुनेछ ।
  • यद्यपि एन्ड्रोइड २.३ भएका सबै पूराना डिभाइसहरु एन्ड्रोइड अपग्रेडका लागि योग्य हुँदैनन् । त्यस्ता पूराना डिभाइसमा एन्ड्रोइडको नयाँ भर्सन अपडेट गर्न नसकिने भएको हुँदा तिनीहरुमा गुगल एपहरु चल्नेछैनन् ।
  • अबदेखि गुगलका एप चलाउन नसकिने मोबाइल सेटहरुमा Sony Xperia Advance, Lenovo K800, Sony Xperia Go, Vodafone Smart II, Samsung Galaxy S2, Sony Xperia P, LG Spectrum, Sony Xperia S, LG Prada 3.0, HTC Velocity, HTC Evo 4G, Motorola Fire, and Motorola XT532 लगायतका रहेका छन् ।

यद्यपि यी डिभाइसहरुमा गुगल एपमा लगइन गर्न नसकिएपनि तपाइँले ब्राउजरबाट युट्युब लगायतका गुगलका विभिन्न सर्भिस प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?