+
+

दशैंमा संक्रमणको जोखिममा पर्न सक्छ गाउँ

प्रेम लामा प्रेम लामा
२०७८ असोज २५ गते १८:३०

२५ असोज, काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष दशैंमा सहरबाट थातथलो फर्कनेको संख्या बढी देखिएको छ । कोरोना भारइरस (कोभिड–१९)को संक्रमण घट्दै जानु र कोरोना खोप लगाउनेहरुको संख्या धेरै हुनुले पनि मानिसहरु कोरोना भाइरसको डर नमानी गाउँ फर्किरहेका छन् ।

वर्ष दिनमा एक पटक आउने चाड दशैंमा घर फर्कने हाम्रो परम्परा नै हो । त्यसैले शिक्षा, रोजगारी एवं व्यवसयिक रुपले थातथलो छाडेर देश तथा विदेशमा पुगेका नेपालीहरु दशैंको बेला पारेर घर फर्किन्छन् । सार्वजनिक यातायातमा भीडभाडको प्रवाह नै नगरी गाउँ फर्कँदा यात्राकै क्रममा कोरोना संक्रमण हुने जोखिम उच्च रहेको चिकित्सकहरु बताउँछन् ।

कसरी हुन्छ जोखिम ? 

सार्वजनिक यातायातमा यात्रा गर्दा आमने–सामने भएर बस्नुपर्ने बाध्यताका कारण कोरोना संक्रमणको जोखिम हुने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

डा. पुन भन्छन्, ‘गाडीभित्र भौतिक दूरी कायम गर्न सम्भव पनि हुँदैन । यात्रुहरुबीच एकअर्कासँग भलाकुसारी गर्ने, हाँसोठट्टा गर्ने गर्छन् । यसबेला उनीहरुले न शारीरिक दूरीको ख्याल राख्छन्, न मास्कको नै प्रयोग गर्छन् । यसले पनि संक्रमण फैलने जोखिम बढाउँछ ।’

उनले अघि भने, ‘प्रायः चालक एवं सहचालक धेरै व्यक्तिसँग सम्पर्कमा हुने भएकाले उनीहरु पनि कोरोना भाइरसको जोखिममा हुन्छन् । सार्वजनिक यातायातले ठाउँ–ठाउँमा क्षमताभन्दा बढी यात्रु चढाउने–ओराल्ने गर्दा संक्रमण फैलने जोखिम बढ्छ ।’

जोखिमबाट बच्ने गरी यात्रा कसरी गर्ने ?

सार्वजनिक यातायातको साधन प्रयोग गर्दा यात्रु स्वयंमले उच्च सर्तकता अपनाउनु पर्ने डा. पुनको सुझाव छ । यात्रा गर्दा सुरक्षित ढंगले गुणस्तरीय मास्कको प्रयोग गर्ने गर्नुपर्दछ । गाडीभित्र रहेका चालक–सहचालकसहित सबै यात्रुलाई मास्क लगाउन उत्प्रेरित गर्नुपर्ने डा. पुनको भनाइ छ ।

यात्राको क्रममा अन्य यात्रुसँग हेलमेल नगर्ने, कुराकानी नगर्ने, चालक तथा सहचालकको सम्पर्कमा नरहने, कसैसँग बोल्नै परेमा मास्क अनिवार्य लगाउने, सम्भव भएसम्म आफैंले बनाएर लगेको खानेकुरा खाने, होटल वा बाहिर नखाने, गाडीबाट ओर्लिएपछि साबुन पानीले राम्रोसँग हात धुन डा. पुनको सुझाव छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकोले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालनामा हेलचेक्र्याइँ नगर्न सुझाव दिन्छन् ।

यात्रा गर्दा सही तरिकाले मास्क लगाउन, गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा सेनिटाइजरले हात सफा गर्ने, सकेसम्म खुद्रा पैसा वा अनलाइन भुक्तानी गर्ने, आवश्यक खानेकुरा आफैं बोक्ने, होटलमा खानै परे जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर खाने, अनावश्यक रुपमा सवारी साधनका झ्याल, ढोका, डण्डी तथा सिट नछुन डा. पौडेलको अनुरोध छ ।

गाउँमा संक्रमण फैलने जोखिम किन ?

देशका विभिन्न भागमा अहिले पनि कोभिड–१९ विरुद्धको खोप अभियान जारी छ । अहिलेसम्म सरकारको लक्ष्य अनुसार करिब एक तिहाइ नागरिकले खोप लगाएका छन् ।

तर खोप नलगाउनेको संख्या ठूलो छ । अझ देशका सबै ठाउँमा खोप कार्यक्रम समानुपातिक ढंगले सञ्चालन हुन सकेको छैन । काठमाडौं सहरको तुलनामा दूरदराजका गाउँमा खोप लगाउने मानिसको संख्या कम हुनसक्छ ।

शिक्षा, रोजगारी एवं व्यवसायका कारण अस्थायी रुपमा काठमाडौं लगायतका सहरमा बसेका मानिस गाउँ फर्कँदा कोरोना संक्रमण पनि साथमै लिएर जान सक्ने सम्भावना प्रवल हुने डा. पुन बताउँछन् । सहरमा बस्दा खोप पाइसकेका उनीहरुले जनस्वास्थ्यको मापदण्ड पालनामा हेलचेक्र्याइँ पनि गर्न सक्छन् । त्यस्ता व्यक्तिहरुबाट खोप नपाएका र अहिलेसम्म संक्रमण पनि नभएका व्यक्ति बढी जोखिममा पर्न सक्छन् ।

डा. पुनका अनुसार खोप पाएका व्यक्ति पनि संक्रमित हुन सक्छन् । संक्रमण भइहालेमा उनीहरुमा लक्षण नदेखिन पनि सक्छ वा गम्भीर नहुन पनि सक्छ । यस्ता व्यक्तिहरु निस्फिक्री रुपमा एकअर्कासँग घुलमिल गर्दा संक्रमण फैलने सम्भावना बढी हुन्छ ।

नेपालमा हाल सक्रिय रहेको कोरोना भाइरसको डेल्टा भेरियन्टबाट हुने भारसको लोड खोप पाएका र नपाएका दुवै व्यक्तिमा लगभग उस्तै रहेको अध्ययनले देखाएको छ । तसर्थ पूर्ण खोप लगाएपनि कोरोना संक्रमण अन्य व्यक्तिलाई सार्न सक्ने सम्भावना बढी हुने डा. पुन बताउँछन् ।

भारतबाट आउनेबाट पनि जोखिम

छिमेकी मुलुक भारतमा खोप अभियान चलिरहेको छ । उसले आफ्ना नागरिकलाई खोप दिइरहेको छ । तर शिक्षा एवं रोजगारीका लागि भारत पुगेका नेपालीहरुले खोप पाए/नपाएको कुनै तथ्यांक छैन । दशैं लगायतका चाडपर्व मनाउन नेपाल फर्कने नेपाली नागरिकको भीड नेपाल–भारत सीमा नाकामा देख्न सकिन्छ ।

भारतबाट फर्कने क्रममा संक्रमणको जोखिम क्षेत्र छिचोल्दै रेलमार्ग वा सार्वजनिक यातायातमा यात्रा गर्दा उनीहरु यात्राकै क्रममा संक्रमित भएको हुन पनि सक्ने डा. पुन बताउँछन् ।

यस्ता व्यक्तिहरुको सीमा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था नभए सोझै घरपरिवार र छरछिमेकको सम्पर्कमा आउँदा संक्रमण फैलने बढी जोखिम हुने डा. पुनले बताए । नाकामा यस्तो व्यवस्था नभएपनि रोजगारीबाट फर्केका व्यक्तिहरु आफैंले पनि स्थानीय तहको समन्वयमा एन्टिजेन परीक्षण गर्न डा. पुनको सुझाव छ ।

बढी घुलमिलले निम्त्याउन सक्छ जोखिम

शिक्षा, रोजगारी एवं व्यवसायिक रुपले वर्षौैदेखि देश तथा विदेशमा रहेका नेपालीहरु आ–आफ्नो मूल घर फर्कने पुरानै परम्परा हो ।

दशैंमा परिवारका सदस्यसँग मात्रै होइन, साथीभाइ, इष्टमित्र लगायत समाजका अग्रज व्यक्तिहरुसँग समेत भेटघाट र शुभकामना आदन प्रदान गर्ने प्रचलन छ ।

आ–आफ्ना काम विशेषले लामो समयदेखि प्रत्यक्ष रुपमा भेटघाट हुन नपाउँदा यो समयमा आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप एकअर्कामा साटासाट नगरी बस्नै सकिँदैन । यस्तो जमघटले ठूलै घुलमिल गराउँछ । जमघटको समयमा जनस्वास्थ्यका मापदण्ड पालनामा पनि खासै ख्याल नगरिने हुनाले संक्रमण फैलने जोखिम उच्च हुने डा. पुन बताउँछन् ।

डा. पुन अगाडि भन्छन्, ‘दशैंमा विभिन्न शक्तिपिठहरुको दर्शनका लागि मानिसको ठूलै भीड लाग्ने गर्छ । लामो समयपछि गाउँ फर्किएकाहरु गाउँठाउँमा हुने शक्तिपिठको दर्शन गर्न उत्तिकै ललायित पनि हुन्छन् । जसले गर्दा शक्तिपिठहरुबाट पनि संक्रमण फैलन जोखिम हुन्छ ।’

पछिल्लो समय दशैंलाई जेनेरेशन ग्यापलाई कम गर्ने पर्वको रुपमा पनि हेर्न थालिएको छ । शिक्षा, रोजगारी तथा व्यवसायिक कारणले हजुरबुबा–हजुरआमासँग भेट नभएको लामो समय हुन्छ । जसले गर्दा नाति–नातिना तथा हजुरबुबा–हजुरआमा आत्मीयता रुपमा एकदमै नजिक भएर खुसी साटासाट गर्ने गरेको पाउँछौं । परिवारका अन्य सदस्य पनि यो खुसीमा अलग रहने कुरा आउँदैन । यसले जेष्ठ नागरिक वा बालबालिका संक्रमणको जोखिममा पर्न सक्ने डा. पुनले बताए ।

कसरी बच्ने ?

विभिन्न कारणले देश–विदेशमा पुग्ने नागरिकलाई फेरि आफ्नो पुख्र्यौली घर फर्कन प्रेरित गर्ने पर्व हो दशैं । सबैखालको पीडा भुलेरै भएपनि मानिस पुख्र्यौली घर फर्कन्छन् । यस्तोबेला पाइला–पाइलामा कोरोना संक्रमणको जोखिम छ भन्ने कुरालाई भुल्न नहुने डा. पुन बताउँछन् ।

टिका तथा खानपिनको कार्यक्रममा परिवारका कोर सदस्य मात्रै सहभागी भएर दशैं मनाउन डा. पुन सुझाव दिन्छन् । घरको खुल्ला ठाउँ जस्तै आँगन वा घरको छतमा दशैंको टिका तथा खानपिनको कार्यक्रम आयोजना गर्नुपर्ने उनको भनाइ छ । टिका लगाउने र ग्रहण गर्ने दुवै व्यक्तिले सही तरिकाले मास्कको प्रयोग अनिवार्य गर्नु पर्ने उनको सुझाव छ ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?