+
+

डोटीका विद्यालयमा चाडपर्व बिदा : कतै साता, कतै महीना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते ९:५०

१९ असोज, डोटी । चाडपर्वको समय आएसँगै डोटीका विद्यालयहरुमा चाडपर्व बिदाका लागि स्थानीय तहहरुले फरक फरक निर्णय गरेका छन् ।

सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा कुनै स्थानीय तहले ६ दिनमात्र बिदा दिने निर्णय गरेका छन भने कसैले एक महीनासम्मै चाडपर्व बिदा राखेका छन् ।

डोटी जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाले दसैँको समयमा घटस्थापनाको दिन (असोज २१) देखि कात्तिक १ गतेसम्म बिदा दिने निर्णय गरेको छ । दिपायल सिलगढीले कात्तिक २ गतेदेखि बिद्यालय सुरु हुने दिपायल जनाएको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शंकर बोगटीले तिहारको समयमा नेपाल सरकारको दिएको सार्वजनिक बिदा अनुसार हुने वताए ।

शिखर नगरपालिकाले चाडपर्व बिदाको विषयमा अझै आधिकारिक निर्णय गरिसकेको छैन तर घटस्थापनादेखि कात्तिक दुई गतेसम्म बिदा दिने मनस्थितिमा छ ।

‘आधिकारिक निर्णय त भइसकेको छैन’ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले भने, ‘ तर घटस्थापनादेखि असोज २ गतेसम्म बिदा दिने गरि छलफल भइरहेको छ ।’ उनले तिहारको सन्दर्भमा नेपाल सरकारको दिएको सार्वजनिक बिदा अनुसार दिने छलफल भइरहेको बताए । कार्कीका अनुसार मंगलवार बस्ने नगर शिक्षा समितिको बैठकले आधिकारिक निर्णय गर्नेछ ।

डोटीमा सबैभन्दा कम बिदा दिने निर्णय बोगटान फुड्सिल गाउँपालिका र सायल गाउँपालिकाले गरेका छन् । दुई गाउँपालिकाहरुको निर्णय अनुसार फूलपातीको दिन (असोज २६) देखि असोज ३१ गतेसम्म ६ दिन बिदा दिने निर्णय गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बिद्यालयको पठन पाठन प्रभावित हुँदै आएको र चाडपर्वमा लामो बिदा दिए पढाईमा थप बाधा पर्ने भएकोले बिदा घटाउने निर्णय भएको बोगटान फुड्सिल गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक खेम बहादुर साउँदले बताए ।

लामो समयसम्म अवरोध भएको विद्यालयको अध्ययन/अध्यापनलाई नियमित गर्नका लागि बिदा घटाउनु परेको सायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटाले बताए । तिहारको सम्बन्धमा दुवै गाउँपालिकाले नेपाल सरकारको तोके अनुसारको बिदा हुने जनाएका छन् ।

दसैँ तिहारमा डोटी जिल्लामा सबैभन्दा बढी बिदा निर्णय केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाले गरेको छ । दुवै गाउँपालिकाले सूचना जारी गर्दै फूलपातीको दिनदेखि कात्तिक २१ गतेसम्म बिदा निर्णय गरेको जोरायल गाउँपालिकाका युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खत्रीले बताए । दुवै गाउँपालिकाको निर्णय अनुसार २७ दिनसम्म बिदा भएको छ ।

त्यस्तै बडीकेदार गाउँपालिका र पूर्वचौकी गाउँपालिकाले पनि घटस्थापनाको दिनदेखि कात्तिक तीन गतेसम्म दसैँ बिदा दिने निणर्य गरेको छ । पूर्वीचौकी गाउँपालिकाकाले सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विनोद भट्टले बताए ।

दुवै गाउँपालिकामा तिहारको सम्बन्धमा नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार बिदा दिने निर्णय गरेको बडीकेदार गाउँपालिका युवा तथा खेलकुद शाखा प्रमुख विवेक देउवाले बताए ।

डोटीको आदर्श गाउँपालिकाले पनि दसैँको अवसरमा घटस्थापनाको दिनदेखि असोज ३१ गतेसम्म बिदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनु क्षेत्रीले बताइन । तिहारको सन्दर्भमा भने अन्य सरकारी बिदा सरह हुनेछ ।

नेपाल सरकारले दसैँको समयमा फूलपातीको दिनदेखि असोज ३० गतेसम्म र तिहारको समयमा लक्ष्मी पूजाको दिन कात्तिक १८ गतेदेखि २१ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ भने बिद्यालयको हकमा अन्य थप निर्णय गरको देखिदैन ।

विगतमा अधिकांश विद्यालयहरु घटस्थापनादेखि छठ पर्वसम्म बन्द हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?