+
+

साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दै

नेपाल विजयी भए पहिलो पटक फाइनल पुग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते ९:५५

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ भारतले सुरुवाती दुई खेल जित्न सकेन । लगातार दुई बराबरीबाट भारतको २ अंक छ ।

यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यस्तोमा नेपाल साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनल पुग्नेछ । बराबरी वा पराजित भएमा भने नेपालले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । उता भारतलाई जित निश्चित रुपमा आवश्यक छ ।

फाइनल पुग्ने सम्भावना कायम राख्न पनि भारत जित चाहन्छ । हारले भने सर्वाधिक ७ पटकको च्याम्पियन भारतलाई फाइनल पुग्न कठिन हुनेछ ।

आजै घरेलु टिम माल्दिभ्स र श्रीलंकाबीच पनि खेल हुनेछ । ४:४५ मा हुने उक्त खेल माल्दिभ्सले जितेमा र भारत नेपालसँग पराजित भएमा भने भारत फाइनल होडबाट बाहिरिनेछ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । भारतले भने पहिलो खेलमा बंगलादेशसंग १-१ र त्यसपछि श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल २ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहँदा उति नै खेलबाट २ अंक रहेको भारत चौथो स्थानमा छ ।

नेपालले ८ वर्षयता भारतलाई पराजित गर्न सकेको छैन र संयोग के छ भने साफमा पनि नेपालले भारतलाई त्यही एक पटक मात्र हराएको छ । सन् २०१३ मा नेपालमै भएको साफमा समूह चरणमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । अहिलेसम्म साफमा भारतसँगको ६ भेटमा नेपाल ५ पटक पराजित भएको छ ।

त्यसैले पनि नेपाल भारत विरुद्ध ८ वर्षपछि पहिलो जितको खोजीमा छ । साफमा पनि दोस्रो पटक भारतलाई हराउने नेपालको लक्ष्य छ ।

इतिहास हेर्ने हो भने पनि भारत धेरै माथि छ । अहिलेसम्मको २१ खेलमध्ये नेपालले जम्मा २ खेल मात्र जितेको छ । भारतले १४ खेल जित्दा ५ खेल बराबरीमा सकिएको थियो ।

एक महिनाअघि नेपालले भारतसंग दशरथ रंगशालमा दुई मैत्रीपूर्ण खेल खेल्दा एक खेल १-१ को बराबरीमा सकिएको थियो भने अर्को खेलमा नेपाल २-१ ले पराजित भएको थियो ।

दक्षिण एसियामा भारत बलियो राष्ट्रको रुपमा रहेपनि यस पटक साफमा भने त्यो छनक देखिएको छैन ।

शनिवार भएको प्रि म्याच कन्फ्रेन्समा भने नेपालका प्रशिक्षकअबदुल्लाह अलमुताइरीले भारत बलियो टिम भएको खेल कठिन हुने बताए । उनले भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको समेत बताउँदै नेपालले जित्ने सम्भावना १ प्रतिशत रहेको बताए ।

भारत ७ पटकको विजेता भएको भारत नै बलियो रहेको तर नेपालले नडराई खेल्ने उनले बताएका थिए । यस्तै अलमुताईरीले नेपाल अहिले नै फाईनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका थिए ।

नेपालका कप्तान किरण कुमार चेम्जोङ भारत विरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए ।

भारतका प्रशिक्षक ईगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकाले मानसिकतामा परिवर्तन नभएको बताए । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?